जंगलबाट ल्याएको च्याउ खाएर पाल्पामा दुई जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार रम्भा गाउँपालिका–५ बस्ने ६६ वर्षीय बिनीमाया कामु मगर र ३५ वर्षीया बालकुमारी खाम्चा मगरको च्याउ खाएर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईका अनुसार उनीहरूले जेठ १ गते जंगलबाट ल्याएको च्याउ पकाएर खाएका थिए।
च्याउ खाएर सुतेका उनीहरूलाई भोलिपल्ट बिहानबाट वान्ता तथा झाडापखाला चलेपछि उपचारका लागि तानसेनस्थित मिसन अस्पताल लगिएको थियो।
गम्भीर बिरामी परेको अवस्थामा अस्पतालमा उपचार भइरहेकी बिनीमायाको जेठ ४ गते र बालकुमारीको जेठ ५ गते मृत्यु भएको प्रहरीले जनाएको छ।
उनीहरूसँगै च्याउ खाएकी ५० वर्षीया यममाया जर्घा मगरको युनाइटेड मिसन अस्पताल, तानसेनमा गम्भीर अवस्थामा उपचार भइरहेको छ।