धनुषाको गणेशमान चारनाथ नगरपालिका–५ टोडकीटोलस्थित कमल खोलामा पौडी खेल्ने क्रममा बेपत्ता युवकको शव फेला परेको छ।
जनकपुरधाम उपमहानगरपालिका–६ बस्ने १८ वर्षीय महमद आयन कमडको शव फेला परेको हो।
चैत २८ गते पिकनिक गएका उनी कमल खोलामा पौडी खेल्ने क्रममा डुवेर बेपत्ता भएका थिए।
सशस्त्र प्रहरीको गोताखोरले आइतबार बिहान महमद आयनको शव फेला पारेको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश रघुनाथपुर र प्रहरी चौकी चिसापानीबाट खटिएको टोलीले खोजतलास गरेको थियो।
आयन फेला पार्न नसकेपछि आइतबार सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट गोताखोर तथा विपद् व्यवस्थापन तालिम प्राप्तसहितको टोलीले खोजी सुरू गरेको थियो।
गोताखोरले घटनास्थलबाट ४० मिटर तल ४० मिटर गहिराईबाटे शव निकालेको हो।