म्याग्दी र मुस्ताङलाई जोड्ने धौलागिरि आइसफल पदमार्गमा पूर्वाधार निर्माण


म्याग्दी, ५ साउन । म्याग्दी र मुस्ताङलाई जोड्ने वैकल्पिक मार्गका रुपमा पहिचान गरिएको धौलागिरि आइसफल पदमार्गमा पूर्वाधार निर्माण गरिएको छ ।

छ वर्ष अगाडि टान पोखराको नेतृत्वमा जिल्लाका सरोकारवालाहरुको पहलमा स्थलगत अवलोकनबाट पहिचान गरिएको यस पदमार्गमा पाँच वर्षदेखि नियमितरुपमा पूर्वाधार निर्माणको काम भइरहेको छ ।

मनोरम हिमशृङ्खलाको दृष्यावलोकन गर्न सकिने यो पदमार्गमा आव २०७३/७४ मा पर्यटन कार्यालय, पोखरामार्फत विनियोजन भएको रु १० लाख बजेटबाट पदमार्गअन्तर्गत चिमखोलाको ससलधारा क्षेत्रमा करिब एक किमी पदमार्ग निर्माण गरिएको हो ।

झण्डै दुई महिना धौलागिरि हिमालको फेदीतिर अस्थायीरुपमा बसोबास गरी २८ जनाले पदमार्ग निर्माण गरिएको धौलागिरि आइसफल पदमार्ग निर्माण समितिका अध्यक्ष धु्रवकुमार पाइजाले जानकारी दिनुभयो ।
अक्करे भिरमा डोरीको सहायताले भिर फोरेर पदमार्ग निर्माण गरिएको छ । पाँच वर्षको अवधिमा भगवतीको रुइसेदेखि पछेत्राधुरी, सोबाङधुरी, लोसधुरी, दहबुकी, फेदी, सुगुरथला हुँदै ससलधारा क्षेत्रसम्म पदमार्गको बाटो निर्माण भएको छ ।

बाटो निर्माण भएको पदमार्गमध्ये रुइसेदेखि दहबुकीसम्मको पदमार्गलाई अझै स्तरोन्नति गर्नुपर्ने छ भने दहबुकीदेखि कालीबराह खोलासम्म पदमार्ग बनाइएको छ ।

कुइनेमंगले र चिमखोला साइटमा पर्ने धौलागिरि हिमालको आधार शिविरमा पुग्नका लागि अब झण्डै तीन किमी पदमार्ग निर्माण गर्नुपर्ने छ । त्यसमा झण्डै ५० मिटर जति भूभाग कडा चट्टानको भिरलाई काटेर बनाउनुपर्ने अध्यक्ष पाइजाले बताउनुभयो ।

त्यस्तै कालीबराहको दोभानबाट कालीबराहताल हुँदै मुस्ताङको लेते निस्कने परम्परागत गोरेटोबाटोलाई स्तरोन्नति गर्नुपर्ने छ । यसैबीच पदमार्गलगायतका पूर्वाधार निर्माणले पूर्णता नपाउँदा र आवश्यक प्रचारप्रसारको अभावमा अहिलेसम्म सञ्चालनमा ल्याउन कठिनाइ भइरहेको छ ।

पदमार्ग निर्माण योजना अगाडि बढे पनि नक्सांकन र थप पर्यटन पूर्वाधार निर्माण नहुँदा पदमार्ग सञ्चालनमा ढिलाइ भएको धौलागिरि आइसफल पदमार्ग निर्माण तथा व्यवस्थापन समितिका सल्लाहकार देवेन्द्र केसीले बताउनुभयो ।

कुमारी पदमार्गका रुपमा रहेको यस क्षेत्रमा प्रारम्भिक चरणको पदमार्ग निर्माण गर्ने काम अन्तिम चरणमा पुगेकाले नक्सांकन गरी सूचनामूलक संकेत बोर्ड राख्ने र खानेपानी, भ्यू टावर, लजलगायतका पूर्वाधार निर्माणतर्फ ध्यान दिनुपर्ने छ । रासस

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.