बम्जनलाई राज्यले नजिकबाट नियाल्नुपर्छ

-शृंखला ३


संसारमा प्रकृतिका तीनवटा कुरा छन् – हामीले जानेका, नजानेका वा जान्न बाँकी र अज्ञेय, अर्थात् हामी साधारण मानिसले कहिल्यै बुझ्न नसक्ने।

एघार वर्षअघि बाराको जंगलमा बसेर सानै उमेरमा ध्यान र तपस्या सुरु गरेका रामबहादुर बम्जनबारे पनि धेरै रहस्य बाँकी छन्।

भर्खरै राजधानीमा सम्पन्न दुई साता लामो विश्व शान्ति मैत्री पूजाका लागि बम्जन काठमाडौं अाएपछि यो रहस्यलाई हामीले केही हदसम्म पछ्याउने कोशिस गर्यौं।

पछिल्ला वर्ष बम्जनबारे नेपाली मिडियामा अत्यन्त कम लेखिएको छ। जति लेखिएको छ, त्यो छिपछिपे मात्रै छ। बरु विदेशी मिडियामा श्रव्य, दृश्य र छापाका माध्यमबाट उनीबारे केही कुरा बाहिर आएका छन्। तर, आमनेपाली र विदेशीमा बम्जनबारे जति कौतूहल छ, उनका समर्थक र अनुयायी पछिल्ला वर्ष जुन रफ्तारमा बढेका छन्, त्यसको अनुपातमा उनीबारे निकै कम मात्र खोजिएको, लेखिएको वा भनिएको छ।

ललितपुरको चुन्निखेलमा लगभग दुई साता जारी पूजामा प्रत्येक दिन हजारौं मानिस ‘गुरु’ भनिने बम्जनको आशिर्वाद थाप्न घन्टौं लाम बसे। अाठ घन्टासम्म लाम बस्ने मानिस पनि भेटिए। धेरै दिन त आशिर्वाद लिने कार्यक्रम मध्यरातसम्मै चल्यो।

हामीले लगभग एक साता बम्जनबारे ‘खुला तर आलोचनात्मक’ चेतका साथ बुझ्न र जान्न खोज्यौं। पूजा स्थल चुन्निखेल र बम्जन अस्थायी रुपमा बसेको भैंसेपाटीस्थित घरमा तीनपटक पुग्यौं। उनका लगभग एक दर्जन अनुयायी र सहयोगीलाई भेट्यौं। बम्जन स्वयंले भने हामीसँग भेट्न मानेनन्।

बम्जनबारे सेतोपाटीले लेख्दै अाएको शृंखलाको अन्तिम भागमा अाज हामी राज्यले किन उनका गतिविधिलाई नजिकबाट हेर्नुपर्छ, किन उनी र उनका सहयोगी तथा अनुयायीलाई ‘इन्गेज’ गर्नुपर्छ भनेर लेख्नेछौं।

बम्जनका अनुयायी उनलाई शास्वत परमात्माको रुप मान्छन्। उनी बुद्धभन्दा माथि हुन् भन्छन्। यी दाबीबारे हामीले विस्तृतमा यो शृंखलाको भाग-१ र भाग-२ मा लेखिसकेका छौं।

बम्जनको ध्यान र तपस्या कुन तहमा पुगेको छ, हामीलाई थाहा छैन। बाराको हलखोरिया जंगलमा उनले कति लामो समय र कति निरन्तर रुपमा ध्यान र तपस्या गरे, त्यो पनि यकिन छैन। उनका अनुयायी उनले निरन्तर छ वर्ष ध्यान गरेको दाबी गर्छन्। त्यो दाबी सही वा गलत पुष्टि गर्ने आधार कसैले अघि सारेको छैन। अन्तर्राष्ट्रिय डिस्कभरी च्यानलले दुईपटक गरेर उनले ध्यान गरेको दृश्य खिचेको थियो। बम्जन ध्यान बस्न सुरु गरेको करिब ११ महिनापछि सन् २००६ मा उक्त च्यानलले पहिलोपटक उनले ध्यान गरेको लगातार ७२ घन्टा र दोस्रोपटक लगातार ९६ घन्टाको दृश्य खिचेको जनाएको छ।

