सुन्दरताको परख गर्नेले बुनेको सलहेश फूलको कथा

सहलेशको फूल। तस्बिर सौजन्यः राम नारायण पण्डित


उर्दुमा एउटा शायरी छः
हजारों साल नर्गिस अपनी बेनूरी पे रोती है
बडी मुश्किल से होता है चमन में दीदावर पैदा।
अर्थात्, गुनकेशरी फूल हजारौं वर्ष आफ्नो कुरुपतामा रुन्छे, धेरै मुस्किलले मात्र बगैंचामा कोही आउँछन्, उसको सुन्दरता देख्ने।
सिरहामा वैशाख १ गते फुल्ने भनिएको सलहेश फूलसम्बन्धी कुराकानीको सुरुआत वनस्पतिविद् तीर्थबहादुर श्रेष्ठले यही शायरीबाट गरे।
‘फूलको महत्व तब हुन्छ, जब कसैले त्यसको प्रशंसा गर्छ, वा त्यसको सुन्दरतामा मोहित हुन्छ,’ उनले भने, ‘नत्र त हरेक फूल गुनकेशरीजस्तै हुन्छन्। त्यसैले भनिन्छ, गुनकेशरी फूलले आफ्नो प्रशंसा आफैं गर्छे।’
श्रेष्ठको आसय के भने, फूलको सुन्दरता र महत्व हेर्नेका नजरमा भर पर्छ। सुन्दरताको परख गर्न नजान्नेका आँगनमा जतिसुकै सुन्दर फूल फुले पनि त्यसको बासना खेर जान्छ।
यस अर्थमा, सिरहाबासीले सलहेशको सुन्दरता परख मात्र गरेनन्, सुनगाभा प्रजातिको यो फूललाई किम्बदन्तीसँग जोडेर ‘रहस्यमय’ पनि बनाइदिए। सायद त्यही भएर, सलहेश फूल हेर्न नेपाल मात्र होइन, भारतबाट समेत भीड लाग्छ।
किम्बदन्तीअनुसार यो फूल मिथिलाको महिषचौंथाका राजा सलहेश र उनको प्रेमकथासँग जोडिएको छ।
यो प्रेमकथा छैठौं शताब्दीतिरको हो। राजा सलहेशको विवाह सीमावर्ती भारतको मधुवनीका बलाठकी छोरी सामैरसँग भएको थियो। पकडियागढका तत्कालीन राजा कुलेश्वरकी छोरी चन्द्रवती पनि सलहेशलाई मन पराउँथिन्। उनले सलहेशलाई प्रेम प्रस्ताव राखिन्। तर, सामैरलाई अत्यन्तै माया गर्ने सलहेशले चन्द्रवतीको प्रेम प्रस्ताव अस्वीकार गरे। यही क्रोधमा चन्द्रवतीले आफ्ना पिता राजा कुलेश्वरलाई भनेर उनलाई थुन्न लगाइन्। आफ्ना पति थुनामा रहेको खबर पाएपछि सामैर पकडियागढ पुगिन्। र, साथी कुसुमा मालिनीको सहयोगमा सलहेशलाई थुनामुक्त गराइन्।
यता, कुसुमा मालिनीले पनि सलहेशलाई औधि मन पराउन थालिन्। तर, आफ्नै साथीका पतिलाई उनले आफ्नो बनाउन पाइनन्। यही वियोगमा उनले प्रत्येक वर्ष सलहेशको प्रतीक्षामा वैशाखको पहिलो दिन हारमको रूखमा देखा पर्ने प्रण गरिन्।
राजा सलहेश नयाँ वर्षकै दिन कुस्ती खेल्न जनकपुर जान्थे। कुस्तीको दंगलबाट आफ्नो दरबार फर्किनुअघि माणिकदहमा नुहाउँथे। नुहाएपछि दुर्गा देवीको पूजा गर्न मन्दिर जान्थे। त्यही बेला उनको स्वागतको निम्ति बगैंचाको हारमको रूखमा फूल फुलिरहेको हुन्थ्यो।
भनिन्छ, सलहेस फूल टिप्न जाँदा कुसुमा मालिनी त्यहीँ बोटको छेवैमा उभिइरहेकी हुन्थिन्। उनी आफ्नै हातले फूल टिपेर सलहेशको हातमा मालाजसरी फुर्रर खसालिदिन्थन्। र, सलहेश त्यही फूल दुर्गा देवीका पाउका चढाउँथे।
पूर्व–पश्चिम राजमार्गको लहान बजारदेखि पश्चिम सलहेश फूलबारीभित्र हारमको रूखमा फुल्ने यो फूल अहिले पनि मालाजस्तै छ। जुन रूखमा यो फुल्छ, त्यसैको आडमा कुसुमा मालिनीको मन्दिर छ। वैशाख १ गतेको दिन यहाँ कुसुमा मालिनी फूलको माला उनेर सलहेशको प्रतीक्षामा रहने गरेको जनविश्वास छ।
यो त भयो किम्बदन्तीको कुरा। यसपछाडिको विज्ञान के त? के कुनै फूल वर्षको एकदिन मात्र फुल्छ?
