नेपाली यात्रुलाई ‘विभेद’ गर्ने फ्लाई दुबईसँग बयान

नेपाली यात्रुलाई ‘विभेद’ गर्ने फ्लाई दुबईसँग बयान

यात्रुको विवरण र होटलको बिल छानबिन


नेपाली यात्रुमाथि ‘विभेद’ गरेको आरोप लागेको ‘फ्लाई दुबई’ एयरलाइन्सका स्थानीय प्रतिनिधिहरूसँग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रशासनले सोमबार बयान लिएको छ।
‘फ्लाई दुबईका आवासीय प्रबन्धक तथा अन्य पदाधिकारीलाई विमानस्थलमै डाकेर बयान लिएका छौं,’ विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले सेतोपाटीसँग भने, ‘आवासीय प्रबन्धकले आफ्नो बयान लिखित रूपमै पेस गरेका छन्।’
चैत १९ गते काठमाडौंमा फ्लाई दुबईको उडान स्थगनपछि विदेशीहरूलाई पाँचतारे होटलमा राखिएको तर नेपाली नागरिकलाई सामान्य होटल र त्यसमाथि एउटै कोठामा पाँच–छ जनालाई राखेर विभेद गरिएको आरोपमा सरकारले छानबिन थालेको हो।
छानबिन क्रममा त्यस दिनको उडानमा रहेका यात्रुको सम्पूर्ण विवरण र ती यात्रुलाई राखिएको होटलको बिलसमेत मगाएर अध्ययन भइरहेको ठाकुरले जानकारी दिए।
‘हामी यात्रुको विवरण र होटलका बिलहरू केलाउँदै छौं, इकोनोमी क्लासमा यात्रा गर्ने विदेशी नागरिकलाई पाँचतारे होटलमा राखेर नेपालीलाई सामान्य होटलमा राखिएको रहेछ भने विभेद गरिएको प्रस्ट हुन्छ,’ ठाकुरले भने, ‘यी सबैका आधारमा प्रतिवेदन तयार पारेर भोलि (मंगलबार) सम्म नागरिक उड्डयन प्राधिकरणलाई बुझाउनेछौं।’
बयान क्रममा फ्लाई दुबईका प्रतिनिधिले भने नेपाली यात्रुलाई नियतवश विभेद गरेको अस्वीकार गरेका छन्।
‘हामीले जानाजान विभेद गरेका छैनौं,’ फ्लाई दुबईका आवासीय प्रबन्धकको भनाइ उद्धृत गर्दै ठाकुरले भने, ‘आपतकालीन अवस्थामा यताउता भएको होला, नेपाली यात्रुलाई नियतवश नै भेदभाव गर्ने भन्ने हुनै सक्दैन।’
सेतोपाटीमा प्रकाशित इटालियन नागरिक रिकार्डो बोल्जानले लेखेको ब्लगमा नेपाली मूलका यात्रुमाथि उक्त एयरलाइन्सले भेदभाव गरेको आरोप लगाइएपछि सरकारले छानबिन थालेको हो।
‘नेपाली नागरिकमाथि फ्लाई दुबईको कत्रो अत्याचार’ शीर्षकमा सेतोपाटीमा प्रकाशित लेखप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै मुख्यसचिव सोमलाल सुवेदीले यथाशिघ्र छानबिन गरी दोषीलाई कारबाही गरेर जानकारी दिन शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएका थिए।
उक्त ब्लगमा रिकार्डोले आफूसहित ५० जनाजति विदेशी नागरिकलाई पाँचतारे सोल्टी क्राउन प्लाजामा राखिएको तर त्यहाँ कोही नेपाली यात्रु नदेखेको उल्लेख गरेका थिए।
नेपाली नागरिकमाथि त्यस किसिमको अवहेलना र अत्याचार गरेको पुष्टि भए नेपालमा उडान नै बन्द गर्नेसम्मको कारबाही हुनसक्ने ठाकुरले बताए। नियतवश विभेद गरिएको नदेखिए चेतावनी र क्षतिपूर्तिसम्म हुनसक्ने उनको भनाइ छ। अन्तर्राष्ट्रिय उड्डयन क्षेत्रमा कुनै पनि वायुसेवालाई यस किसिमको चेतावनी दिनु पनि गम्भीर मानिन्छ।
नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक सन्जिव गौतमले भने नागरिक उड्डयनसम्बन्धी अन्तर्राष्ट्रिय व्यवस्था र नेपालको कानुन मिचेर कुनै पनि हवाई सेवाप्रदायकलाई काम गर्न नदिने बताएका छन्। ‘ब्लगमा उल्लिखित आरोप सही भए नेपालीमाथिको अत्याचार कसैगरी सैह्य हुँदैन,’ उनले सेतोपाटीसँग भने।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.