सुगर भएको मान्छेलाई छुट्टै खाना जरूरी पर्दैन

सुगर हुनासाथ आत्तिनु हुँदैन, यसले जिउन सिकाउँछ, आचरण सुधारे आयु बढाउँछ


सुगर, डाइभिटिज, मधुमेह र चिनीरोग सबैलाई एउटै नामले चिनिन्छ। यसलाई सामान्य भाषामा बुझ्दा शरीरमा चिनीको मात्रा धेरै देखिनु हो। तर, चिनीको मात्रा बढी देखिनु भनेको शरीरमा चिनीको मात्रा बढी भएको होइनकि हाम्रो शरीरमा इन्सुलिनको मात्रा कमी भएको हो।

जे जति हामीले खान्छौ पिउँछौ (चाहे त्यो आलु होस्, भात होस्, ढिँडो, चाउचाउ, च्याख्ला, बिस्कुट जे सुकै होस्) सबै कुरा पेटमा गएर बन्ने सुगर नै हो। हाम्रो बुझाई गलत छ। सुगर हुनेले यो खान हुन्न त्यो खान हुन्न भनिन्छ। सुगर भनेको भात खान नहुने रोग भन्ने प्रचलन अझ बढी छ। आलु खान नहुने भनिन्छ। यो सबै गलत हो।

रगतमा सुगरको मात्रा बढी देखिनु भनेको हामीले त खाना खायौं खाएको खानेकुरा पेटमा गएर सुगर बन्यो, त्यो कुरा इन्धनको रुपमा हाम्रो शरीरले प्रयोग गरेन भन्ने हो। तर, यसको अर्थ खाएको खाने कुरा पेटमा गयो चिनी बन्यो अनि खेर गयो। त्यो शरीरका अंगहरूले खान पाएन अनि अगंहरू भोकै रह्यो। हामीले खाएको खानेकुरा पेटमा जान्छ गएपछि पाचन भइसकेपछि चिनी बन्छ र पेटमा इन्सुलीन भन्ने हार्मोन उत्पादन हुन्छ। यसलाई पेन्क्रियाज भन्ने अंगले उत्पादन गर्छ। यो पेटको तलको भागमा हुन्छ। उत्पादन भएको इन्सुलीनले हामीले खाएर खानाबाट बनेको चिनी सबै अगंमा प्रवेश गराउने काम गर्छ। जब हाम्रो शरीरमा इन्सुलीनको मात्रा कमी हुन्छ खाएको चिज जुन चिनी बन्छ तर त्यो शरीरका अंगहरुमा प्रवेश गर्न पाउँदैन। यही अवस्था हो सुगर भनेको।

सुगर भनेको शरीरमा चिनीको मात्रा बढी भएको होइन, शरीरमा इन्सुलिनको मात्रा कमी भएको हो। सुगर भनेको गुलियो चिज खाएर लाग्यो भन्ने गर्छौ चिनी धेरै भएर लागेको रोग भन्छौ तर यो गलत हो। सुगर भएको मानिसले गुलिया खान हुँदैन भन्ने होइन। एक चम्चा चिनी खादैमा केही फरक पर्दैन। जे खाए पनि पेटमा गएर बन्ने चिनी नै हो। चाहे गुलीयो चिज खानुहोस चाहे गुलियो नभएको खानेकुरा खानुस पेटमा गएर बन्ने चिनी नै हो।

भात र आलु खान हुन्न भनिन्छ यो गुलियो भएर त होइन। यसमा कार्बोहाइड्रेट धेरै हुन्छ। सुगर भएको बेला कार्वोहाइड्रेट भएको खाने कुरा नखाने होइन कम खाने तर धेरै पटक खाने गर्नुपर्छ ।

सुगरमा के खाने कसो खाने भनेर सोच्न जरुरी छैन। हामीले बजारमा हेर्छौ सुगर फ्री बिस्कुट, सुगर फ्री केक, सुगर फ्री सेलरोटी भन्छौ, सुगर फ्री चक्लेट भन्छौ यो सबै नचाहिने कुरा हो। हामीले गुलियो मात्रै सुगर भन्न भएन गुलीयो भनेको प्रत्यक्ष सुगर हो तर अरु कुरा अप्रत्यक्ष सुगर हो। त्यही भएर सुगर भएको बेलामा के खाने भन्ने प्रश्न होइनकी कति खाने भन्ने प्रश्न हो ।

सुगर भएको मान्छेको लागि अलग्गै प्रकारको खाने कुरा जरूरी पर्देन। यस्तो चलन संसारमा छैन हाम्रो देशमा मात्रै किन यस्तो भनिएको छ। यो सुगर फ्री, त्यो सुगर फ्री भनेर नचाहिने हल्ला गरिएको छ। यो, त्यो खानेभन्दा पनि कति खाने भन्ने सोच्नुपर्छ। थोरै खाने धेरै चोटी खाने तर के खाने भनेर सोच्ने होइन। रक्सी चुरोट खान भएन यो सबैलाई थाहा छ। बोसो चिल्लो खान भएन। चिनीबाट बनेका चिजहरु धेरै सकभर खान भएन। अरू जे खाए पनि हुन्छ। धेरै खाने होइन तर धेरैपटक खानुपर्छ।

सुगर किन हुन्छ ?  

