बसले स्कुटरलाई ठक्कर दिँदा रूपन्देहीमा एक जनाको मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवलबाट काठमाडौँ जाँदै गरेको लु प्र ०१–००१ ख ०८१६ नं को बसले विपरीत दिशातर्फ आउँदै गरेको लु ९२ प ७९९० नं को स्कुटरलाई देवदह–९ घोडाहा काँटा चोकमा ठक्कर दिँदा उक्त दुर्घटना भएको हो।
सोमबार राती साढे १० बजेतिर भएको उक्त दुर्घटनामा परी स्कुटर चालक देव दह नगरपालिका वडा नं. ५ खैरेनी सगरमाथा टोल निवासी २८ वर्षीय सुनिल पाण्डेको मृत्यु भएको छ।
सोही दुर्घटनामा परि वडा नं. ५ कै ज्योतीनगर बस्ने २८ वर्षीय कृष्ण पाइजा घाइते भएका छन्।
बसले स्कुटरलाई ठक्कर दिएपछि गम्भीर घाइते भएका दुवै जनालाई उपचारको लागि तत्काल नजिकैको देव दह मेडिकल कलेजमा लगिएको थियो।
मेडिकल कलेजमा परीक्षण गर्दा पाण्डेलाई चिकित्सकले मृत घोषणा गरेका थिए।
स्कुटरको पछाडि सवार पाइजाको सोही मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उनको टाउको, अनुहार र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले दुर्घटनामा संलग्न बस र स्कुटरलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएका छन्।