बुढानिलकण्ठ-गोदावरी मोनोरेल चलाउन काठमाडौं र ललितपुरका मेयर एकमत

ललितपुरका मेयर चिरिबाबु महर्जनको निम्तोमा ललिपुर महानगर कार्यालयमा आएका काठमाडौंका मेयर विद्यासुन्दर शाक्य दुई सहरको विकास सहकार्यबारे मंगलबार छलफल गर्दै। साथमा ललितपुरकी उपमेयर गीता सत्याल। तस्बिर सौजन्य: ललितपुर महानगरपालिका


सीमा जोडिएका ललितपुर र काठमाडौं महानगरका समस्या पनि जोडिएका छन्। यातायातदेखि खानेपानीसम्म हिलो र धुँवादेखि फोहोर व्यवस्थापनसम्म दुबै महानगरले भोग्नुपरेका समस्या उस्तै छन्।

यी समान समस्याको समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा दुई महानगरका मेयरबीच पहिलो पटक मंगलबार कुराकानी भएको छ।

साझा समस्याका विषयमा छलफल गर्न ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यलाई आफ्ना कार्यकक्षमा निम्तो दिए। महर्जनको निम्तो स्वीकारेर मंगलबार बिहान ११ बजे शाक्य ललितपुर महानगरको कार्यालय आइपुगे।

‘हामीले खासगरी तीन विषयमा कुराकानी गर्यौं’, ललितपुरका मेयर महर्जनले सेतोपाटीसँग भने, ‘मोनो रेलको सम्भाव्यता अध्ययन गर्ने, चक्रपथ विस्तारको कामलाई तीव्रता दिने र भर्टिकल पार्किङको व्यवस्था गर्ने विषयमा हामी सहमति पुग्यौं।’

यसअघि काठमाडौंमा मात्र चलाउने भनिएको मोनोरेल बुढानिलकण्ठदेखि ललितपुरको गोदावरी नगरपालिकासम्म सञ्चालन गर्ने गरी सम्भाव्यता अध्ययन गर्न दुबै मेयर सहमत भएका छन्। ‘बाहिरतिरको अभ्यास हेर्दा पनि मोनो रेलका लागि काठमाडौं शहर मात्र सानो हुन्छ, त्यही भएर बुढानिलकण्ठदेखि गोदावरीसम्म मोनो रेल चलाउनुपर्छ भन्नेमा उहाँको र मेरो कुरा मिल्यो,’ महर्जनले भने।

दुबै मेयरले त्यसका लागि महानगरसँग जोडिएका नगरपालिकाका मेयरहरुसँग पनि छलफल गरेर अघि बढ्ने निर्णय गरेका छन्। बिहीबार दुबै महानगरको नगरपरिषद्को बैठक छ। ‘त्यसपछि हामी मोनो रेलको सम्भाव्यता अध्ययनका लागि जोडिएको नगरपालिका प्रमुखसँग पनि छलफल गर्छौं,’ महर्जनले भने।

अहिले कोटेश्वरदेखि कलंकीसम्म चक्रपथ विस्तार भइरहेको छ। विस्तारको काम समयमा नसकिँदा नागरिकले हिलो र धुलोको मार खेप्नु परेको छ।
दुई मेयरबीच सुस्त गतिमा भइरहेको चक्रपथ विस्तारको गतिलाई तीब्रता दिन पनि संयुक्त पहल गर्ने निर्णय भएको छ। ‘ललितपुरभित्र पर्ने चक्रपथ विस्तारमा भएको ढिलाइबारे मैले यहाँका सबै निकायसँग कुराकानी गरिसकें तर त्यसको प्रतिफल केही देखिएन,’ महर्जनले भने, ‘चीन सरकारको सहयोगमा काम भइरहकाले एकचोटी दुबैजना मेयर गएर चिनियाँ राजदूतलाई भेट्न जानेमा पनि हामी सहमत भयौं।

दुबै महानगरमा रहेको सवारी पार्किङको समस्या हटाउन पनि दुबै मेयरले भर्टिकल पार्किङको व्यवस्था गर्ने निर्णय गरेका छन्। काठमाडौं महानगरपालिकाले यसअघि नै भर्टिकल पार्किङको योजना ल्याइसकेको छ। ‘उहाँहरुको त न्यूरोड र कलंकीमा जग्गा पनि छ तर ललितपुर महानगरमा त्यस्तो ठाउँ अझै भेटिएको छैन,’ महर्जनले भने, ‘अब हामी ललितपुरमा पनि भर्टिकल पार्किङ बनाउनलाई कता हुन्छ जग्गाको व्यवस्था गर्छौं।’

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.