सुत्केरी ब्यथाले महिलाको अकालमा मृत्यु नहोस् : प्रम देउवा


प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानले नै गुणस्तरीय स्वास्थ्य सेवालाई मौलिक हकका रुपमा स्थापित गरेको उल्लेख गर्दै यसले स्वास्थ्यमा आमनागरिकको पहुँचमा उल्लेख्य सुधार आउने बताएका छन्।

सोमबार राजधानीमा ह्वाइट रिबन अभियानको अन्तर्राष्ट्रिय बैठकको उद्घाटन गर्दै उनले स्वास्थ्यसम्बन्धी दिगो विकास लक्ष्य हासिल गर्न नेपाल सरकारका कार्यक्रम केन्द्रीत रहेको चर्चा गर्दै लक्ष्यमध्ये पनि सुरक्षित मातृत्व सम्बन्धी लक्ष्य हासिल गर्न स्वास्थ्य मन्त्रालयले ध्यान दिएको बताए।

‘अझै ग्रामीण क्षेत्रका विपन्न महिलाको सुरक्षित मातृत्वसम्बन्धी स्वास्थ्यमा पहुँच कम छ, यस चुनौतीलाई सामूहिकरुपमा तत्काल सम्बोधन हुनुपर्छ, प्रसूतिसम्बन्धी ब्यथा लागेकै कारण समयमा उपचार नपाएर एकजना पनि महिलाको मृत्यु हुनुहुँदैन, जन्मेका शिशुको पनि उपचार हुन नपाएर अकालमा मृत्यु हुनुहुँदैन,’ प्रधानमन्त्री देउवाले भने।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनले महिला सशक्तीकरणमा कोशेढुंगाको काम गर्ने चर्चा गर्दै प्रधानमन्त्री देउवाले यसले तल्लो तहमा महिलाको आर्थिक, सामाजिक, राजनीतिक तथा सुरक्षित मातृत्वमा समेत परिवर्तन आउने विश्वास व्यक्त गरे।

बैठकमा नेपालसहित दक्षिण एशियासहित १६ देशका प्रतिनिधि सहभागी रहेका छन्। बैठकमा सुरक्षित मातृत्वका लागि स्थापित अन्तर्रा्ष्ट्रिय संस्था ग्लोबल ह्वाइट रिबन एलाइन्स फर सेभ मदरहुडका आबद्ध देशका प्रतिनिधिले आ–आफ्ना देशमा सुरक्षित मातृत्वसम्बन्धी सञ्चालित कार्यक्रमका समीक्षा गर्नेछन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.