एकै ठाउँ बसेर लगातार ९६ घन्टा अर्थात् चार दिनसम्म ध्यानमा लिन हुनु साधारण कुरा हैन। त्यसका लागि ठूलो अनुशासन र निष्ठा चाहिन्छ। उनका अनुयायीले दाबी गरेजस्तो उनी लगातार महिनौं वा वर्षौं ध्यान बसेका हुन् भने, त्यो त झनै असाधारण कुरा भयो।

बम्जनका निकट सहयोगी पूर्व स्वास्थ्य राज्यमन्त्री मणि लामा आफ्ना गुरुको ध्यान अहिले पनि दैनिक रुपमा जारी रहेको बताउँछन्। ‘राति अबेरसम्म गुरु ध्यानमै बस्नुहुन्छ, बिहान पनि ध्यान गर्नुहुन्छ,’ उनले भने।

बम्जनसँग चौबीसै घन्टा कोही सँगै बस्दैन। त्यही भएर उनको दैनिकी हामीलाई कसैले यकिनसाथ बताउन सकेनन्।

उनका अनुयायीले दाबी गरेजस्तो बम्जनले ध्यान र तपस्याबाट असाधारण शक्ति प्राप्त गरेका रहेछन् भने उनी मुलक र समाजका लागि सकारात्मक शक्तिका रुपमा रहने भए। त्यस्तो शक्ति हाम्रा लागि अज्ञेय रहे पनि सधैं मुलुकको हितमा हुने भयो।

तर, अनुयायीले दाबी गरेजस्तो बम्जन असाधारण र अलौकिक शक्ति हैनन्, केवल फरक प्रतिभाका असाधारण मानिस हुन् भने यहाँ दुईवटा महत्वपूर्ण प्रश्न उठ्छन् – के बम्जन सधैं शान्तिपूर्ण र ध्यानको मार्गमा अघि बढ्नेछन् वा संसारमा देखिएका यस्तै प्रकृतिका कैयन समूहजस्तै अन्तत: अशान्तिको बाटोमा हिँड्ने छन्?

यी दुई सम्भावित बाटोलाई ध्यानमा राखेर हामीले बम्जन र उनका अनुयायीलाई राज्यले नजिकबाट नियाल्नुपर्छ, ‘इन्गेज’ गर्नुपर्छ भनेका हौं। बम्जनको बाटो शान्तिपूर्ण वा अन्तत: अशान्तिपूर्ण जे भए पनि उनीसँग राज्यको ‘इन्गेजमेन्ट’ जरुरी छ।

पहिले शान्तिपूर्ण बाटोकै कुरा गरौं। अाशा गरौं, उनी सधैं शान्तिपूर्ण रुपमा ध्यानकै मार्गमा अघि बढ्नेछन्।

अनुयायीहरुका अनुसार बम्जनको अबको महत्वपूर्ण काम र लक्ष्य भनेको तराईमा एउटा ध्यान केन्द्र स्थापना गर्ने हो। त्यसका लागि ६० बिघा जग्गा खरिद गर्न उनले अाफ्ना अनुयायीलाई निर्देशन दिइसकेका छन्।

लामाका अनुसार उक्त ठाउँ लगभग पहिचान भैसकेको छ। ‘हामी राजमार्ग वरिपरि धनुषा-महोत्तरी जिल्लाको अासपास जग्गा किन्ने प्रक्रियामा पुगिसकेका छौं,’ लामाले भने, ‘गुरुले बोधी श्रवण धर्म संघको अन्तिम विश्व ध्यान केन्द्र अाफूले तपस्या गरेको बारा जिल्लाको हलखोरिया जंगलमै स्थापना हुने बताउनुभएको छ। सरकार अाफैं त्यो जग्गा दिन आउँछ भन्नुभएको छ। त्यो वन क्षेत्र प्राप्त नहुञ्जेल ध्यान केन्द्रका लागि वैकल्पिक व्यवस्था गर्न लागेका हौं।’

संसारभर यी ‘गुरु’ प्रति जति चासो देखिएको छ, जति बोधी श्रवण धर्म संघका शाखा खुलेका छन्, जति अार्थिक सहयोगको आश्वासन आएको छ, त्यसका आधारमा भन्दा यो ध्यान केन्द्र ठूलो हुने सम्भावना छ। बम्जन पनि सम्भवत: यही ध्यान केन्द्रमा बस्नेछन्। त्यो आफैंमा ठूलो अाकर्षण हुनेछ।

