सुर्खेतमा ८ ग्राम ०६ मिलिग्राम ब्राउन सुगरसहित दुई जना युवती पक्राउ परेका छन्।
फागुन ४ गते राति करिब ११:०० बजे लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण शाखा कार्यालय सुर्खेत बाट खटिएको संयुक्त प्रहरी टोलीले वीरेन्द्रनगर नगरपालिका–११ मा निगरानी तथा खोजतलास गरेको थियो।
सो क्रममा शंकास्पद अवस्थामा फेला परेका वीरेन्द्रनगर नगरपालिका–४ बस्ने वर्ष अन्दाजी २० की माया नेपाली र सोही स्थानकी वर्ष अन्दाजी २८ की संगिता वि.क.लाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
उनीहरूको शरीर खानतलासी गर्दा शुद्ध ८ ग्राम ०६ मिलिग्राम ब्राउनसुगर बरामद गरिएको थियो।
बरामद लागूऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याएर लागूऔषधसम्बन्धी मुद्दा दर्ता गरिएको छ।
अदालतबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।