यही वर्ष सोलार र उखु मिलबाट ३५ मेगावाट बिजुली निकालिने


आउने हिउँदमा सोलार र उखु मिलबाट कम्तिमा ३५ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोड्ने गरी काम भइरहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यसपालि हिउँदमा बढ्ने बिजुुलीको माग धान्न दुबै माध्यमबाट बिजुली निकाल्ने काम भइरहेको जानकारी दिए। ‘नुवाकोटको देवीघाटमा २५ मेगावाटको सोलार राख्ने काम विश्व बैंकको सहयोगमा अघि बढिसकेको छ,’ घिसिङले सेतोपाटीसँग भने, ‘यही वर्ष हिउँदमा उखु मिलबाट उत्पादित बिजुली पनि राष्ट्रिय प्रसारणलाई जोड्ने गरी काम भइरहेको छ।

देवीघाटमा प्राधिकरणकै जग्गामा विश्व बैंकले सोलार प्यानल राख्न लागेको हो। निर्देशक घिसिङले केही वर्षदेखि समस्या भएर अड्किएको सोलारको काम अहिले अगाडि बढिसकेको र ५/६ महिनाभित्रै बिजुली उत्पादन हुने बताए।

यो बाहेक निजी क्षेत्रका विभिन्न कम्पनीले सोलारबाट थप ६१ मेगावाट बिजुली निकाल्न आवेदन दिएका छन्। ‘विद्युत व्यापार विभाग र निजी क्षेत्रबीच विद्युत खरिद सम्झौता (पिपिए) गर्ने अन्तिम चरणमा पुगेको छ,’ प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले भने, ‘केहीदिनमै सम्झौता भयो भने उनीहरुले पनि यही हिउँदमा बिजुली उत्पादन गर्न सुरु गर्छन्।’

प्राधिकरणले यो हिउँदमा उखु मिलबाट पनि केही बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोड्ने गरी काम भइरहेको जनाएको छ।

प्रारम्भिक अध्ययनले देशभरिका चिनी मिलबाट अहिलेकै अवस्थामा १० मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोड्न सकिने देखाएको छ। उखु पेलेर रसबाट चिनी बनाइन्छ भने बाँकी रहेको खोस्टा (बगास)लाई जलाएर बोयलर तताएपछि निस्कन बाफबाट टर्बाइन घुमाएर बिजुली निकालिन्छ। ‘अहिले चिनी उद्योगले आन्तरिक खपतका लागि यसरी बिजुली उत्पादन गरिरहेका छन्,’ प्रवक्ता अधिकारीले भने, ‘उनीहरुले प्रयोग गरिरहेको लो प्रेसर बोयलरको ठाउँमा मिडियम प्रेसर बोयलर राख्यो भने ३५ मेगावाट जति बिजुली उत्पादन गर्न सकिन्छ।’

प्राधिकरणले केही समय अघि बिजुली बेच्न चाहने चिनी उद्योगलाई आवेदन दिन सूचना निकालेको थियो। त्यसमध्ये एभरेष्ट, इन्दुशंकर र अन्नुपूर्ण चिनी मिल पिपिए गर्ने चरणसम्म पुगेका छन्। विद्युत ऐनमा प्राधिकरणसँग पिपिए गर्दा बिजुली उत्पादनेको अनुमति पत्र अनिवार्य सर्त भएकोले उनीहरुसँग पिपिए हुन समय लागेको प्रवक्ता अधिकारीले बताए। ‘मन्त्रिपरिषद्ले अनुमति पत्र नभए उर्जा मन्त्रालयले उत्पादकसँग करार सम्झौता गरेर पनि बिजुली किन्न सक्ने निर्णय गरेकाले अब उहाँहरुसँग चाँडै सम्झौता हुन्छ’, अधिकारीले भने।

विद्युत विकास विभागका महानिर्देशक नवीनराज सिंहले ती तीन चिनी उद्योगलाई करार सम्झौताको ड्राफ्ट र उनीहरुले पठाएको प्रतिक्रियासहित मन्त्रालयमा पठाइएको बताए। ‘मन्त्रालयबाट स्वीकृत भयो भने हामी सम्झौता गर्छौं त्यसपछि उहाँहरूले पिपिए गर्न बाटो खुल्छ।’

सिंहले थप तीन चिनी मिलको अवस्था बुझ्न विभागको टोली साउनको पहिलो साता फिल्ड भिजटमा जान लागको जानकारी दिए। बिजुली बेच्न आवेदन दिएका लुम्बिनी चिनी उद्योग, महाकाली सुगर मिल्स र बागमती खाडसारी उद्योगसँग पनि केही समयभित्रै सम्झौता हुन सक्ने सिंहले बताए।

विभागबाट करार सम्झौता भएर आउनासाथ पिपिए गर्न कुनै समस्या नरहेको प्रवक्ता अधिकारी बताउँछन्। ‘सञ्चालक समितिले हिउँदमा जुन मूल्य जलविद्युत आयोजनाको बिजुलीले पाउँछ त्यही मूल्य उखु मिलले पाउने निर्णय गरिसकेको छ,’ अधिकारीले भने, ‘उद्योगदेखि नजिकैको सबस्टेसनसम्म ट्रान्समिसन लाइन पनि उद्योगको खर्चमा प्राधिकरणले बनाइदिने निर्णय भइसकेको छ।’

चिनी उद्योगहरु हिउँदमा सञ्चालन हुन्छन्। पुस, माघ, फागुन, चैतको सुख्खायाममा नदीमा पानीको बहाव घटेर एक तिहाइमात्र बिजुली उत्पादन हुन्छ। यस्तो बेलामा चिनी उद्योग बिजुलीले धेरै राहत पुग्ने भएकाले सरकारले नै उनीहरुलाई प्रोत्साहन गर्नु पर्ने सरोकारवालाहरु बताउँछन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.