पश्चिमा जगतमा बाराको जंगलमा तपस्या गरिरहेका बम्जनलाई मिडियाले त्यही बेलादेखि ‘लिटिल बुद्ध ब्वाई’ भनेर प्रचारप्रसार गरे। बम्जनमाथि विश्व प्रसिद्ध डिस्कभरी च्यानलको ४५ मिनट लामो डकुमेन्ट्रीको शीर्षक नै ‘द ब्वाई विथ डिभाइन पावर्स’ छ।

बम्जनका अनुयायीले उनको ज्ञान बुद्धभन्दा माथि रहेको दाबी गरेका छन्। सिद्धार्थ गौतम ध्यानमार्फत् सम्बुद्ध अवस्थासम्म पुगेका तर बम्जन भने महासम्बोधी अवस्थामा पुगेको उनीहरुको दाबी छ। कतिले त उनी सुखपति भवन छाडेर जगतको कल्याणका लागि पृथ्वीमा आएकोसम्म दाबी गरेका छन्। महायान बुद्ध धर्मावलम्बीहरु सुखपति भवन स्वर्गमा रहेको विश्वास गर्छन्। सुखैसुख मात्र हुने सुखपति भवनमा अमिताभ बुद्ध बस्ने उनीहरुको विश्वास छ।

बम्जनको ध्यान, उनको प्रचारप्रसार, उनीबारेका मिथ वा अहिलेसम्मका तथ्य सबैले उनलाई बुद्ध धर्मसँग जोडेको छ। त्यसैले पनि उनले तराईमा स्थापना गर्ने ध्यान केन्द्रले संसारभर ठूलो चासो जन्माउने छ। उनले स्थापना गर्ने ध्यान केन्द्र पर्यटन र तीर्थाटन केन्द्र हुनसक्छ। बुद्ध धर्म र लुम्बिनीका कारण पनि विश्वप्रसिद्ध नेपालमा बम्जनको नामसँग जोडिने त्यस्तो केन्द्रको ठूलो सम्भावना छ।

शान्तिपूर्ण रुपमा ध्यानमार्गमा हिँडुञ्जेल उनी कत्तिको असाधारण वा साधारण तपस्वी हुन्, कत्तिको गम्भीर साधक हुन्, उनी भगवान हुन् वा मानिस हुन्, यी प्रश्नले त्यति अर्थ राख्दैनन्। हामीले नेपालका गुम्बामा बस्ने ठूल्ठूला गुरु वा आश्रममा बस्ने बाबाहरुको अाधिकारिकताको सोधखोज कहाँ गरेका छौं र! भारतमा ‘ठूल्ठूला’ योगी वा गुरुहरुको अाधिकारिकता कसले खोजेको छ र? तीमध्ये कतिपय गुरु लामो समयदेखि सम्मानित छन् भने कतिपयको समयक्रममा विवादित बनेर पतन भएको छ।

बम्जनले स्थापना गर्ने ध्यान केन्द्र पर्यटन र तीर्थाटनको शान्तिपूर्ण संगमका रुपमा विकास हुन थाल्यो भने राज्यले पनि त्यसमा संलग्न हुने, त्यसको विकासमा सहयोगीको भूमिका खेल्ने गर्नुपर्छ।

तर, बम्जनले अाफूलाई सधैं ध्यान, तपस्या र शान्तिपूर्ण गतिविधिमा सीमित राख्छन् वा कुनै विशेष परिस्थिति वा कारणवश अर्को बाटो समात्छन्? यो पनि उत्तिकै महत्वपूर्ण प्रश्न हो। यस्ता समूह अन्तत: ‘कल्ट’ का रुपमा विकसित भएर हिंसात्मक गतिविधिमा संलग्न भएका उदाहरण संसारमा धेरै छन्। बम्जनको पनि ध्यान, तपस्या र अन्य शान्तिपूर्ण गतिविधि छाडेर एउटा ‘कल्ट’ का रुपमा विकास हुन्छ कि भनेर राज्यले चनाखो भएर हेर्नुपर्छ।

