पनौतीमा वनवाटिका उद्यान स्थापना


काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–८ स्थित कपालकोटमा सेतीदेवी वनवाटिका उद्यान स्थापना भएको छ ।

सांसद रामहरि सुवेदीको संसदीय विकास कोषबाट  पाँच लाख रुपैयाँ, जिल्ला वन कार्यालयबाट  आठ लाख रुपैयाँ र पनौती नगरपालिकाबाट  दुई लाख रुपैयँ  गरी कुल  १५ लाख रुपैयाँको लगानीमा वनवाटिका उद्यान स्थापना भएको सहायक वन अधिकृत शिवराम थापाले जानकारी दिए ।

वनवाटिकामा अझै बाँकी रहेका काम पूरा गर्न पनौती नगरपालिकाले थप  १० लाख रुपैयाँ रकम विनियोजन गरेको पनौती नगरपालिकाका प्रमुख भीम न्यौपानेले बताए ।

वनवाटिका उद्यानको शनिबार उद्घाटन गर्दै सांसद सुवेदीले मानव जीवनलाई समृद्ध बनाउन प्रकृति र वन जंगल जोगाउन आवश्यक रहेको धारणा व्यक्त गर्दै प्राकृतिक विविधता र जैविक विविधताको अस्तित्व संरक्षण सबैको साझा विषय भएको बताए।

वन तथा भू–संरक्षण मन्त्रालयका सचिव प्रकाश माथेमाले वनवाटिकाले मानव जातिलाई प्रकृतिसँग जोड्न सहयोग पुर्याउने उल्लेख गर्दै व्यवस्थापनको कार्ययोजना बनाएर लगानीको संरक्षण गर्नुपर्ने बताए ।

जिल्ला वन कार्यालयका वन अधिकृत प्रेम खनालले वन दशक कार्यक्रमअन्तर्गत जिल्लामा तीनवटा वनवाटिका स्थापना भएको जानकारी दिँदै चालू आवमा पनि थप दुईवटा वनवाटिकाको कार्यक्रम आएको छ भने ।

सो वनवाटिकामा सुन्तला, भोगटे, जुनार, मुन्तला, पारिजात, धुपी, लालुपाते, गुलाबलगायत ४९ प्रजातिका ४३० बिरुवा रोपिएको छ । तीस रोपनी क्षेत्रफलमा वनवाटिका स्थापना भएको छ । पनौतीबाहेक धुलिखेल नगरपालिका र नमोबुद्ध नगरपालिकामा पनि रु आठ–आठ लाखको लगानीमा वनवाटिका उद्यान स्थापना हुन लागेको छ । रासस

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.