मिराज ढुंगान नेतृत्वको 'गरिखान देऊ' टिमका सदस्य प्रकाश शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
उनलाई शनिबार ८ बजे अनामनगरबाट नियन्त्रणमा लिएको हो।
प्रधानमन्त्री कार्यालय बालुवाटारमा पोष्टर टाँसेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। उनले नेतृत्व लिएर १०/१५ जनाको टिम बालुवाटरमा पोष्टर टाँस्न पुगेका थिए।
त्यहाँबाट फर्केपछि उनलाई एक मिडियाबाट अन्तर्वार्ताका लागि भनेर अनामनगर बोलाइएको गरिखान देऊका सदस्य हरिश भट्टले जानकारी दिए। तर त्यहाँ पुगेपछि भने प्रहरीले नियन्त्रणमा लिएको उनले बताए।
'भोली अन्तवार्ता लिने तयारी गरिरहेका छौं, आज एकछिन कुरा गरौं भनेर ८ बजेतिर बोलाएकाले गएको थियो,' हरिशले भने, ' त्यहीँबाट प्रहरीले नियन्त्रणमा लिएको रहेछ। योबारे हामीले आजमात्र थाहा पायौं।'
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार निषेधित क्षेत्रमा पोष्टर टाँस्न गएकाले नियन्त्रणमा लिएको हो।
'उहाँमाथि मुद्दा चलाउने गरी नियन्त्रणमा लिएका होइनौं। गर्न नपाउने काम गरेकाले सचेत गराउनका लागि मात्र नियन्त्रणमा लिएका हौं। निषेधित क्षेत्रमा प्रदर्शन गर्न पाइन्न,' एसपी भट्टराईले भने।