‘स्वास्थ्यमन्त्री निःशुल्क भन्नुहुन्छ, अस्पतालले पैसा छैन भनेपछि बेडबाटै निकाल्छ’

दुवै मृगौला फेल भएका बिरामीको गगन थापालाई खुलापत्रः


मेरो नाम पवनकुमार मण्डल हो। म ३८ वर्षको भएँ। जनकपुर– १७ मा सगोलको घर छ। म मेहनत मजदुरी गरेर कमाउने गर्छु। मेरी श्रीमती र तीन सन्तान मेरै कमाइमा आश्रित छन्। आवश्यक परेको बेला बेचबिखन गर्न मसँग जग्गाजमिन पनि छैन।

पाँच वर्षपहिले म जनकपुरमै दुर्घटनामा परेको थिएँ। त्यतिबेला मेरो खुट्टा अलिक सुन्निएको थियो। त्यसपछि पटक–पटक सुन्निन थाल्यो। ती सबै बेला मैले जनकपुरमै लोकल हिसाबले जचाएर औषधि खाएको थिएँ। त्यस्तो औषधिले तत्काललाई सुन्निएको समस्या समाधान भएजस्तो हुन्थ्यो। तर, समस्या बल्झिरहेपछि एक जना चिनेका कम्पाउन्डरले यसको निम्ति एकपटक अर्कै डाक्टर देखाउन सल्लाह दिए।

त्यसैअनुसार एक महिनाअघि जनकपुरमै डाक्टर जयकुमार मण्डललाई भेटेँ। उनले मिर्गौला एकपटक हेर्नुपर्छ भने। पिसाब जाँच्न पनि लगाए। अरू पनि थुप्रै परीक्षण गरे। त्यसपछि उनले मेरो दुवै मिर्गौला फेल भइसकेको जानकारीसहित औषधि दिए।

जनकपुरमा चिकित्सक र ल्याबको सुविधा त्यति भरपर्दो छैन भन्ने चर्चा चलिरहेको बेला मलाई ती डाक्टरले भनेको कुरा त्यति विश्वास लागेन। खुट्टा सुन्निनु र मिर्गौला फेल हुनुको तारतम्य नबुझेकाले मेरो चित्त बुझेन। थप परिक्षण गराउने मनशायले काठमाडौं आएँ। त्यतिबेला म असर्फी साहकहाँ जचाउन पुगेको थिएँ।

साहले फेरि सुरुदेखि सबै परीक्षण गर्न लगाए। पछि जयकुमारले जे रिपोर्ट दिएका थिए, त्यही नै रिपोर्ट असर्फी साहबाट पनि आयो। त्यतिबेला साहले औषधि दिँदै आफू चैत २९ गते वीरेन्द्रबजारमा शिविर रहेकाले त्यता आउने बताए। त्यसै शिविरमा आगामी परीक्षण र आफ्नो तर्फबाट हुनसक्ने सहयोग पनि गरिदिने साहले जानकारी दिएका थिए।

यसरी घर फर्केर असर्फी साहले दिएको औषधि खाँदाखाँदै बीचैमा अचानक एकदिन मेरो अवस्था असाध्यै खराब भयो। सबैतिर सुन्निन थाल्यो र बोल्न पनि नसक्ने भएँ। हुँदा हुँदा बेहोसै भएपछि मलाई जनकपुर अञ्चल अस्पतालमा चैत २४ गते भर्ना गरियो। त्यहाँको अस्पतालमा डाक्टरहरू पनि सबै अलमलमै भएपछि र केही भरपर्दो सुविधा नपाएपछि मेरो उपचारै भएनछ। बेडमै छटपटाएको अवस्थामा अलपत्र छाडिएँ। त्यतिबेलै अस्पतालले मलाई अर्को स्थानमा लगेर जचाउन रेफर गर्दै पत्र काटिदियो। एम्बुलेन्समा राखेर मलाई २५ गते दौडादौड काठमाडौं वीर अस्पताल ल्याइयो।

वीर अस्पतालमा ल्याएपछि मलाई आकस्मिक कक्षमा राखियो।
त्यसपछि बल्ल मेरो होस आयो।

त्यहाँ रहँदै हामीले यसरी मिर्गौला फेल भएका बिरामीलाई सरकारले अहिले सुविधा दिएको छ भनेर सुनेका थियौं। व्यवहारमा भने त्यस्तो एउटा पनि सुविधा पाइएन। परीक्षणदेखि लिएर प्रत्येक कुराका निम्ति पहिल्यै बिल बनाएर ल्याइन्थ्यो। पैसा नतिरी त्यहाँ केही भइरहेको थिएन। हामीले बारम्बार आफूहरू गरिब रहेको र उपचार गराउने खर्च पनि नभएको जानकारी गराउँदा पनि कुनै सुनुवाइ भइरहेको थिएन।

