निजी आवास अनुदान २०७५ असारभित्रै लिइसक्नुपर्ने

निजी आवास अनुदान २०७५ असारभित्रै लिइसक्नुपर्ने


राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणका लागि अनुदान लिने अन्तिम मिति तय गरेको छ । प्राधिकरण निर्देशक समितिको बैठकको निर्णय अनुसार प्राधिकरणले समय सीमा तोकेरै अनुदान लिन लाभग्राहीलाई आग्रह गरेको हो ।

प्राधिकरणले निर्धारण गरेको तालीका अनुसार लाभग्राहीले २०७५ असार मसान्तभित्र निजी आवास पुनर्निर्माण सम्बन्धी सम्पूर्ण अनुदान लिइसक्नुपर्नेछ । निजी आवास पुनर्निर्माणको लागि अनुदान सम्झौता भई घर निर्माण शुरू गरेको संख्या कम रहेको सन्दर्भमा लाभग्राहीहरुबाट घर पुनर्निर्माणको कार्यमा तीव्रता दिने उद्देश्यले भूकम्प प्रभावित ३१ जिल्लामै लागू हुने गरी समय सीमा निर्धारण गरिएको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले बताए ।

असार २८ गते प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको प्राधिकरण निर्देशक समितिको बैठकले अनुदान प्राप्त गर्ने अन्तिम तालीका स्वीकृत गरेपछि प्राधिकरणले निजी आवास पुनर्निर्माणका लागि समय सीमा तोकी थप अभियानका रूपमा कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।

पछिल्लो तथ्याङ्क अनुसार निजी आवास पुनर्निर्माणका लागि अनुदान सम्झौता भएका ६ लाख २८ हजार ८ सय २२ घरधुरीमध्ये ५ लाख ९४ हजार १ सय ५० घरधुरीले पहिलो किस्ता लिइसकेपनि ५२ हजार १ सय ६६ घरधुरीले मात्र दोस्रो किस्ता लिएका छन् ।

अनुदान लिएपनि घर पुनर्निर्माण सम्पन्न गर्ने म्याद नतोकिदा लाभग्राहीमा जहिले निर्माण शुरू गरेपनि हुन्छ भन्ने धारणा देखिएका कारण समय सीमा निर्धारण गरिएको प्राधिकरणको भनाई छ । प्राधिकरणले लाभग्राहीलाई अनुदान लिने प्रक्रियामा ढिलाई नहोस भनेर अग्रिम रूपमै प्रभावित जिल्लामा पठाएपनि दोस्रो र तेस्रो किस्ता लिनेको संख्या उत्साहजनक रूपमा अघि नबढेपछि समय सीमा तोकेरै अभियानका रुपमा कार्यक्रम शुरू गरिएको प्रवक्ता भुसालले बताए ।

तालिकामा हेरौं

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.