बम्जनले अहिलेसम्म शान्तिपूर्ण बाटो मात्र समातेका छैनन्, मानिस‍-मानिसबीच मैत्री, सद्भाव र सदाचारमा पनि जोड दिएका छन्। सबैसँग राम्रो बोल, नम्र बन, एकअर्काप्रति प्रेम देखाऊ, कसैलाई भेदभाव नगर- उनका सन्देश यस्तै रहने गरेका छन्। सँगसँगै, उनले अाफूलाई परमात्मा ठान्ने, संसारको दु:ख हरण गर्न अाफू संसारमा अाएको पनि बताउने गरेका छन्। अब संसारलाई एक गर्ने, संसारमा एउटै मैत्री धर्म, मैत्री भाषा, मैत्री संस्कृति चलाउने उनको योजना छ।

बम्जन असाधारण र अलौकिक शक्ति हैनन् भने प्रस्ट छ, उनी असाधारण भ्रम (डिल्युजन) मा छन्। त्यस अर्थमा उनी गुम्बा वा आश्रमका अरु गुरुहरुभन्दा फरक छन्। देश र विदेशमा लगातार बढ्दै गरेका उनका अनुयायीको अाफूमाथिको नि:शर्त विश्वासका कारण बम्जनको यो ‘भ्रम’ झनै बढ्नेछ।

हामी उनलाई भेट्न भैंसेपाटीस्थित उनको अस्थायी निवास पुग्दा त्यहाँ करिब दुई सय विदेशी अनुयायी उपस्थित थिए। बम्जनमाथि उनीहरुको विश्वास नेपाली अनुयायीहरुको भन्दा गाढा देखिन्थ्यो।

सु सिआओ हु अमेरिकामा जन्मेकी, चीनमा हुर्केकी र ताइवानमा पेन्टिङको इतिहास पढाउने प्राध्यापक हुन्। उनले कुन पेन्टिङ कसरी सक्कली हुन् र कुन नक्कली हुन् भन्ने पढाउँछिन्। ८३ वर्षीया सुले हामीसँग बम्जन आफ्नो दिमागमा सन् १९६८ मै आएको बताइन्। त्यतिबेला खाना र पानी नखाइकन बाँच्न सकिन्छ कि सकिन्न भन्ने प्रश्नले अाफ्नो दिमाग हल्लिएको सम्झँदै उनले भनिन्, ‘मैले खाना नखाइकन बाँच्ने कोशिस गरे पनि त्यो असफल भयो।’

‘खानाकी सोखिन मैले बिनाअाहारको जीवन बाँच्न सकिनँ,’ सुले भनिन्, ‘जब सन् २००५ मा गुरुले खाना र पानी केही नखाइकन तपस्या गरिरहेको इन्टरनेटमार्फत् थाहा पाएँ, म चकित परेँ।’

सन् २०१२ मा उनी नेपाल आइन्। हलखोरिया पुगेर बम्जनलाई देखिन्। पहिलो भेटमै उनले भनिन्, ‘गुरु, ४४ वर्षअघि नै मैले तपाईंलाई देखेकी थिएँ।’

सु त्यसपछि ‘गुरु’ का अनुयायी बनिन्। अहिले उनी प्रायः नेपालमै बस्छिन्। विश्व शान्ति पूजाका बेला छोरीलाई पनि बोलाएकी छन्।

बेलायती नागरिक माइकल लिउन सन् २००५ सम्म बेलायतमा एउटा स्पोर्ट सेन्टरमा काम गर्थे। अमेरिकी सेनामा जागिरे उनका बुवाको आमासँग पारपाचुके भएको थियो। उनी विस्तारै बौद्ध धर्मतर्फ तानिँदै थिए। बुद्धको चित्र पेन्टिङ गरेका थिए। सन् २००६ मा उनले डिस्कभरी च्यानलमा बम्जनलाई देखे।

‘बम्जनलाई देखेपछि मेरो दिमाग हल्लियो। म यसरी एकोहोरिन थालेँ, मेरी श्रीमतीले यसलाई पागलपन भन्न थालिन्,’ लिउनले भने, ‘अन्तत: मेरो श्रीमतीसँग पारपाचुके भयो र म नेपाल अाएँ।’

