अन्‍नपूर्णको सम्पादकमा युवा पत्रकार राजाराम गौतम


राजाराम गौतम अन्‍नपूर्ण पोस्ट दैनिकको सम्पादकमा नियुक्त भएका छन्। प्रधान सम्पादक युवराज घिमिरेले राजीनामा दिएपछि अन्‍नपूर्णको सम्पादकीय नेतृत्व गौतमले गर्ने भएका हुन्।

घिमिरेले शुक्रबारदेखि लागू हुने गरी राजीनामा दिएका थिए। अन्नपूर्ण पोष्टको व्यवस्थापनले गौतमलाई आइतबार सम्पादकमा नियुक्त गरेको हो।

गौतमले आजैदेखि अन्‍नपूर्ण पोस्टको नेतृत्व समाल्नेछन् । गौतमलाई आजै अन्नपूर्णका पत्रकार कर्मचारीले स्वागत गरेका छन्।

दुई दसकदेखि पत्रकारिता गरेका गौतम अहिले अन्‍नपूर्ण मिडिया नेटवर्ककै प्रकाशन अन्‍नपूर्ण टुडे साप्ताहिकका सम्पादक छन्। अन्नपूर्ण रेडियोको स्टेशन म्यानेजरसमेत रहेका गौतम राजनीति,सुशासन र विकासका मुद्दामा खोजमूलक पत्रकारिता गर्न रूचाउँछन्।

अन्नपूर्णमा आउनुअघि कान्तिपुरको विचार सम्पादक गौतमले नेपाल म्यागजिनमा पनि वरिष्ठ संवाददाता तथा संयोजकका रुपमा काम गरेका थिए।

क्याप्टेन रामेश्वर थापाको व्यवस्थापकीय नेतृत्व रहेको अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गत अन्नपूर्ण पोस्टसँगै एपी वान टेलिभिजन, अन्नपूर्ण रेडियो, नेपाली न्यूज पोर्टल अन्नपूर्ण पोस्ट डटकम, अंग्रेजी न्यूजपोर्टल अन्नानोट डटकम, अन्नपूर्ण टुडे साप्ताहिकलगायतका प्रकाशनहरु संचालनमा छन् ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.