हिमालयन उद्धार संघले काठमाडौमा अन्तर्राष्ट्रिय रेस्क्यु सेन्टर निर्माण गर्ने


हिमालयन उद्धार संघ(एचआरए) नेपालले बौद्धको रामनगरमा अन्तर्राष्ट्रिय रेस्क्यु सेन्टर निर्माण गर्ने भएको छ। नवनिर्वाचित एचआरए कार्यसमिति र पर्यटन पत्रकार संघ(जाट–नेपाल) का कार्यसमितिबीचको परिचयात्मक एवं पर्यटन अन्तक्रिया कार्यक्रममा संघका अध्यक्ष नरेन्द्रदेव भट्टले उक्त जानकारी दिएका हुन् ।

४ रोपनी क्षेत्रफलमा बन्ने उक्त केन्द्र आधुनिक प्रबिधियुक्त हुने र सेन्टर निर्माणबारे यसअघि नै शिलान्यास भइसकेको उनले बताए । सेन्टर निर्माणका लागि साँढे सात करोड रुपैंया लाग्ने अनुमान गरिएको छ ।

यता उच्च पहाडी तथा हिमाली क्षेत्रमा जाने स्वदेशी तथा बिदेशी पर्यटकलाई विशेषतः लेक लाग्नबाट बचाउन निशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको संस्थाले यस कार्यलाई अझै प्रभावकारी बनाउँदै लैजाने भएको छ । एचआरएका महासचिव पृश्बी श्रेष्ठले एभरेष्ट क्षेत्र र मनाङ क्षेत्रमा स्थायीरुपमै स्वास्थ्य चौकी स्थापना गरेर एचआरएले स्थानीय सहित पर्यटकलाई निशुल्क औषधि एवं स्वास्थ्य परिक्षण गर्दै आएको बताए । आवश्यकताअनुसार उच्च पहाडी तथा हिमाली क्षेत्रमा स्वास्थ्य शिविर संचालन गर्दै आएको पनि उनले जानकारी दिए ।

एभरेष्ट बेशक्याम्प, मनाङ क्षेत्र,गोसाईकुण्डका तिर्थयात्रु, यार्सा टिप्ने क्षेत्रमा समेत आफुहरुले निशुल्करुपमा बिरामीहरुलाई उद्धार गरीरहेको जानकारी दिए ।

कार्यक्रममा टानका पूर्व अध्यक्ष एवं एचआरएका सदस्य सिताराम सापकोटाले उचाईमा अक्सिजन कमिका कारण लेक लाग्ने भएकाले यससम्बन्धी पूर्व जानकारी हासिल गर्न र सकेसम्म तरल पदार्थको प्रयोग गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रकाश अधिकारीले एचआरएले प्रतिवर्ष ४५ सय भन्दा बढि लेक लागेका बिरामीहरुलाई संस्थाले उद्धार गर्ने गरेको जानकारी दिए ।

कार्यक्रममा जाट नेपालका अध्यक्ष देवीप्रसाद पन्तले पर्यटन क्षेत्रको विकास र विस्तारमा पर्यटन पत्रकार संघले सकारात्मक सन्देशलाई प्राथमिकता दिने भन्दै पर्यटनजस्तो संबेदनशिल क्षेत्रमा नकारात्मकतालाई हटाउँदै लैजानुपर्नेमा जोड दिए ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.