रुकुमको चौखावाङ्वासी तीन सातादेखि अन्धकारमा

रुकुमको चौखावाङ्वासी तीन सातादेखि अन्धकारमा




सदरमुकाम मुसिकोट नगरपालिका९ चौखावाङ्का स्थानीयवासी तीन सातादेखि अन्धकारमा बस्न बाध्य छन् । गत जेठ १५ गतेदेखि गाउँमा विद्युत् सेवा अवरुद्ध भएपछि त्यहाँका स्थानीयवासी अन्धकारमा बस्न बाध्य भएका हुन् । 

गाउँमा सडक निर्माण कार्य चलिरहेको बेला अचानक माटो खसेर विद्युत् उत्पादन केन्द्र र नहरमा पुरिएपछि विद्युत् उत्पादन बन्द भएको हो । विद्युत् गृहमा माटो भरिएर विद्युत् उत्पादन उपकरण नचलेको स्थानीयवासी भीमकुमार केसीले जानकारी दिए। सडकको माटो र ढुङ्गाले गर्दा विद्युत् गृह र नहरमा ठूलो क्षति पुर्‍याउनाका साथै १० वटा खम्बा भाँचिएका र ठाउँठाउँमा तार चुँडिएका कारण विद्युत् उत्पादन हुन अझै केही समय लाग्ने सक्ने बताइएको छ । 

विद्युत् अवरुद्ध हुँदा त्यस गाउँका करिब ४०० भन्दा बढी घरधुरी अहिले अन्धकारमा छन् । अँध्यारोमुक्त क्षेत्र घोषणा गरिएको ठाउँमा महिनौँसम्म पनि विद्युत् मर्मतका लागि कसैले चासो नदिएको स्थानीयवासीको आरोप छ । तर विद्युत् उपभोक्ता समितिले भने मर्मतका लागि प्राविधिक बोलाई सकिएकाले अबको केही दिनमै विद्युत् सञ्चालनमा आउने बताएको छ । रासस 

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.