बुटवल-पाल्पा सडकखण्डको सिद्धबाबा नजिकै स्कुल बसमाथि ढुंगा खसेको छ।
विद्यार्थी लिन बुटवलबाट पाल्पातर्फ जाँदै गरेको स्टार इङ्लिस बोर्डिङ स्कुल बुटवलको लु १ क ३६३७ नं. को बसमाथि ढुंगा खसेको हो।
प्रहरी चौकी दोभान पाल्पाका अनुसार तिनाउ गाउँपालिका-३ सिद्धबाबा सुरूङ मार्गको बुटवल तर्फको प्रवेशद्वार नजिकै सडक माथिबाट बसमा ढुंगा खसेको थियो।
बिहान साढे आठ बजेतिर विद्यार्थी लिन गएको बस खाली भएकोले मानवीय क्षति भने हुन नपाएको प्रहरीले जनाएको छ।
सडक माथिबाट खसेको ढुंगा बसको छत फोरेर भित्र पसेको प्रहरीले जनाएको छ।
पछिल्लो समय एउटा जिल्लाबाट अर्को जिल्लामा विद्यार्थी लिन जाने सवारी साधनहरू दुर्घटनामा पर्न थालेका छन्। पढ्नकै लागि घरदेखि टाढा रहेका स्कुलमा पठाउने प्रवृत्तिले ससाना बालबालिकाहरूको ज्यान समेत जोखिममा पर्ने गरेको छ।
यसअघि गत माघ २० गते नवलपरासीको परासीबाट विद्यार्थी बोकेर ल्याउँदै गरेको रूपन्देहीको मणिग्रामस्थित शान्ति नमुना माविको बस ओमसतिया–४ वसन्तपुरमा दुर्घटना हुँदा १० जना भन्दा बढी विद्यार्थी घाइते भएका थिए।