त्यहाँका डाक्टरको नाम त थाहा भएन, तर ‘मिर्गौलाका बिरामीलाई कुनै सहयोग छैन। कसैले प्रचारको निम्ति गरेको कुराका भरमा अस्पतालले सित्तैमा कहाँ दिन्छ?’ भनेर सुनाउनुभयो।

चिकित्सकले ‘यो रिपोर्ट ल्याउनु’, ‘त्यो रिपोर्ट ल्याउनु’ भन्थे र सबैमा पैसा बुझाउनै पथ्र्यो। सरकारले सुविधा दिएको छ त भनिन्थ्यो, यता सरकारी अस्पतालमै हामीले गाउँबाट ल्याएको पैसा धमाधम सकिँदै थियो।

यस्तोमा दुई दिन आकस्मिक कक्षमा राखिसकेपछि हामीलाई अस्पताल छाड्न भनियो। मैले घर निकै टाढा रहेको र आउन–जान एकदमै समस्या हुने भएकाले अस्पतालमै भर्ना भएर उपचार गराउन पाउँ भनेँ।

जवाफमा अस्पतालमा बेड खाली नरहेको बताइयो। त्यसपछि म बस्दै आएको इमर्जेन्सीको बेड पनि तत्काल खाली गर्न दबाब दिन थाले। कुनै इमर्जेन्सी आइपरे फेरि अस्पताल आए हुन्छ भन्ने उनीहरूको भनाइ थियो।

वीर अस्पतालमा इमर्जेन्सी छाड्न कर गरेपछि हामी त्यहाँबाट निस्केर गौशालास्थित पशुपति धर्मशालामा आइपुग्यौं।

त्यसपछि वीर अस्पतालकै एक जना डाक्टरले भक्तपुरमा प्रत्यारोपण गर्ने अस्पताल नै रहेको जानकारी दिएका थिए। वीर अस्पतालमा धेरै नै भीडभाड रहेको र डाइलासिस गर्नुपरे त्यसमा पनि लाइन लाग्नुपर्ने भएकाले भक्तपुर जानु बुद्धिमानी हुने ती चिकित्सकको सुझाव थियो। तिनै चिकित्सकले डाइलासिस गर्न फिस्टुला हाल्नुपर्ने बताए। त्यसका निम्ति पनि वीर अस्पतालमा लामो लाइन लाग्नुपर्ने भएकाले त्यहाँ कुर्नुभन्दा बाहिर कुनै अस्पतालमा गरे हुन्छ भन्ने सल्लाह दिए। वीर अस्पतालमा पनि निःशुल्क नहुने र त्यसमा दुई–तीन हजार बढी थप्दा बाहिरै आरामसँग यो काम हुने बताए।

‘सर, हामी केही नजान्ने मान्छे आएका छौं, कहाँ जाऔं त?’ भनेर सोधेपछि तिनै डाक्टरले ‘स्टार हस्पिटल गए हुन्छ’ भनेर सल्लाह दिए।

त्यो अस्पतालमा पुग्नेबित्तिकै हामीसँग पर्याप्त पैसा रहे–नरहेको सोधियो। पछि ११ हजार रुपैयाँभन्दा बढी शुल्क लिएर फिस्टुला हालिदिए। सामानहरूको १८ सय र औषधिको १६ सयजति थप तिर्नुपरेको थियो। त्यो सबै सम्पन्न गरेर हामी फेरि यहाँ धर्मशालामै आयौं।

धर्मशालामा आएपछि हामीले जनकपुरबाट काठमाडौं आइ बसेका चिनजानका मानिस गुहार्यौं। सबैले हामीलाई भक्तपुरस्थित प्रत्यारोपण केन्द्र जाने सल्लाह दिए।

त्यसैअनुसार मंगलबार हामी भक्तपुर गयौं। त्यहाँ गएपछि इमर्जेन्सीमा भर्ना गरियो। राति आठ बजेसम्म सोडियम परीक्षण लगायतका उपचारहरू गरियो।
भक्तपुरमा दुई–तीनवटा इन्जेक्सनको पैसा लिएका थिएनन्। नत्र सोडियम टेस्ट लगायत औषधिहरूको पनि पैसा लिएकै थिए। कुनै ठूलो मानिस चिनेजानेको छ भने यस्ता कतिपय कुरा निःशुल्क पाइने जानकारी त्यहीँका डाक्टरले दिएका थिए। तर, हाम्रो बारेमा त्यहाँ बोलिदिने कोही भएनन्।

