आगामी भदौदेखि भद्रपुर विमानस्थलमा पनि एक्स–रेबाट चेकजाँच हुने


भद्रपुर विमानस्थलमा अागामी भदौदेखि एक्स–रे मेसिनबाट चेकजाँच हुने भएको छ ।

नागरिक उड्डयन कार्यालय भद्रपुरका प्रमुख पूर्णप्रसाद चूडालले आगामी भदौदेखि एक्स–रे मेसिनबाट सामानको चेकजाँच हुने बताएका हुन् ।

मेसिन सञ्चालनमा आएपछि प्रतिबन्धित वस्तुको ओसारपसार नियन्त्रण गर्न सहज हुने उनले बताए । मेसिन नहुँदा चेकजाँच निकै झन्झटिलो हुने गरेको चूडालको भनाइ छ । मेसिन जडान भइसकेको छ ।

भद्रपुर विमानस्थललाई सुरक्षित एवम् व्यवस्थित पार्ने काम भइरहेको छ । भौतिक संरचना व्यवस्थित गर्ने लगायत विमानस्थलमा शौचालयको व्यवस्थापन, रङरोगन, टायल लगाउन थालिएको छ ।

विमानस्थलको सुरक्षाका लागि ६ वटा सिसी क्यामेरा जडान गरिएको छ । जापानी संस्था जाइकासँग स्तरोन्नती गर्न सम्झौता भइसकेको चुडालले बताए । भद्रपुरबाट दैनिक बुद्ध एयरलाइन्सले तीन, यतिले दुई, सौर्य र नेपाल एयरलाइन्सले एक/एक हवाई उडान भर्दै आएका छन् ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.