गर्मीमा आँखाको समस्या र हेरचाह


आँखा हाम्रो शरीरको महत्वपूर्ण र संवेदनशील अंग हो। आँखाकै कारण संसार देखिने भएकोले शरीरका अन्य अंगमध्ये यसको अझै बढी महत्व छ। आँखामा विभिन्न खाले समस्याहरु देखापर्छन्। त्यसमा पनि गर्मीको समयमा आँखामा बढी समस्या देखा पर्छ। गर्मीमा आँखा पाक्ने, चिलाउँने र आखा पोल्ने समस्याले बढी सताउँछ।

आँखा पाक्ने समस्या

हाम्रो आँखाको सेतो भागमा देखिने झिल्ली हुन्छ। आँखाको ढकनीमा लाग्ने झिल्लीमा संक्रमण भयो भने आँखामा संक्रमण हुन्छ। यसले गर्दा आँखा पाक्ने समस्या आउँछ। मुख्यतया भाइरस र व्याक्टेरियाको समस्याले नै आँखा पाक्छ। यो बाहेक अन्य किटाणुको कारणले पनि आँखा पाक्छ।

शरीरको ‘इम्युन सिस्टमले’ व्याक्टेरीयासँग र संक्रमण हुन सक्ने किटाणुसँग लड्न सक्ने क्षमता कम भयो भने संक्रमण देखिन्छ। आँखा पाक्ने रोग सरूवा रोगको रूपमा देखिन्छ। आँखा पाकेको व्यक्तिलाई हेरेर यो रोग सर्ने होइन। आँखामा संक्रमण भएको बिरामीको आँखाको आशुबाट सुरू भएर अरूलाई सर्ने हुन्छ । बिारमीले छोएको सामानबाट र रुमालबाट बढी सर्छ ।

यसका लक्षणहरू

  • बिरामीलाई सुरूमा आँखामा अफ्ठेरो पनको महसुस हुन्छ।
  • आँखामा रातोपन हुन्छ ।
  • रातोपनसँगै आँखाबाट चिप्रा आउने समस्या हुन्छ।
  • आँखाको वरिपरीको ढकनी सुन्नीन्छ।
  • उज्यालोमा हेर्न गाह्रो हुन्छ ।

यसको उपचार

आँखामा समस्या आएपछि सुरुमा उपचारको लागि चिकित्सककहाँ नै जानुपर्छ। आँखामा जथाभावी औषधि हाल्नु हुँदैन। आँखालाई असर नहुने औषधीहरू हुन्छन् त्यसको प्रयोग गर्नुपर्छ। उपचारको लागि नेत्र विशेषज्ञकहाँनै जानुपर्छ। त्यसपछि हामीले संक्रमण कम गर्नको लागि औषधि दिन्छौ। बिरामीले पनि आफ्नो उपचारका लागि पहल गर्नुपर्छ। आँखाको सरसफाइमा ध्यान दिनुपर्छ।

आँखामा लागेको कचेराहरू सफा गर्नुपर्छ। आँखालाई हातले छुनुहुँदैन। यदि छोइयो भने साबुन पानीले हात धुनुपर्छ। जो व्यक्तिले आँखामा औषधि हाल्छ उसले पनि हात धुनुपर्छ। बिरामीले प्रयोग गर्ने रूमाल, सुत्ने सिरानी अलग्गै हुनुपर्छ। सानो बच्चा नानी छ भने उसलाई आँखा छोएको हातले चलाउनु हुँदैन।

रूमालको भन्दा पनि टिस्यू पेपर र नेपकिनलगायतको प्रयोग गरेर त्यसलाई फाल्नु राम्रो हुन्छ। जसले गर्दा किटाणु आँखामा सर्ने खतरा कम हुन्छ।

लापरबाही गरे के हुन्छ?

आँखाको संक्रमणमा धेरै देखिने समस्या भनेको कडा खालको औषधिले गर्दा हुन्छ। चिकित्सकलाई नजचाइकन औषधी राख्दा आँखामा फुलो पर्ने खतरा हुन्छ। कडा खालको किटाणुको संक्रमण भएमा त्यो अवस्थामा पनि फुलो पर्ने र कालन्तरमा दृष्टि नै गुम्ने खतरा हुन्छ। आँखाको नानीमा असर गर्छ र  आँखामा दाग देखिने हुन्छ। जसले गर्दा दुरदृष्टिमा असर गर्छ।

त्यसैले आँखा धुने, आँखालाई सफा गर्ने काम गर्नुपर्छ। गर्मीमा यो समस्या अझै बढी हुन्छ । फागुन चैतदेखि साउन भदौसम्म आँखा पाक्ने समस्या हुन्छ।

आँखा चिलाउने

आँखा चिलाउने एउटा एलर्जी नै हो। यो के कारणले भएको हो भन्ने पत्ता लगाउन विशेष किसिमले परीक्षणनै गर्नुपर्छ। तर हामीले हेर्दा धुवा–धुलो अनि घामको कारणले पनि आँखा चिलाउँछ। गर्मी र धेरै हावा चल्ने मौसममा नै आँखा चिलाउने समस्या हुन्छ।

आँखा चिलाउँदा आँखा रातो हुने, आँखामा आँशु आउने लगायतका समस्या देखा पर्छन्। कोही बिरामीको आँखाको सेतो भागलाई पहेलोसमेत भएको हुन्छ। यसको उपचारको लागि आँखामा एलर्जी नै हो भन्ने भयो भने एलर्जी विरूद्धको औषधि खुवाउँनुपर्छ। यसको औषधि अलि लामो समय पनि खानुपर्ने हुन्छ। चिसो महिना र पानी पर्न थालेपछि भने अलि कम हुन्छ। त्यो बेलामा औषधिलाई कम गर्दै लैजानुपर्छ।

एलर्जीबाट जोगिन बाहिर धुलोमा हिड्दा चश्मा लगाउनुपर्छ। आँखाको सुरक्षा गर्नुपर्छ। चिसोले, आइसले आँखा सेक्नुपर्छ । यसले आँखालाई फाइदा गर्छ। त्यो बाहेक आँखामा आँशुको काम गर्ने औषधी पनि हाल्नुपर्छ ।

आँखा पोल्ने

आँखामा आँशुको मात्रा कमी भएर आँखालाई गाह्रो हुन्छ जसले गर्दा आँखा पोल्ने समस्या उत्पन्न हुन्छ। आँखामा आँशुको कमी भयो भने औषधी मार्फत आँशु थप्नुपर्छ। धेरैनै आँशुको मात्रा कम छ भने दिने औषधि र आशुको मात्रा कम भएको बेलामा दिने औषधीमा फरक हुन्छ। आँखा पोल्ने अन्य समस्याले पनि हुन्छ। अनिन्द्राको कारणले पनि आँखा पोल्छ। यस्तो भएको पनि आँखामा आँशुको मात्रा कम भएर हो। आँखा पोल्ने समस्या भएको व्यक्ति पनि धुलो र घामबाट जोगिनुपर्छ।

यसको लागि आइसले सेक्यो भने फाइदा हुन्छ। यसको साथै चश्मा पनि लगाउनुपर्छ। ओपीडीमा आउने बिरामीको समस्या हेर्दा ८० प्रतिशत आँखा पोल्ने चिलाउने निन्द्रा नलाग्ने थकान जस्तो भयो भन्ने गरेका हुन्छन्। यो सबै आँखा सुक्खा भएर नै हो। काठमाडौंको धुवा धुलोको कारणले यस्तो समस्या उत्पन्न हुन्छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.