अनलाइनखबर र हिमालय टेलिभिजनको समूह सम्पादकमा उमेश चौहान नियुक्त भएका छन्।
चौहान शुक्रबार दुई सञ्चारगृहको समूह सम्पादकमा नियुक्त भएका हुन्।
पाँच वर्षसम्म कान्तिपुर दैनिकको सम्पादकीय नेतृत्व सम्हालेका चौहानले गत फागुन २९ गते राजीनामा दिएका थिए।
शुक्रबार अनलाइनखबर र हिमालय टेलिभिजनको समूह सम्पादकको जिम्मेवारी सम्हालेको चौहानले फेसबुकमार्फत जानकारी दिएका छन्।
यसअघि बेग्लाबेग्लै र स्वायत्त संस्थाका रूपमा सञ्चालनमा रहेको हिमालय टेलिभिजन र अनलाइनखबरले अबदेखि योजना, सामग्री र प्रस्तुती साझा गर्ने रणनीति अनुसार न्युजरूम कन्भर्जन (साझा सम्पादकीय) मोडल सुरू गरेको छ।
'त्यसको नेतृत्व गर्ने अवसर र विश्वासका लागि व्यवस्थापनलाई धन्यवाद ज्ञापन गर्दै यो जिम्मेवारी आफ्नो उच्चतम उर्जा र निष्ठाले पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्दछु,' चौहानले फेसबुकमा लेखेका छन्।
चौहानले विश्वव्यापी रूपमा पत्रकारिताका पाठक डिजिटल प्लेटफर्मतर्फ सर्दै गएको र डिजिटल माध्यममा अडियो–भिजुअल कन्टेन्ट अझ प्रभावशाली बन्दै गएको सन्दर्भमा अनलाइनखबर र हिमालय टेलिभिजनबीचको समन्वय महत्वपूर्ण उपक्रम रहेको बताएका छन्।
'र यसलाई हामी सबै सहकर्मी मिलेर सार्थक र सशक्त मञ्चमा परिणत गर्नेछौं,' उनले लेखेका छन्।