अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको तातोपानी नाका जोड्ने भोटेकोशी नदीको लार्चा पुल पहिरोले बगाएपछि आवतजावत गर्न अस्थायी रुपमा फलामे सत्तरी राखेर फट्के (साँघु) राखिने भएको छ ।
आइतबार बेलुका अविरल वर्षासँगै खसेको पहिरोले ७० मिटर लामो पक्की पुल भाँच्चिएर बगाएपछि अस्थायी रुपमा फलामे सत्तरी राखेर फट्के बनाउन लागिएको कामु प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवालले जानकारी दिए । सडक विभागद्वारा बेलिब्रिज बनाउने कार्यक्रम रहेपनि बेलिब्रिज तयार हुन कम्तीमा दुई महीना लाग्ने भएकाले अस्थायी रुपमा फट्के राख्न लागिएको हो । फट्के बनाउने काम मङ्गलबारदेखि शुरु गरिएको छ । फट्के बुधबार नै बनाएर सक्ने लक्ष्य राखिए पनि लगातारको वर्षाका कारण दुई दिन ढिला सम्पन्न हुने उनको भनाइ छ ।
पुलको लम्बाइ ७० मिटर भए पनि जीपसमेत गरी ९० मिटर लामो रहेको छ । हालकै उचाइमा सत्तरी राखे बाढी आएको समयमा पुनःबगाउन सक्ने सम्भावना रहेकाले फलामे सत्तरी राख्न मेसिनद्वारा सामान पारी तार्नु पर्ने र उचाइ समेत बढाइने भएको छ । भोटेकोशी गाउँपालिकामा पर्ने सो पुल बगाएपछि तातोपानीबासीको लागि आवागमनसमेत बन्द भएको तातोपानीका पूर्वप्रधानपञ्च बहादुर शेर्पाले बताए ।
यसअघि २०३८ सालमा तिब्बतबाट आएको बाढीले बगाएर ल्याएको ठूल्ठूला रुख तथा ढुङ्गा अडकिएर उक्त पुल र तातोपानीको मितेरी बगाएको थियो । चीन सरकारको सहयोगमा करीब दुई वर्षपछि दुवै पुल निकै अग्लो गरी पुनर्निमार्ण गरिएको थियो ।
विसं २०७२ को भूकम्प र २०७३ असारको बाढीले समेत सो पुललाई असर पु¥याएको थियो । भूगर्भविद्का अनुुसार सिन्धुपाल्चोकको बलेफीदेखि चीनको सीमा सम्मलाई पहिरोको अतिसंवेदनशील क्षेत्र मानिएको छ । विसं २०५३ मा पनि लार्चा नजिक रहेको भैरवकुण्ड खोलामा आएको बाढीले पक्की पुल, सीमा प्रहरी चौकी र स्थानीयको घर बगाउनुका साथै ६२ जनाको निधन भएको थियो । रासस