यस्तो अवस्थामा पाँच हजारभन्दा बढी पैसा डाइलासिसका निम्ति आवश्यक सामान किन्नै लाग्छ भनेर सुनाए। फेरि कोही कोही त्यसमै दसदेखि पन्ध्र हजार पर्ने पनि सुनाउन थाले। सरकारले त डाइलासिस निःशुल्क गरेको छ भनेर सुनाउनेबित्तिकै सबै मुख हेराहेर गर्न थाले। यो सबै अन्योलका बीच हामीले कुनै निर्णय लिनै सकिरहेका थिएनौं।

हामीले पैसा नभएकै कारण दुःख पाइरहेको, पैसा छैन भन्ने थाहा पाएपछि नै वीर अस्पतालमा पनि नराखेको जानकारी दियौं। यो सबै हुँदाहुँदै पछिल्लो दुई साता बीचमा पचास हजार रुपैयाँभन्दा बढी खर्च भइसकेको छ। बरु एक–दुई हजार रुपैयाँले हुन्छ भने आफूहरू तिर्न तयार रहेको बतायौं।

यस्तोमा मेरा आफन्तले त्यस अस्पतालकै मेडिकल डाइरेक्टर डा. पुकार श्रेष्ठलाई भेट्न गए। उहाँसँग पनि भेट भएन। फर्केर आएपछि इमर्जेन्सीबाट निस्कन हामीलाई दबाब बढ्न थाल्यो।

इमर्जेन्सीको बेडमा बसिरहेको बिरामीलाई पैसा छैन भन्नेबित्तिकै त्यहाँबाट बाहिर अन्तै जाने दबाब दिन थालियो। ‘तपाईंभन्दा सिरियस बिरामी आएका छन्, बेड खाली गर्नुपर्यो’ भनियो।

मेरो आफन्तले मलाई बेडैमा छाडेर हिँड्न खोज्दा ‘तपाईंको बिरामीलाई पनि सँगै लैजानुभएन भने डोरीले बाँधेर बाहिर निकालिदिन्छौं’ भनेर सुनाए।

मलाई जुनसुकै बेला नराम्रो अवस्था आइपर्न सक्ने खुद डाक्टरहरू नै बताउँछन्। तर, अस्पतालमा भर्ना लिन कतै मानिरहेका छैनन्। यस्तो अवस्थामा साह्रै नै जबर्जस्ती गरेपछि मंगलबार अबेर राति हामी भक्तपुरको इमर्जेन्सीबाट निस्केर आयौं। हिँड्ने बेला त्यहाँका डाक्टरहरूले ‘पैसा जम्मा भएपछि आउनुस्। हामी फेरि डाइलाइसिसको निम्ति प्रक्रिया सुरु गरिदिन्छौं’ भन्नुभएको थियो।

यसरी सरकारी अस्पतालहरुले नै जबर्जस्ती बेडबाटै निकालेपछि म गौशालास्थित धर्मशालामा आएर बसिरहेको छु। घरबाट ल्याएको सबै पैसा सकिएको छ। यो धर्मशालालाई तिर्ने पैसाको पनि समस्या हुने अवस्था छ। के गर्ने र कसो गर्ने भन्ने कुराको कुनै निर्णय लिन नसक्दा अलमलमै बाँच्नुपरेको छ।

मजस्तो दुवै मिर्गौला फेल भएका बिरामीको डाइलाइसिस निःशुल्क हुन्छ भनेर स्वास्थ्यमन्त्रीले घोषणा नगरिदिनुभएको भए पनि मलाई आइपर्ने परिस्थिति बेहोर्न त्यति गाह्रो हुँदैन थियो होला। तर, डाइलाइसिस गर्न राखिसकेपछि पैसा नभएको जानकारी दिनासाथ बेडबाटै निकाल्ने प्रवृत्ति रहेछ। यस्तोमा मेरो निम्ति बोलिदिने कोही नभएकैले हेपिनुपरेको पो हो कि भन्ने भान भएर मलाई अझ पीडा थपिएको छ। किनभने, ती सरकारी अस्पतालमा मजस्तै अन्य बिरामीहरूको हेरचाह राम्ररी भइरहेको देखेको थिएँ। आफूमाथि भएको यस्तो दुव्र्यवहारपूर्ण घटनाले मलाई विक्षिप्त बनाएको छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.