नारायणगढ–मुग्लिन सडकमा बायोईञ्जिनियरिङको काम तीव्र गतिमा हुँदै


नारायणगढ–मुग्लिन सडकखण्डमा बायोईञ्जिनियरिङको काम तीव्र गतिमा भइरहेको छ ।

बायोईञ्जिनियरिङ गरेर बग्न लागेको माटो तथा चट्टान रोक्ने कार्य भइरहेको छ । पहिरो जाने क्षेत्रमा भित्तामा पर्खाल लगाउने र बाँस, निगालो, अम्रिसो लगायतका वनस्पति तथा घाँस लगाउने काम भइरहेको नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ ।

आयोजनाका वातावरणविद् जनकराज पाठकले सडकको स्तरोन्नतिको काम सम्पन्न भएका ठाउँमा ९० प्रतिशत बायोईञ्जिनियरिङको कार्य सम्पन्न भएको बताए । उक्त सडकखण्डको ५२ प्रतिशत मात्रै काम सम्पन्न भएको छ ।

बायोईञ्जिनियरिङअन्तर्गत जुटका ठूलाठूला जालीलाई माटो बग्ने ठाउँमा किला ठोकेर माटो बग्न दिइँदैन । उक्त जालीको बीचबीचका प्वालमा घाँसका बिरुवा तथा बीउ रोप्ने काम भइरहेको पाठकले बताए ।

उनका अनुसार उक्त जालीमा लगाइका बिरुवा बढ्दै जाने र विस्तार जाली कुहिएर मलका रुपमा परिणत हुने गर्दछ । रासस

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.