उनी पनि बम्जनका अनुयायी बनेर बसेका छन्। उनको अहिलेको पद महात्मा गुरु हो, र नाम झ्याम्पा दोर्जे हो।

भियतनामी मूलका अमेरिकी नागरिक टोनी ट्रन्गका कुरा त झनै तिलस्मी छन्। अमेरिकाको क्यालिफोर्नियामा बस्ने ६५ वर्षीय उनी अाफैं योग र ध्यान सिकाउँछन्। धेरै वर्ष पहिलेदेखि नै उनको मनमा बम्जनको तस्बिर आउँथ्यो रे। ‘एक वर्षदेखि त उहाँ मेरो घरको झ्यालसम्मै आउनुहुन्थ्यो, कहिले ठूलो चन्द्रमा बनेर त कहिले सानो चन्द्रमा बनेर,’ टोनीले भने, ‘तर मलाई थाहा थिएन, उहाँ साँच्चै नेपालमा हुनुहुन्छ भन्ने।’

छ महिनाअघि एक जना साथीले उनलाई बम्जनबारे जानकारी दिए। यसपालि राजधानीमा बम्जनको पूजा छ भनेपछि उनी काठमाडौं आए। चुन्निखेलमा उनले बम्जनको हातबाट आर्शिवाद थापे। ‘जब उहाँले मेरो टाउकोमा हात राख्नुभयो, मलाई उहाँ एकदमै शक्तिशाली ताराजस्तो लाग्यो,’ उनले भने।

यतिका धेरै पढेलेखेका विदेशीले भगवान् भनेर मानेपछि, विदेशी मिडियाले उनका बारे समाचार सामग्री छापेपछि, पूर्वप्रधानमन्त्री सुशील कोइरालाले बम्जनबाट खादा र आशिर्वाद ग्रहण गरेको देखेपछि उनका धेरै नेपाली समर्थक र अनुयायी ‘गुरु’ को ईश्वरीय शक्तिप्रति कुनै प्रश्न गर्न वा कसैले प्रश्न गरेको सुन्न तयार छैनन्।

यी सबै स्थितिको स्वयं बम्जनमाथि कस्तो प्रभाव परेको छ भन्ने मूल प्रश्न हो। उनी ईश्वरीय शक्ति हुन् भने त त्यसको कुनै असर नपर्ने भयो। तर, बम्जन अाफू साक्षात् परमात्मा भएको भ्रम (डिल्युजन) को सिकार भएका छन् भने त्यो असर झनै बढ्ने भयो।

बम्जनसँग जोडिएको सबैभन्दा गम्भीर पाटो यही हो।

भोलि संसारलाई विभेदबाट मुक्त गर्ने अाफ्नो मार्गमा राज्य वा अरु कसैलाई अवरोधका रुपमा देखे भने उनले कस्तो व्यवहार गर्लान्?

आफ्नो बाटोमा कोही अवरोध बनेर अायो भने त्यसलाई कानुनभन्दा बाहिर गएर पन्छाउने प्रवृत्ति बम्जन र उनका अनुयायीमा अहिले नै देखिन थालेको छ। यो प्रवृत्ति दीर्घकालमा खतराको रुपमा विकास हुन सक्छ।

बम्जनका एक अनुयायीका अनुसार बाराको जंगलमा सँगै बसेर ‘गलत’ काम गर्ने एक जनालाई गुरुले ‘आन्तरिक कारबाही’ गरेका छन्।

‘आन्तरिक कारबाहीपछि ऊ मर्नु न बाँच्नुको अवस्थामा त्यहीँ भौंतारिएको छ,’ उनले भने। उक्त ‘अान्तरिक कारबाही’ भौतिक रुपमा नभएर, ‘गुरु’ ले अाफ्नो अलौकिक शक्ति प्रयोग गरेर गरेको उनले दाबी गरे। उनका अनुसार बम्जनकी आफ्नै दिदी पनि उनको धेरै विरोध गरेपछि अान्तरिक कारबाहीमा परिन्।

‘पछि तड्पिएर उनी मरिन्,’ ती अनुयायीले भने।

‘गुरु’ ले अाफ्ना नजिकका चेलालाई मार्सल आर्टजस्तै शारीरिक व्यायाम सिकाउने गरेको पनि उनले बताए। ‘गुरु-चेला यति माथि माथि उफ्रिनुहुन्छ, हामी त छक्क पर्छौ,’ उनले भने।

