आयल निगमको अनियमितता छानबिन गर्न उपसमिति गठन


नेपाल आयल निगमको जग्गा खरीदसम्बन्धी अनियमितता छानबिन गर्न उपसमिति गठन गरेको छ ।

अर्थ समितिको मङ्गलबार बसेको बैठकले सांसद अब्दुल रज्जाकको संयोजकत्वमा सरस्वती बजिमय, इच्छाराज तामाङ, नरदेवी पुन, सिर्जना तरामु र रमेशप्रसाद कुर्मी सदस्य रहेको उपसमिति गठन गरेको हो ।

उपसमितिले उक्त अनियमितता सम्बन्धमा स्थलगत अध्ययन गरी समिति समक्ष प्रतिवेदन बुझाउने समितिका सभापति प्रकाश ज्वालाले बताए । आयल निगमले इन्धन भण्डारणका लागि झापा, सर्लाही, भैरहवा र चितवनमा जग्गा खरीद गर्ने क्रममा करोडौँ अनियमितता भएको सूचना सार्वजनिक भएपछि सो विषयमा मङ्गलबार समितिमा छलफल भएको हो ।

बैठकमा आपूर्ति मन्त्रालयका सचिव एवम् निगम सञ्चालक समिति अध्यक्ष प्रेमकुमार राईले जग्गा खरीदसम्बन्धी नीतिगत व्यवस्थाका बारेमा जानकारी गराएका थिए। त्यस्तै निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्काले जग्गा खरीद नियमसंगत रुपमा भएको स्पष्ट पारे ।

उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले निगमको जग्गा खरीद  प्रक्रियामा करोडौँ रुपैयाँको भ्रष्टाचार भएको भन्दै दोषीलाई कडा कारबाही गर्न माग गरे । बैठकमा सांसदले निगम नेतृत्वले कानून मिचेर जग्गा खरीद प्रक्रिया अघि बढाइएको र चलनचल्तीभन्दा बढी मूल्यमा खरीद  गरिएको भन्दै आवश्यक  छानबिन गरी कारबाहीका लागि सिफारिस गर्न माग गरेका थियो ।

त्यस्तै, बैठकमा कृषि विकास बैंकको जग्गा विक्री गर्दा अनियमितता भएको भन्ने विषयमा पनि छलफल भएको थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत लीलाप्रकाश सिटौलाले उक्त विषयमा कुनै अनियमितता नभएको भन्दै बचाउ गरेका थिए । बैठकले कृषि विकास बैंकको जग्गा विक्री गर्दा अनियममितता भएको भन्ने सम्बन्धमा थप कागजात अध्ययन गरेर मात्र उपसमिति बनाउने निष्कर्ष निकालेको छ । रासस

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.