बौद्ध स्तुप किन बन्छ पोखरी?

बौद्ध स्तुप किन बन्छ पोखरी?

तस्बिरः हिमालयन क्याफे


विश्वसम्पदा सूचीमा सूचीकृत बौद्धनाथ स्तुप आसपासमा अचेल हिँड्नै मुस्किल हुन्छ। सानो पानी पर्दा घुँडासम्मै पुग्ने गरी पानी जम्छ, कहिले त पानी स्तुपभित्रै छिर्छ।

त्यसले स्तुपका दर्शनार्थीलाई मात्र होइन पैदलयात्री र स्थानीयलाई समेत समस्या बनाएको छ।

समस्या यो वर्षमात्र देखिएको होइन, विगत केही वर्षदेखि बौद्धनाथ क्षेत्रको पानीले सहज निकास नपाउँदा स्तुप परिसरमा पोखरी बन्ने गरेको छ।

बर्खाको पानीलाई व्यवस्थित गर्न ठूलो प्रयास गरेपनि स्थानीयका असहयोगका कारण सफल हुन नसकेको बताउँछिन्, बौद्धनाथ क्षेत्र विकास समितिकी पूर्वकार्यकारी निर्देशक फुपूयाङजी लामा।

उनका अनुसार बर्खामा तीनचुलीदेखिको बौद्धनाथमा पानी आउँछ। त्यही पानीले सहज निकास नपाउँदा स्तुपभित्र भरिने गरेको हो।

‘पहिला यहाँ बस्ती एकदमै पातलो थियो। पानीले सहज निकास पाउँथ्यो’, लामाले सेतोपाटीसँग भनिन्, ‘पछिल्लो समय बाक्लो बस्ती बसेपछि घरले पानीको बाटो छेकेपछि पानी स्तुप आउन थाल्यो।’

धेरै घर बनेपछि एकातिर पानीको बाटो छेकिएको छ भने अर्कातिर ढल निकासबाट पानी सहजै जान नसक्ने भयो। सानो बस्ती लागि बनाइएको ढल विकास समितिले नयाँ बनाउन खोज्दा स्थानीयले अवरोध गरेको लामा बताउँछिन्।

‘हामीले बजेट पनि छुट्याएर दुई ठाउँमा नयाँ ढल बनाउन लागेका थियौं, तर फूलबारीभन्दा माथि र महाकांल रामनगरतिरका स्थानीयले अवरोध गर्नुभयो,’ लामाले भनिन्, ‘जति प्रयास गर्दा पनि हामीले ढल बनाउन सकेनौं, गएको असार २४ मा त हाम्रो कार्यकाल नै सकियो।’

लामा नेतृत्वको समितिको कार्यकाल सकिएपछि बौद्धनाथ क्षेत्र विकास समितिले नयाँ नेतृत्वको पाएको छैन। चार वर्षे कार्यकाल हुने समितिको नयाँ सदस्यहरू पर्यटन मन्त्रालयले मन्त्रीस्तरको निर्णयबाट गर्छ। अहिले पर्यटन मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री आफैंले सम्हालेकाले निर्णय हुन छैन।


Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.