पूर्व स्वास्थ्य राज्यमन्त्री मणि लामाले सुनाएको एउटा घटनाले बम्जनले राज्य र राज्यका नियम-कानुनलाई हेर्ने दृष्टिकोण झल्काउँछ।

उनका अनुसार बम्जनले गत कात्तिकमा अकस्मात् देश दर्शन गर्न जाने बताए। त्यसपछि गुरु र चेलाहरुका लागि चार-पाँचवटा गाडीको व्यवस्था भयो।

‘गुरुले सबैभन्दा अगाडिको गाडी मलाई हाँक्न भन्नुभयो,’ लामाले भने, ‘गुरुले गाडी एकदम चाँडो कुदाउन भन्नुभएको थियो। हामीले १००-१२० किलोमिटरको रफ्तारमा गाडी चलायौं।’

लामाका अनुसार कसैले रोके पनि गाडी नरोक्नू भन्ने बम्जनको अादेश थियो। ‘मान्छे नै मरे पनि नरोक्नू भन्नुभएको थियो गुरुले,’ उनले भने।

बाराबाट पोखरा, मुस्ताङ, मनाङ हुँदै देश दौडाहामा निस्केको गाडीको लस्कर बर्दिया पुग्यो।

लामाले बम्जनलाई भने, ‘गुरु, यहाँ त राजमार्गमा राष्ट्रिय निकुञ्ज पर्छ। सेनाको चेकिङ हुन्छ, गाडी रोक्नुपर्छ होला।’

‘गुरुको गाडी कहीँ रोक्नु पर्दैन, नरोकी लानू,’ लामाले बम्जनलाई उद्धृत गर्दै भने।

लामाका अनुसार रातिको समय थियो। इमर्जेन्सी बत्ति बाल्दै गाडीको लस्करले तीव्र गतिमा निकुञ्ज पार गर्यो।

‘हामी एक महिनाभन्दा धेरै समय देश घुम्यौं, कहीँ त्यसरी गाडी रोक्नु परेन। केही अप्रिय घटना पनि भएन,’ लामाले भने।

यो एउटै घटनाले बम्जनको राज्यप्रति दृष्टिकोण के छ, संसारको नियम-कानुनप्रति उनको सम्मान कस्तो छ भन्ने झल्काउँछ। मैले यो लोक र राज्यका कुनै कानुन मान्नुपर्दैन भन्ने यस्तो सोच बढ्दै गयो भने कुनै विशेष परिस्थितिमा बम्जन राज्यसँग ठोक्किने सम्भावना बढी नै हुन्छ।

यी सबै सम्भावना ध्यानमा राखेर राज्यले उनी र उनका चेला तथा अनुयायीलाई ‘इन्गेज’ गर्नुपर्छ। मर्त्यलोकमा ओर्लिएपछि ‘भगवान’ लाई पनि कानुन लाग्छ भनेर सम्झाउनुपर्छ, ताकि अाफ्ना सीमाको हेक्का उनलाई रहोस्।

समयमै राज्यले उनी र उनका सहयोगीलाई ‘इन्गेज’ गरेन भने पछि ढिलो हुन सक्छ। राज्यले ‘कल्ट’ हरुलाई ढिलो गरी नियन्रण गर्न खोज्दा अप्रिय घटना भएका प्रशस्त उदाहरण छन्।

‘इन्गेज’ गर्ने भनेको फेरि अहिले नै निगरानीमा राख्ने, नियन्त्रण गर्ने भनेको होइन। यसको अर्थ नजिकबाट नियाल्ने र कुरा गर्ने हो। बम्जन ‘फेनोमेना’ के हो, यो कसरी बढ्छ भनेर चासो राख्ने हो। बम्जनका बारेमा अहिले उत्तर कम र प्रश्न बढी छन्। राज्यले तिनै प्रश्नलाई पछ्याउने हो।

राजधानीमा बम्जनको शान्ति पूजाको तामझाम – शृंखला १

बम्जनको मैत्री धर्म के हो, उनी प्रवचनमा के भन्छन्?- शृंखला-२ 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.