सुर्खेतकी १६ वर्षीया बालिका इनिशा विकको बलात्कार र हत्या प्रकरणमा चारै जना अभियुक्तलाई पर्पक्षका लागि बालसुधार गृहमा पठाउन जिल्ला अदालतले मंगलबार आदेश दिएको छ।
जिल्ला न्यायाधीश दीपक ढकालको बाल इजलास नम्बर १ ले चारै जना किशोरलाई मुद्दाको अन्तिम किनारा नलाग्दासम्म बालसुधार गृहमा पठाउने आदेश दिएको अदालतका सूचना अधिकारी उज्वल रावलले बताए।
सोमबारदेखि सुरू भई मंगलबार अबेर सकिएको थुनछेक बहसपछि इनिशा विकमाथिको बलात्कार र हत्या प्रकरणमा अन्तिम फैसला नआउँदासम्म बाँकेको खजुरास्थित बालसुधार गृहमा पठाउन आदेश भएको हो।
साथै घटनामा संलग्नमध्ये मुख्य अभियुक्त ठानिएका प्रेमीबाहेक अन्य एसइई परीक्षामा सामेल हुने अवस्था रहेकाले त्यसको व्यवस्थापन गर्न र पीडितका अभिभावक लगायत अरूको सुरक्षाको प्रबन्ध गर्न पनि आदेश भएको छ।
ट्युसन पढ्न बिहानै निस्केकी इनिशा फागुन २३ गते बिहान वीरेन्द्रनगर नगरपालिका–१ स्थित जनजागरण सामुदायिक वनमा मृत अवस्थामा फेला परेकी थिइन्।
पोस्टमर्टम रिपोर्टले बलात्कारपछि यौनांगमा भित्री चोटपटक लागेको र त्यसका कारण अत्यधिक रक्तस्राव हुँदा इनिशाको मृत्यु भएको उल्लेख गरेको थियो।
यस घटनामा इनिशाका अभिभावकले चारै जनाविरूद्ध सामूहिक बलात्कार गरी हत्या गरेको भन्दै किटानी जाहेरी दिएका थिए।
सरकारी वकिल कार्यालयले पनि सोही अनुसार सामूहिक बलात्कारका कारण अत्यधिक रक्तस्राव भई मृत्यु भएको मागदाबीसहित अभियोगपत्र दर्ता गरेको थियो।
इनिशामाथि बलात्कार र हत्या आरोपमा पक्राउ परेका उनका प्रेमी भनिएका किशोरसहित चारै जना १८ वर्षभन्दा कम उमेरका छन्। उनीहरू सबै एकै विद्यालयमा पढ्छन्।
यो घटनाबारे चैत ११ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतले आफ्नो अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई पेस गरेको थियो। जसमा इनिशा विकमाथि भएको बलात्कार र हत्या घटना सामूहिक नभएको राय पेस गरिएको थियो। उक्त राय अनुसार इनिशा विकको बलात्कार र हत्या घटनामा एक जनाको मात्रै संलग्नता रहेको प्रहरीको निष्कर्ष थियो।
प्रहरीले बुझाएको प्रतिवेदनमा मुख्य अभियुक्तका प्रेमी भनिएका किशोरविरूद्ध जबरजस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी कसुरमा जन्मकैदको मागदाबी गरिएको थियो।
अन्य तीन जनाको हकमा ज्यान सम्बन्धी कसुरमा मुद्दा चलाउन माग प्रहरीले गरेको थियो।
जिल्ला प्रहरी प्रवक्ता मोहजंग बुढथापाका अनुसार इनिशाको शव अझै कर्णाली प्रदेश अस्पताल सुर्खेतमै छ।
यो घटनामा सरकारको तर्फबाट जिल्ला न्यायाधिवक्ता कर्णबहादुर महत, सहायक जिल्ला न्यायाधिवक्ता आरती चपाइँ र पुष्पा चालिसेले बहस गरेका थिए। त्यस्तै जाहेरीवालाको तर्फबाट अधिवक्ता गोविन्दराम परियार, राजेन्द्र भारती, मंगलसेन सार्की, भूमिप्रसाद सापकोटा, ईश्वरभक्त सुनार र प्रोबोनो कानुन व्यवसायी यमकुमारी दलेलले बहस गरेका थिए।
त्यस्तै कानुनको विवादमा परेका किशोरहरूका तर्फबाट अधिवक्ता शंकर पौडेल, अनिलबहादुर शाही, उत्तमप्रसाद आचार्य, विवशकुमार बस्नेत, खगेन्द्रबहादुर खनाल र नारायण योगीले बहस गरेका थिए।