रूकुम पश्चिममा सँगै बगेका तीनै जना दिदीबहिनीको शव फेला परेको छ। बगेर बेपत्तामध्ये १२ वर्षीया सपना वलीको शव आइतबार दिउँसो १४ दिनपछि भेरी नदी किनारमा फेला परेको हो।
रूकुमपश्चिमको मुसीकोट नगरपालिका–१३ छिवाङ नजिकै सानीभेरी नदी किनारको बीच टापूमा आधा शरीर पानीमा डुबेको अवस्थामा सपनाको शव फेला परेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक हरि पुनले बताए।
बुबा पूर्णबहादुर वलीले छोरी सपनाको शवको पहिचान गरेका थिए।
बाँफिकोट गाउँपालिका–३ गरालागोठकी सपना सँगै तीनै जना दिदीबहिनी फागुन २५ गते आफन्तको बिहेमा जाने क्रममा एकै साथ बगेर बेपत्ता भएका थिए।
बगेर बेपत्ता भएकामध्ये फागुन २६ गते बिहान करिब पाँच सय मिटरको दुरीमा बाँफिकोट–३ भाग्ले नजिकै सानीभेरी नदीमा १४ वर्षीया दिदी कल्पना वली र उनकी १२ वर्षीया बहिनी उर्मिलाको शव फेला परेको थियो। यी दुई निराजन वलीका छोरीहरू हुन्।
पूर्णबहादुर र निराजन दाजुभाइ हुन्। पूर्णबहादुर माइला र निराजन साँइला हुन्।
दुई दाजुभाइका तीन छोरीहरू फागुन २५ गते मुसीकोट नगरपालिका–१ भलखोलागाउँमा आफन्तको बिहेमा जाने क्रममा नदी तर्दा बगेर बेपत्ता भएका थिए।
उर्मिला र सपना मुसिकोट नगरपालिका–१ को त्रिपुरा माविका कक्षा ६ मा पढिरहेका थिए भने कल्पना स्थानीय जनविकास आविमा कक्षा ५ मा पढ्थिन्।