युवावस्थामा ब्रेन स्ट्रोक हुनेहरूको मुख्य कारणका रूपमा चुरोट तथा मदिरा सेवन र अस्वस्थ्यकर खानपिन देखिएको छ।
यस्ता युवाको सरसर्ती परीक्षण गर्दा मुटुदेखि अरू स्वास्थ्य ठिक देखिएको हुन्छ। तर बिरामीको सबै कुरा बुझ्दा उसले दैनिक एक प्याकेट चुरोट खाने, धेरैजसो बाहिर खाना खाने वा हरेक रात रक्सी पिउने गरेको पाइन्छ।
खानेकुरामा पनि चिल्लो र हुक्का लिने पनि देखिएको छ। हुक्का पनि धूमपान नै हो र यो अझ खतरनाक हुन सक्छ।
ब्रेन स्टोकका बिरामीको रगतका नसा खुम्चिएको पाइन्छ।
अमेरिकामा भएको अनुसन्धानमा धूमपानले रगतका नसा खुम्चिँदै जाने, टेप जस्तो टाँसिँदै जाने देखिएको छ। मस्तिष्कमा अक्सिजनको मात्रा कम हुने, मस्तिष्क मात्र नभएर घाँटी, मुटु अनि शरीरका सबै भागका नसा बिग्रिँदै गएको पाइएको छ।
हिजोआज भेपिङ पनि प्रयोगमा छ। भेपिङ सुरक्षित हुन्छ भन्ने गलत बुझाइ हो। भेपिङको पनि धूमपानकै जस्तो नराम्रो परिणाम देखिएको छ।
एक अनुसन्धान अनुसार भेपिङ गर्दा मस्तिष्कमा अक्सिजन नपुगेको पाइएको छ। भेपिङ प्रयोग गर्न छाडेको ७२ घन्टापछि मात्र अक्सिजन पहिलेको अवस्थामा फर्किएको अनुसन्धानले देखाएको छ। भेपिङ मस्तिष्कका लागि मात्र होइन, फोक्सोका लागि पनि हानिकारक छ।
भेपिङ, धूमपान वा कुनै पनि खालको निकोटिन मस्तिष्क वा शरीरका कुनै पनि अंगका लागि राम्रो हुँदैन। यसको प्रयोग सीमित पनि होइन, शून्य नै गर्नुपर्छ।
पहिले पहिले ७० वर्षपछि, अझ धेरैजसो ८० कटेकाहरूलाई ब्रेन स्ट्रोक हुन्थ्यो। अहिले ३०, ३५, ४० वर्षमै हुन थालेको छ।
अर्को कुरा, बिरामीहरू समयमा अस्पताल आउँदैनन्। २४ घन्टाभित्र बिरामी आए मस्तिष्कलाई पहिलेको ठाउँमा फर्काउने सम्भावना धेरै हुन्छ।
युवा उमेरमा ब्रेन स्ट्रोक हुँदा गाह्रो हुन्छ। कमाएर परिवारलाई दिने उमेरमा परिवारले हेरचाह गर्नुपर्ने अवस्था आउँछ।
तीस वर्षकै उमेरमा मुटु के होला र भनेर इसिजी/इको गर्न पर्दैन भन्ने लाग्न सक्छ। तर मुटु र मस्तिष्क एकअर्कासँग सम्बन्धित हुन्छन्। त्यसैले युवावस्थामै परीक्षण गरियो भने यस्ता समस्या थाहा पाउन सकिन्छ।
म ३० वर्षको एक बिरामीको उदाहरण दिन चाहन्छु।
उनलाई सानोमा घाँटीको संक्रमण भएको रहेछ। त्यति बेला एन्टिबायोटिक नखाएकाले मुटुमा संक्रमण भयो। त्यसकै कारण ब्रेन स्ट्रोक भयो। ८ घन्टाभित्र अस्पताल आइपुगेकाले मस्तिष्कलाई पहिलेको अवस्थामा फर्काउन सकियो। घाँटीको संक्रमण हुँदा नेपालमा एन्टिबायोटिक नखाने चलन छ, जसले गर्दा मुटुको संक्रमण हुन सक्छ।
युवावस्थामा ब्रेन स्ट्रोक हुने कारणहरू
युवावस्थामा स्ट्रोक हुने पहिलो कारण माथि भनेजस्तै धूमपान बनेको छ। सानै उमेरमा धूमपान सुरू गर्ने र दिनमा एक प्याकेटसम्म सक्ने हुन्छन्। कतिले त चुरोटलाई ‘कुल’ देखिने कुराको रूपमा लिन्छन्। तर यो साह्रै खतरनाक कुरा हो।
अर्को कारण मुटु रोग हो। उच्च रक्तचाप, सानैदेखि मुटुको रोग भएका वा वंशानुगत समस्या भएकालाई पनि ब्रेन स्ट्रोक हुने खतरा रहन्छ।
मुटुको समस्याकै कारण ५० वर्ष नपुग्दै परिवारको सदस्यको मृत्यु भएको इतिहास छ भने पनि जोखिम बढ्छ।
तेस्रो कारण खानपान हो।
सानैदेखि चिनी धेरै भएको खाना र कार्बोहाइड्रेट धेरै खाने तर प्रोटिन कम खाने बानीले समस्या ल्याउँछ। चिनी धेरै खाँदा ३० वर्षकै उमेरमा शरीरका अंगहरू ५० वर्षको जस्तो बन्छन्।
कस्तो खाना खाने, कस्तो नखाने?
