राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) भक्तपुर शाखाले मोफसलका सञ्चारकर्मीका लागि पाँचदिने व्यावसायिक फोटो पत्रकारिता तालीम संचालन गरेको छ ।
मङ्गलबार मोफसलका सञ्चारकर्मीलाई गुणस्तरीय फोटो खिच्न सक्ने बनाउने उद्देश्यले आयोजना गरिएको सो तालीम एनएफपिजेका केन्द्रीय अध्यक्ष ध्रुव आलेले शुरु गरेका हुन् ।
उनले राजधानीमा मात्रै नभई जिल्लामा पनि फोटो पत्रकारको महत्व रहने भएकाले जिल्लाका पत्रकारलाई यस प्रकारको तालीमले अब्बल बनाउन मद्दत पुग्ने बताए ।
अध्यक्ष आलेले भने – ‘राजधानीका फोटो पत्रकारको अहंमलाई जिल्लाका पत्रकारले तोड्नु पर्छ, जिल्लाका पत्रकारले पनि राजधानीका फोटो पत्रकारभन्दा राम्रा तस्बिर खिच्न सक्छन् भन्ने देखाउनु पर्छ ।’
फोटो पत्रकारले कहिल्यै पनि बेरोजगार बस्नु नपर्ने र फोटो पत्रकारिताको प्रशिक्षकसमेत अभाव रहेको अवस्थामा यस्ता तालीम प्रभावकारी हुने उनले विश्वास व्यक्त गरे ।
नेपाल पत्रकार महासंघ भक्तपुर शाखा अध्यक्ष पुष्करराज बुढाथोकीले फेसबुके फोटो पत्रकारितालाई चिर्दै सभ्य दृष्टिकोणले फोटो पत्रकारितालाई अगाडि बढाउनुपर्नेमा जोड दिए ।
प्रशिक्षक मधुसुदन थापाले भविष्य उज्ज्वल पार्न पूर्ण रुपमा फोटो पत्रकार हुनु पर्नेमा जोड दिए । एफएनपिजे भक्तपुर शाखा अध्यक्ष रत्नकृष्ण श्रेष्ठको सभापतित्वमा सम्पन्न सो तालीममा २० प्रशिक्षार्थीको सहभागिता छ ।