बिरामी बचाउन आफन्तको सहमतिमा मृगौला झिकेका हौं : मनमोहन अस्पताल प्रशासन


प्रस्तावित मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलले ‘पत्थरी जिक्दा मृगौला निकालियो’ भन्ने समाचारपति आपत्ति जनाएको छ । अस्पताल प्रशासनले बिहीवार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त समाचार निराधार र नियोजित रुपमा प्रकाशन गरिएको भन्दै आपत्ति जनाएको हो ।

अस्पतालका इमर्जेन्सी विशेषज्ञ डा. धर्मदत्त जोशीले नुवाकोट जिल्ला विदुर नगरपालिका १२ का ३२ वर्षीया शिवप्रसाद रिमालको पत्थरी उपचारका क्रममा जीवन गम्भिर स्थितिमा पुगेको र आफन्तको सहमतिमै मृगौला निकालेर जीवन जोगाएको स्पष्ट पारेका हुन् । बिरामीको मृगौला सामान्य भन्दा तल मुत्रथैलीतिर झरेको र पत्थरी निकाली सकेपछि एक्कासी रक्तश्राप भएको बताउँदै डा. जोशीले भने,‘हामीले उहाँको मृगौला नझिकीकनै उपचार र जीवन जोगाउन ठुलो प्रयास गर्यौँ, तर सकेनौ, उहाँको बारेमा हामी निक्कै संवेदनशील भयौ, बिरामी पक्षलाई जानकारी गराएर जीवन जोगाउने कि मृगौला निकाल्ने भन्दा उहाँहरू जीवन जोगाउने भन्नेमा पुग्नुभयो, अनि हामीले त्यो किड्नी झिकेका हौं, अझै अस्पतालमा त्यो किड्नी सुरक्षित छ, त्यो नक्कली या अरुको हो भन्ने लाग्छ भने डिएनए गर्दा पनि हुन्छ, कानून छ, हाम्रो गल्ती अप्रेशन गर्नु हुँदै होइन, हाम्रो गल्ती उहाँको परिवार र सन्तानको हितको निम्ति सदा सहायता देखाउनेमा पुग्नु  भएको हो, कानूनले हामीलाई दोषी ठहर गर्छ भने हामी झुण्डिन तयार छौँ ।’

त्यस्तै, शल्यक्रियामा संलग्न वरिष्ठ यूरोलोजिष्ट प्रा.डा.गुणकुमार श्रेष्ठले आफ्नो कुनैपनि दोष नभएको बताएका छन् । बिरामी रिमालको जीवन जोगाउनको लागि नै यस्तो जोखीम उठाएको बताउँदै उनले भने,‘हामीले एक मिनेट मात्रै ढिला गरेको भए उहाँको जीवन समाप्त हुने थियो, बिरामीका आफन्तसँग अस्पतालले शुरूमै सबै कुरा जानकारी गराएर मात्रै शल्यक्रियामा लिन्छ, बिरामी पक्षले अरुका कुरा सुनेर पछि लफडा झिक्नु भएको हो, शुरूमा आक्रोशमा आउनुभयो, मृगौला हेर्न मान्नु भएन र विभिन्न माग राख्नु भयो, ती माग सम्बोधन गर्नको लागि अस्पतालले सदा सहायता देखायो, आज त्यही सदा सहयातालाई हतियार बनाएर हाम्रो बद्नाम गर्ने काम भएको छ, सत्य यही हो, हाम्रो गल्ती छैन्, हामीलाई बद्नाम गर्ने काम भएको छ ।’

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.