मर्स्याङ्दीमा ट्रक खस्दा एक बेपत्ता, दुईको उद्धार


मर्स्याङ्दी नदीमा ट्रक खस्दा बुधबार एक जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा ट्रकका सहचालक राजन रहेको बताइएको छ । सदरमुकाम बेँसीसहरबाट मनाङतर्फ जाँदै गरेको बा २ ख ९६०६ नंको मालबाहक ट्रक मर्स्याङ्दी गाउँपालिका– २ स्याँगे भन्ने स्थानबाट मर्स्याङ्दी नदीमा खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा परी ट्रक चालक अनिल श्रेष्ठ र सोही ट्रकमा सवार जिल्ला जनस्वास्थ्य कार्यालय मनाङका कर्मचारी सुवास अधिकारी घाइते भएका छन् । दुबै जनालाई स्थानीयवासीले नदीबाट उद्धार गरेका छन् । घाइते दुबै जनालाई उपचारका लागि सदरमुकाम बेँसीसहर ल्याउँदै गरिएको ट्राफिक प्रहरी हबल्दार भूमिराज घिमिरेले जानकारी दिए ।

नदीमा खसेर दुई टुक्रा भएको ट्रकको एक भाग नदीले बगाएको छ भने एक भाग नदी छेउमा रहेको छ । ट्रकमा रेफ्रिजेरेटर, इन्भरर्टरलगायतका सामान रहेका थिए । स्थानीयवासी पदम गुरुङकाअनुसार दुर्घटनास्थल भन्दा दुई किलोमिटर तलसम्म रेफ्रिजेरेटर भेटिएका छन् । रासस

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.