हामीले यही प्रश्न वनस्पतिविद् श्रेष्ठलाई सोध्यौं।
उनले अल्लामा इकबालले लेखेको माथिको उर्दु सायरी सुनाए। र, भने, ‘यो फूल नेपालका अन्य ठाउँ, भारतको सिक्किम, आसाम र भुटानमा समेत फुल्छ। तर, सिरहाका जनताले यसको सुन्दरताको परख गरे। ऐतिहासिक पात्रसँग जोडेर यसको महत्व बढाइदिए।’
कुनै पनि चिजको महत्व त्यतिखेर बढ्छ, जब त्यो कुनै कथासँग जोडिन्छ। सुनगाभा प्रजातिको यो फूल पनि राजा सलहेशको प्रेमकथासँग जोडियो। र, नामै रहन गयो, सलहेश फूल। यस्तै फूल फुल्ने अरूतिरका मान्छेले फूलसँग कथा बुन्न सकेनन्। ती ओझल परे।
श्रेष्ठका अनुसार नेपालमा अर्किड (सुनगाभा) प्रजातिका १ सय ६० भन्दा बढी फूल फुल्छन्। सलहेश त्यसैमध्ये एक हो। यो फूलको वैज्ञानिक नाम ‘डेन्ड्रोबियम अफिलम’ हो। प्याजी रङको यो फूल सुनगाभा प्रजातिकै अरूभन्दा किन भिन्न छ भने, जब यो फुल्छ, यसका लहरामा एउटै पात बाँकी रहँदैन। एउटै पात नराखी एकैचोटि फुल्दा मालाजस्तो झुरुप्प देखिन्छ।
दोस्रो विशेषता, यो फूल माटोमा उम्रिँदैन। बरु अरू रूखको बुइँ चढेर उम्रिन्छ। यसका जराहरूलाई पोषण तत्व प्राप्त गर्न माटोभित्र फैलिनुपर्ने दरकार छैन। यसले हावाबाटै पोषण प्राप्त गर्न सक्छ।
तेस्रो विशेषता, यो फूल सबै एकैचोटि फुल्छ र एकैचोटि ओइलाउँछ।
यी तीन विशेषताले यो फूललाई अरूभन्दा पृथक र सुन्दर बनाउने श्रेष्ठ बताउँछन्। उनका अनुसार अरू रूख (हारम) माथि चढेर लहराजस्तो एकैचोटि झुरुप्प फक्रने हुँदा यो मालाजस्तो तल लत्रिन्छ। र, सिजनमा अत्यन्तै सुन्दर देखिन्छ।
यसको सिजन भनेको चैत अन्तिमदेखि वैशाख पहिलो सातासम्म हो। वैशाख १ मै फुलेर त्यसै दिन ओइलाउँछ भन्ने वैज्ञानिक आधार नभए पनि यो सुनगाभा प्रजातिका अन्य फूलको तुलनामा सबभन्दा कम समय फुल्ने श्रेष्ठ बताउँछन्। ‘यसको आयु दुई साताभन्दा बढी हुँदैन,’ उनले भने, ‘यसबीच वैशाख १ गते बीचमा पर्ने हुँदा सबभन्दा राम्ररी फक्रने समय हो।’
‘दुई साताको कम समयमै पातहरू हराएर फूल फक्रने र ओइलाउने प्रक्रिया सकिन्छ। वैशाख १ गते भनेको सबभन्दा उत्कर्ष हो,’ श्रेष्ठले भने।
श्रेष्ठ सिराहाको फूलले चर्चा पाउनुको अर्को पनि कारण रहेको बताउँछन्।
‘मध्यजंगलमा कति सुन्दर फूल फुलेका होलान्, तर त्यसको सुन्दरताको परख गर्ने कोही नभएपछि त्यसको के महत्व? यो फूल पनि बीच जंगलमा फुलेको भए यसको न कथा हुन्थ्यो, न यसको सुन्दरताको तारिफ गर्दै हामी यसरी कुराकानी गरिरहेका हुने थियौं,’ श्रेष्ठले भने, ‘यो मान्छेहरूको बस्तीको बीचमा फुल्यो, इतिहास र सभ्यतासँग जोडियो, सबैले चासो देखाए र झन्झन् यसको संरक्षण हुन थाल्यो।’
यति हुँदाहुँदै पनि वैशाख १ गते मात्र फुल्छ भनेर किन भनिएको होला त?
यसमा श्रेष्ठको भनाइ प्रस्ट छ– दिन हेरेर बिहान फुल्नु र बेलुका ओइलाउनु भनेको प्रकृतिको नियमविपरीत हुन्छ। यसो भन्दाभन्दै हामीले के बुझ्नुपर्छ भने, हरेक कुराको एउटा साइत हुन्छ। लगभग पन्ध्र दिनको बीचमा फक्रने र ओइलाउने यो फूल हेर्नलाई पनि मान्छेले वैशाख १ गतेको साइत जुराए। समयक्रममा त्यही साइत कथा बन्यो।
त्यसैले, ठूलो कुरा यो कहिले फुल्छ भन्ने होइन, ठूलो कुरा त सिरहाका जनताले एउटा फूललाई यतिसम्म महत्व दिए, यसलाई आफ्नो जीवनसँग जोडे, आफ्नो संस्कृतिसँग जोडे, र आफ्नो सभ्यताको परिचय बनाए।
त्यसैले त, वनस्पतिविद् श्रेष्ठ उर्दुको शायरी सुनाउँदै भन्छन्, ‘सुन्दरता तबसम्म सुन्दर हुँदैन, जबसम्म त्यसले सुन्दरताको परख गर्न जान्ने सुन्दर आँखा भेट्दैन।’
हजारों साल नर्गिस अपनी बेनूरी पे रोती है
बडी मुश्किल से होता है चमन में दीदावर पैदा।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.