सुगरको प्रमुख कारण जीवनशैली नै हो। हाम्रो खानपिन ठीक छैन। मान्छेहरू अल्छी भएका छन्। तरकारी लिन जान पनि गाडी र मोटरसाइकलको प्रयोग गर्छन। मोटोपन धेरै छ। खाना समयमा नखाने र एकै पटकमा धेरै खाना खाने गरिन्छ। खाना साथै सुत्ने बानी छ। व्यायाम गर्ने चलन छैन। तनावपूर्ण जीवन शैली छ। यो बाहेक बंशाणुगत कारणले पनि सुगर हुन्छ। लापरबाही तरिकाले बिभिन्न किसिमका औषधि प्रयोग गर्दा पनि सुगर हुन्छ। पेटको रोगी, कलेजोको रोगी, पित्तको रोगी र पेन्क्रियाजको रोगी भएको मानिसलाई हुन्छ। रक्सी धेरै पिउनेलाई सुगरको खतरा हुन्छ। सबैभन्दा ठूलो कारण जीवन शैली नै हो। खाना धेरै खाने तर व्यायाम नगर्ने गर्दा सुगरको खतरा बढी हुन्छ।

सुगरका लक्षणहरू

सुगर भएको लक्षण देखिन्छ भन्ने छैन। सुगरको मुख्य लक्षण भनेको मुख सुक्ने पिसाब बढी लाग्ने हुन्छ। पानी बढी प्यास लाग्ने, शरीरको तौल घट्दै जाने, यौन इच्छा कम हुँदै जाने, यौन अगंहरू चिलाउँदै जाने हुन्छ। छालाहरु सुख्खा भएर जाने हुन्छ। आँखा धमिलो हुने हुन्छ। यी लक्षणहरू सुगर भएको आठ, दस वर्षपछि मात्रै देखिन्छ। यसको लक्षण तुरून्तै देखिन्छ भन्ने छैन। त्यसैले बेला बेलामा स्वास्थ्य परीक्षण गर्नुपर्छ। अर्को कुरा सुगरको मात्रा मात्रै जाच्ने चलन छ। यसले मात्रै हुँदैन। यसको लागि कोलस्ट्रोल,किड्नीको परीक्षण गर्नुपर्छ। सुगरको लागि विशेष परीक्षणसमेत गर्नुपर्छ।

उपचार

सुगरको मुख्य उपचार भनेको खानपिन नै हो। जबसम्म खाने तरिका मिलाइँदैन जति औषधि खाए पनि ठीक हुँदैन। चिकित्सकको निगरानीमा बिभिन्न खालका औषधिको प्रयोग त गर्न सकिन्छ तर त्यो भन्दा महत्वपूर्ण बिरामी आफू सचेत हुनुपर्छ। आहारलाई परिवर्तन गर्नुपर्छ। खानेकुरा मिलाएर खानुपर्छ। शरीरको तौललाई सन्तुलन गर्नुपर्छ। दिनमा तीस मिनेटदेखि पैतालीस मिनेटसम्म हिड्नुपर्छ। अथवा कुनै किसिमको व्यायाम गर्नुपर्छ। आहार, व्यवहार र विचार नबदलि जतिसुकै औषधि र सुई खोपे पनि ठीक हुँदैन।

लापरबाही गरे के हुन्छ ?

यसले बिरामीलाई तुरुन्तै दुःख दिँदैन। यसले बिस्तारै मार्छ। यसलाई म ‘साइलेन्ट किलर’ भन्न रूचाउँछु। यसले भविष्यमा आँखा नदेख्ने बनाउनसक्छ। किड्नी फेल हुनसक्छ। हृदयघात हुनसक्छ। प्यारालाइसिस हुने खतरा हुन्छ। कतिपए अवस्थामा खुट्टासमेत काट्नुपर्ने हुन्छ। यो अवस्था एकै दिनमा पुग्ने होइन। यसका लागि बीसौ वर्ष लाग्छ। त्यसैले यसलाई लापरबाही गर्न हुँदैन।  हिजो सुगर ५ सय थियो आज ३ सय छ कन्ट्रोल भयो भनिन्छ यो गलत हो। सुगर जति भए पनि त्यसले बिगार्ने उत्ती नै हो।

सुगर आचरण सुधार्ने मौका पनि हो

सुगर हुनासाथ आत्तिनु पर्ने हुँदैन। यसले जिउन सिकाउँछ। मानिसलाई अनुशासित बनाउँछ। यसलाई कन्ट्रोल गर्न सकियो भने मानिसको आयु दस–पन्ध्र वर्ष बढ्छ। सुगर भएपछि म खत्तम भए केही गर्न सक्दिनँ भनेर सोच्न हुँदैन। रोग नभएको मान्छेले केही पनि परीक्षण गर्दैन। तर सुगर भएको मान्छेले बेलाबखत शरीरको स्वास्थ्य परीक्षण गरेको हुन्छ। जसले गर्दा उसलाई के भइरहेको छ भन्ने थाहा हुन्छ र रोगको चाडो उपचार हुन्छ। सुगरको कन्ट्रोल गर्ने औषधिले र चिकित्सकले होइन यसको कन्ट्रोल बिरामी आफैंले गर्ने हो।

जबसम्म बिरामीले चाहँदैन सुगर कन्ट्रोल हुँदैन। जतिपटक चिकित्सक कँहा धाए पनि जति औषधी खाए पनि यो कन्ट्रोल हुँदैन। यदी बिरामी स्वयम् सचेत भएन भने।

प्रस्तुतीः सन्जिब बगाले

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.