नवलपुरमा रहेको गजेन्द्रमोक्ष धामलाई पर्यटकीय गन्तव्यका रूपमा उजागर गर्न पोखराका महिला पर्यटन व्यवसायी सक्रिय भएका छन्।
विनयी त्रिवेणी नगरपालिका–६ मा अवस्थित यस धामलाई प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र ऐतिहासिक किंवदन्तीको त्रिवेणीका रूपमा स्थापित गरी पर्यटकको बसाइ लम्ब्याउन उनीहरू सक्रिय भएका हुन्।
महिला पर्यटन व्यवसायी मञ्ज (ओटेफ) का अध्यक्ष ममता न्यौपानेले पोखरा हुँदै मुक्तिनाथ जाने पर्यटकलाई गजेन्द्रमोक्ष धामसम्म पुर्याउन सके पर्यटकको बसाइ थप दुई दिन लम्ब्याउन सकिने बताइन्।
धार्मिक स्थलहरूका प्रवर्द्धन गरी पर्यटक आकर्षण गर्ने र उनीहरूको बसाइ लम्ब्याउन गजेन्द्रमोक्ष धामको प्राकृतिक सौन्दर्य, ऐतिहासिक किंवदन्ती र धार्मिक आस्थाको उजागर गर्नुपर्ने उनले बताइन्।
‘गजेन्द्रमोक्ष धाम र आसपासका धार्मिक क्षेत्र रामायणकालसँग जोडिएका छन्, यहाँको प्राकृतिक सोन्दर्य पनि बिछट्टै सुन्दर छ,’ उनले भनिन्, ‘यस ठाउँको सोन्दर्य र किंवदन्ती उजागर गर्न सके पर्यटकीय गन्तव्य बन्न सक्छ।’
गजेन्द्रमोक्ष धाममा नेपालबाट बहने नारायणी नदी, पूर्णभद्रा नदी र भारतबाट आउने स्वर्णभद्रा नदीको त्रिवेणी भएकाले यसलाई त्रिवेणीधामका रूपमा पनि चिनिन्छ।
नेपाल भारत सिमानामा रहेको यस ठाउँ नजिकै गण्डक ब्यारेजसमेत रहेकाले पर्यटकका लागि थप आकर्षण बन्न सक्ने अध्यक्ष न्यौपानेले बताइन्।
अष्टकोणात्मक प्यागोडा शैलीमा निर्मित शिशमहल, दक्षिण भारतीय शैलीको गजेन्द्रमोक्ष नारायण मन्दिर, र वैदिक कला–संस्कृतिको झल्को दिने संरचनाले यस क्षेत्रलाई थप आकर्षक बनाएको भन्दै न्यौपानेले यस धामको विकासका लागि बनेको ‘मास्टर प्लान’ पूर्ण रूपमा लागू गर्न तीनै तहका सरकारले सहयोग गर्नुपर्ने बताइन्।
गजेन्द्रमोक्ष धाम श्रीमद्भागवत लगायतका पुराणहरूमा वर्णित गजेन्द्र (हात्ती) र ग्राह (गोही) को संघर्षको कथा यही स्थलसँग जोडिएको मानिन्छ।
किंवदन्ती अनुसार, जलविहारका क्रममा गोहीले समातेपछि असहाय बनेका गजेन्द्रले अन्ततः भगवान नारायणको स्मरण गरे।
भक्तिको आह्वान सुनेर भगवान नारायण गरूडमा सवार भई आए र सुदर्शन चक्रद्वारा गोहीको बध गरी गजेन्द्रलाई मुक्ति दिलाए।
यही कारणले यो स्थान 'गजेन्द्रमोक्ष धाम' का रूपमा चिनिन थालेको गजेन्द्रमोक्षधाम क्षेत्र विकास समितिका अध्यक्ष स्वामी श्रीकृष्ण प्रपन्नाचार्यले बताए।
उनका अनुसार रामाणकालीन कथामा आधारित सीताको पाताल प्रवेश स्थल, महर्षि वाल्मिकी आश्रम, लव–कुशको जन्मभूमि, नागस्थान, केउलानी मन्दिर, रामजानकी मन्दिर लगायतका थुप्रै धार्मिक स्थलहरूले यस क्षेत्रलाई पौराणिक संग्रहालयका रूपमा रहेको छ।
धाम परिसरमा रहेको शिश महलभित्र राधा–कृष्णको युगल स्वरूपले भक्तजनलाई आकर्षित गर्छ। त्यहाँका ऐनामा देखिने अनेक प्रतिबिम्बहरूले दर्शनार्थीलाई अद्भूत अनुभूति गराउँछन्।
त्रिवेणीधामको पर्यटकीय सम्भावनाका विषयमा पोखराका महिला पर्यटन व्यवसायीले आयोजना गरेको अन्तर्क्रियामा सहभागीले पर्यटकीय सम्भावना हुँदाहुँदै पनि प्रवर्द्धनको अभाव देखिएको बताएका थिए।
उनीहरूले पोखराबाट बागलुङ कालिका, म्याग्दीको गलेश्वर हुँदै मुक्तिनाथ जाने पर्यटकलाई तनहुँको देवघाट हुँदै त्रिवेणीधामसम्म पुर्याएर धार्मिक पर्यटनको रूट बनाउन सकिने बताएका थिए।
कार्यक्रमका संयोजक मीरा पौडेलले यही रूटको प्रवर्द्धन गर्न संस्थाले प्रवर्द्धन अभियान चलाएको बताएकी थिइन्।
मुक्तिनाथ दर्शन गर्न आउने धार्मिक पर्यटकलाई गजेन्द्रमोक्ष धामका बारेमा पनि जानकारी गराउन निरन्तर प्रवर्द्धन आवश्यक रहेको बताइन्।
गजेन्द्रमोक्ष धाममा बाटो, आवास, धर्मशाला, स्नानगृह लगायतका सुविधा थप्नुपर्ने र अहिले निर्माण भइरहेका संरचना समयमै सक्नुपर्ने चुनौती रहेको क्षेत्र विकास समितिका अध्यक्ष स्वामी कृष्णले बताए।
यसका लागि तीनै तहका सरकारको सहयोग आवश्यक पर्ने भन्दै उनले भक्तजनले चढाएका दान दक्षिणा पनि यसै क्षेत्रको विकास र प्रवर्द्धनमा खर्च गर्ने गरेको जानकारी दिए।
ओटेफका सदस्य एवं गजेन्द्रमोक्ष धामका संस्थापक सदस्य मिना भट्टराईले गजेन्द्रमोक्ष धामलाई मुक्तिनाथ र पशुपतिनाथ जस्तै प्रसिद्ध बनाउन सकिने बताइन्।
यस धाम पौराणिक कालसँग जोडिएको र प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहेको भन्दै उनले पर्यटकको आकर्षणका रूपमा स्थापित गर्न सके नेपालकै पर्यटन प्रवर्द्धन हुन सक्ने उनले बताइन्।