जिल्ला शिक्षा विकास तथा समन्वय इकाईहरूले एसइई परीक्षाको मार्कस्लिप र उत्तरपुस्तिका बुझाइसकेका छन्।
बुधबार दिउँसोसम्म देशभरका सम्पूर्ण जिल्ला शिक्षा इकाईहरूले मार्कस्लिप र उत्तरपुस्तिका बुझाइसकेका छन्।
बाजुरा लगायत टाढा–टाढाका जिल्लाबाट मार्कस्लिप र उत्तरपुस्तिका आउन बाँकी थियो। ती पनि आज आइपुगेको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक टुकराज अधिकारीले जानकारी दिए।
‘सबै जिल्लाबाट मार्कस्लिप र उत्तरपुस्तिका आइपुगिसकेका छन्। साथै कम्प्युटरमा इन्ट्री गर्ने काम पनि करिब ७० प्रतिशत सक्किएको छ,’ उनले भने, ‘हामीले कार्ययोजना बनाएअनुसार नै नतिजा प्रकाशित गर्न तीव्र गतिमा काम गरिरहेका छौं।’
उनका अनुसार परीक्षा सकिएको दुई साता भइसकेको छ। चैत १९ देखि २९ गतेसम्म एसइई परीक्षा भएको थियो। वैशाख ५ गतेसम्म ९५ प्रतिशतले मार्कस्लिप र उत्तरपुस्तिका बुझाइसकेका थिए। केही टाढा रहेका जिल्लाको हकमा भने ढिलाइ भएको थियो।
यसअघिका वर्षहरूमा यस अवधिमा भर्खर उत्तरपुस्तिका परीक्षण सुरू हुन्थ्यो र १०–१५ प्रतिशत मात्र कापी जाँचिसकिन्थ्यो। तर यस वर्ष भने सोही समयावधिमा उत्तरपुस्तिका जाँचसँगै ७० प्रतिशत तथ्यांक इन्ट्रीको कामसमेत सम्पन्न भएको नियन्त्रक अधिकारीले जानकारी दिए।
बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म कर्मचारीहरू तीव्र गतिमा काम गरिरहेको परीक्षा बोर्डका सूचना अधिकारी लक्ष्मी मरासिनीले जानकारी दिइन्।
‘एक महिनामै नतिजा सार्वजनिक गर्ने लक्ष्य राखिएकाले हामी छुट्टी नबसी काम गरिरहेका छौं,’ उनले भनिन्, ‘समयमै काम सक्न जनशक्ति पनि थप गरिएको छ।’