बिरामीलाई उपचार गरेको भिडिओ सामाजिक सञ्जालमा राखेपछि रुपन्देहीका एक चिकित्सकलाई नेपाल मेडिकल काउन्सिलले स्पष्टीकरण माग गरेको छ।
भैरहवाको सिद्धार्थनगर सिटी अस्पतालमा कार्यरत वरिष्ठ मुटु रोग विशेषज्ञ डा. सुधीर प्रसाद साहलाई काउन्सिलले सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न पत्र काटेको हो।
डा. शाहले आफ्नो नामको फेसबुक आइडी र टिकटक आइडीबाट बिरामीहरूको उपचार गरेको भिडिओ सार्वजनिक गर्दै आएका छन्। बिरामीहरूको उपचारको भिडिओ आफ्नो सामाजिक सञ्जालबाट सार्वजनिक गर्नु नेपाल मेडिकल काउन्सिलको नैतिकता र चिकित्सकको व्यवसायीक आचार संहिता विपरीत भएको काउन्सिलले जनाएको छ।
काउन्सिलका रजिस्ट्रार डा. सतिस कुमार देवले पठाएको पत्रमा डा. साहले सामाजिक सञ्जाल टिकटक मार्फत अप्रिल २०२५ देखि अप्रिल २०२६ को अवधिमा अपलोड गरेका विभिन्न भिडिओ सामग्रीहरूलाई नेपाल मेडिकल काउन्सिलबाट अनुगमन तथा अध्ययन गर्दा नेपाल मेडिकल काउन्सिलको कोर्ड अफ इथिक्स एन्ड प्रोफेसनल कन्डक्ट २०१७ उल्लंघन भएको प्रारम्भिक निष्कर्ष निकालिएको उल्लेख गरिएको छ
उक्त पत्रमा बिरामीहरूका भिडिओ सामग्रीहरू सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेर आचारसंहिताको उल्लंघन भएको भन्दै पत्र प्राप्त भएको मितिले सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न आग्रह गरिएको छ।
निर्धारित समयभित्र स्पष्टीकरण नआएमा प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने काउन्सिलले जनाएको छ।
उक्त पत्रमा काउन्सिलको आधिकारिक वेबसाइटमार्फत आचारसंहिता र निर्देशिका उपलब्ध रहेको पनि उल्लेख गरिएको छ।
डा. साहले भैरहवा तथा बुटवलका विभिन्न क्षेत्रमा बसेर टिकटकमार्फत बिरामीहरूको उपचार गरेका र स्वास्थ्यसम्बन्धी भिडिओ सामग्री नियमित रूपमा सार्वजनिक गर्दै आएका छन्।
