मेलम्चीको सुरुङमा कमजोर चट्टान र पानी भेटिन थालेकाले काममा अप्ठ्यारो,असोजसम्म उपत्यकामा पानी ल्याउन कठिन  


मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणमा कमजोर चट्टान र पानी भेटिन थालेकाले काममा अप्ठ्यारो भएको छ । सिन्धु–ग्याल्थुम सुरुङखण्डमा भूमिगत पानी मिसिएको कमजोर चट्टान भेटिएकाले हाल दैनिक १७ मिटरमात्र काम भइरहेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक ईञ्जिनीयर रामचन्द्र देवकोटाले बताए । ‘सुरुङमा यस्तो भौगर्भिक स्थिति भेटिँदा कामदारको सुरक्षाको चिन्ता छ, कमजोर चट्टान आएपछि माटो, ढुङ्गा नआओस् भनी अड्याउन काम गर्नुपर्छ, यसले काममा ढिलाइ भएको हो’ – उनले भने ।

हाल सिन्धुबाट ग्याल्थुमतिर, ग्याल्थुमबाट सिन्धु र मुहानतिर एवम् मुहानबाट ग्याल्थुमतिर गरी चार स्थानबाट सुरुङको काम भइरहेको छ । २७ दशमलव पाँच किमी सुरुङमध्ये अहिलेसम्म २५ किमीको काम सकिएको तर दुई दशमलव पाँच किमी सुरुङको काम बाँकी रहेको आयोजनाले बताएको छ ।

सरकारले असोजसम्म मेलम्चीको पानी उपत्यकामा ल्याउने लक्ष्य राखे पनि पूरा हुन कठिन छ । पुससम्ममा सुरुङको काम सक्ने गरी काम भइरहेको कार्यकारी निर्देशक देवकोटाले बताए । रासस

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.