संखुवासभाबाट अत्यधिक रक्तस्राव भएकी सुत्केरीको हेलिकप्टरबाट उद्धार गरेर काठमाडौं ल्याइएको छ।
जिल्ला अस्पातलमा मंगलबार शिशु जन्माएकी सुत्केरीको बुधबार पनि अत्यधिक रक्तस्राव भएपछि सेनाको हेलिकप्टरबाट उद्धार गरेर आज काठमाडौं ल्याइएको हो।
मकालु गाउँपालिका- १ की २८ वर्षीया महिलालाई उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले जानकारी दिइन्।
'शिशुको अवस्था सामान्य भए पनि सुत्केरीको अत्यधिक रक्तस्राव भएपछि सेनाको हेलिकप्टरबाट रेस्क्यू गरेर काठमाडौं पठाइएको हो,' उनले भनिन्, 'हामीले यहाँबाट पठाउँदासम्म शिशुको अवस्था राम्रै छ।'
सुत्केरीलाई संखुवासभाबाट उद्धार गरेर काठमाडौंको प्रसूति गृहमा ल्याइएको उनले बताइन्।