चिनी धेरै खाँदा रगतका नशा सुक्ने, मोटोपन हुने जस्ता समस्या आउँछन्। यसले युवावस्थामै मधुमेह र उच्च रक्तचापको समस्या देखिन थालेको छ, जुन ब्रेन स्ट्रोकको अर्को कारण हो।
बिहान उठेदेखि नै चिनी राखेको दूध चिया खाने बानी धेरैलाई छ। कतिले दिनमै ५ कपभन्दा बढी चिया पिउँछन्। त्यसमा ६–७ चम्चा चिनी हुने नै भयो। चियामा दूध राखेर पिउँदा यसले शरीरलाई थप हानि गर्छ।
त्यसैले बिहान चिनी नहालिएको कालो चिया वा कफी खानु राम्रो हुन्छ। कालो कफी सकेसम्म १२ बजेभन्दा अगाडि खानुपर्छ भने ४ बजापछि नखाएको राम्रो हुन्छ। चार बजेपछि कफी खाँदा मुटुको धड्कन बढ्ने र मस्तिष्क धेरै सक्रिय हुने हुन्छ।
दूध चिया खानै मन लागे खानापछि एक पटक खान सकिन्छ।
चिनी नराखिएको कालो चिया र ग्रिन–टी भने दिनमा ५–६ पटकसम्म खान सकिन्छ। युवा उमेरमा दूध खानैपर्ने जरूरी पनि हुँदैन। दूधको बढी आवश्यकता बच्चालाई हुन्छ।
त्यस्तै हामी प्रायः दिनमा दुई पटक भात खान्छौं। शरीरका लागि एक पटक मात्र भात खाए पुग्छ। साँझ ६ बजेभन्दा पहिले एक पटक, जुनसुकै समयमा भए पनि भात खान मिल्छ। धेरै खाना खाए ३० मिनेट हिँड्नु राम्रो हुन्छ। यसरी हिँड्दा छिटो छिटो हिँड्नुपर्छ भन्ने छैन।
अनि हुक्कामा कार्बन मोनोअक्साइड धेरै हुन्छ। फोक्सोले कार्बन मोनोअक्साइड लिएपछि फोक्सो नै कालो हुन्छ।
मदिरा सेवन गर्नेहरूको रक्तचाप बढ्दै गएर अचानक ब्रेन स्ट्रोक हुन सक्छ। सकेसम्म रक्सी खानु हुँदैन, हरेक दिन त झन् खानै हुँदैन। त्यसैले रक्सीबाट टाढा रहनु र रक्तचापको नियमित परीक्षण गर्नु आवश्यक छ। मदिराले प्यान्क्रियाजमा पनि असर पर्छ, जसले पछि गएर ब्रेन स्ट्रोक गराउने खतरा बढाउँछ।
कसरी हुन्छ उपचार?
ब्रेन स्ट्रोकको उपचार कस्तो समस्या छ भन्ने आधारमा हुन्छ। क्लट जमेर ब्रेन स्ट्रोक भएको छ भने हात वा खुट्टाबाट तार छिराएर क्लट निकाल्न सकिन्छ, जसलाई न्युरो इन्टरभेन्सन पद्धति भनिन्छ।
बिरामी २४ घन्टाभित्र आए यो पद्धतिबाट उपचार सम्भव हुन्छ।
मस्तिष्कमा ३० एमएलभन्दा बढी रगत जमेको छ भने ओपन सर्जरी गर्नुपर्छ।
मस्तिष्कको सम्बन्ध मुटु र रगतसँग हुने भएकाले वर्षमा एक पटक कोलेस्ट्रोल, सुगर, इसिजी र इको लगायत परीक्षण गर्नु आवश्यक छ। घाँटीमा मुटु र मस्तिष्क जोड्ने नसाको अल्ट्रासाउन्ड पनि जरूरी हुन्छ। परिवारमा कसैलाई हृदयाघात भएको इतिहास छ भने झनै परीक्षण गर्नुपर्छ।
(इन्टरभेन्सनल न्युरो सर्जन डा. प्रसन्ना कार्की ललितपुरको नख्खुमा रहेको नेपाल मेडिसिटी अस्पतालमा कार्यरत छिन्।)