क्यान्सरपीडितलाई सहयोग गर्न वीर अस्पतालमा ३५ लाखको कोष स्थापना


शैलकुमार उपाध्याय एण्ड करेन बास ट्रष्टले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्यान्स) वीर अस्पतालमा ३५ लाख रुपैयाँको अक्षय कोष स्थापना गरेको छ । अर्बुद रोग लागेर उपचार गर्न समस्यामा परेका विपन्न तथा गरीब परिवारका बिरामीलाई केमोथेरापी प्रदान गर्न कोषमा जम्मा भएको वार्षिक ब्याजबाट सहयोग गरिने बताइएको छ।
विदूषी राणाले ट्रष्टमार्फत आफ्ना ठूलोबुबा शैलकुमार उपाध्याय र उनकी प्रेमिका करेन बासको सम्झनामा तीन महिनाअघि ट्रष्ट स्थापना गरेका थिए ।

पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले सोमबार न्यान्सका उपकुलपति डा गणेश गुरुङलाई उक्त सहयोग रकम हस्तान्तरण गरे । पूर्वस्वास्थ्यमन्त्री थापाले उपाध्यायले अमेरिकामा बसेर ‘एलाइन्स फर डेमोक्रेसी’ अभियानमार्फत नेपालको प्रजातान्त्रिक आन्दोलनलाई सहयोग पु¥याउन महत्वपूर्ण भूमिका खेलेको सम्झना गरे ।  आफू मन्त्री हुँदा क्यान्सरका लागि सहयोग रकम बढाउन खोजेको भए पनि चिकित्सकको सल्लाहमा क्यान्सर प्रोटोकल बनाइएको पूर्वमन्त्री थापाको भनाइ छ ।

न्याम्सका उपकुलपति डा गणेश गुरुङले वीर अस्पतालमा आउने बिरामीमध्ये ७० प्रतिशतको उपचार निःशुल्क हुने र बाँकी बिरामीले कम शुल्कमा उपचार सेवा प्राप्त गर्ने गरेको उल्लेख गरे । अर्बुदको उपचारलाई अझ स्तरीय बनाउन विश्वकै उत्कृष्ट टोमो थेरापी मेसिन ल्याउन प्रक्रिया शुरू भइसकेकाले आगामी चार महीनाभित्र मेसिन अस्पतालमा आइसक्ने उपकुलपति गुरुङले जानकारी दिए ।

अर्बुदले स्वयं बिरामीलाई मात्र नभई सिङ्गो परिवारलाई पनि विक्षिप्त बनाउने भएकाले महँगो उपचारका कारण उपचार नपाई कसैले ज्यान गुमाउन नपरोस् भनी कोष स्थापना गरेको ट्रष्टी राणाले बताईन् । उनले भनिन्, ‘ठूलोबुबा उहाँकी प्रेमिका स्व बासको छातीको क्यान्सरबाट मृत्यु भएपछि गहिरो शोकमा पर्नुभयो, त्यही पीडाले बासको मृत्यु भएको नौ महीनामै उहाँको पनि मृत्यु भयो, यो सहयोगले एक जनाको मात्र जीवनरक्षा भएमा उहाँ खुशी हुुनुहुनेछ भन्ने लागेको छ ।’

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.