मानव शरीर कसरी चल्छ र अंगहरूले कसरी काम गर्छन् भनेर बुझ्न वैज्ञानिकहरूले लामो समयदेखि प्रयास गरिरहेका छन्। पछिल्ला दशकमा यसमा धेरै प्रगति भइसकेको छ। तर पनि यी सबै कुरा बुझ्न धेरै जटिल छ।
रोग प्रतिरोधात्मक प्रणाली (इम्युन सिस्टम) मानव शरीरको सबभन्दा जटिल प्रणालीहरूमध्ये पर्छ। यसले कसरी काम गर्छ भन्ने पूर्ण रूपमा अझै पनि बुझिसकिएको छैन।
पाँच वर्षअघिको कोभिड महामारी बेला व्यक्तिपिच्छे कोभिडले पारेको फरक फरक असरले पनि रोग प्रतिरोधात्मक प्रणाली कति जटिल छ भन्ने पुष्टि गर्यो।
यस्तो जटिल प्रणालीले कुन बेला काम गर्न थाल्छ भन्ने कुरा भने सरल र सर्वविदित जस्तै छ। ब्याक्टेरिया, भाइरस वा अरू कुनै हानि पुर्याउन सक्ने वस्तु शरीरको सम्पर्कमा आए भने रोग प्रतिरोधात्मक प्रणालीले काम गर्न सुरू गरिहाल्छ।
तर नेचर न्युरोसाइन्समा केही समयअघि प्रकाशित अध्ययनले संक्रामक वस्तु शरीरको सम्पर्कमै नआए पनि रोग प्रतिरोधात्मक प्रणालीले काम सुरू गर्न थाल्छ भनेर देखाएको छ। संक्रमण भएको देखिए मात्रै पनि यो प्रणालीले काम सुरू गर्छ भन्ने पुष्टि गरेको छ।
यस्तो पुष्टि गर्न स्विट्जरल्यान्डको लोसेन विश्वविद्यालय अस्पताल र जेनेभा विश्वविद्यालयका शोधकर्ताहरूले भर्चुअल रियालिटी (भिआर) हेडसेटको सहायता लिए। भिआर हेडसेटमा देखाइएका वस्तुहरू वास्तविक जस्तै देखिन्छन्।
यो अध्ययनका लागि नियन्त्रण समूह बाहेक सबै सहभागीहरूलाई भिआर हेडसेट लगाइएको थियो। सहभागीहरूलाई नजिक आउँदै गरेका विभिन्न किसिमका मानव अनुहारहरू देखाइएको थियो। केही अनुहारहरूमा संक्रमणका कारण आउने डाबरहरू थिए।
केही सहभागीहरूको गालामा एउटा यन्त्र पनि जोडिएको थियो। सो यन्त्रको माध्यमबाट शोधकर्ताले कम्पन (भाइब्रेसन) गराउन सक्थे। कम्पन भएको थाहा पाउनेबित्तिकै उनीहरूलाई एउटा स्विच थिच्न लगाइएको थियो।
त्यसपछि कसले छिटो स्विच थिच्यो भनेर नापियो। यसरी नाप्दा संक्रमित अनुहार देखाइएकाले छिटो थिचेको देखियो। उनीहरूको दिमागले शरीरमा सम्भावित खतराको अनुमान गरेर छिटै प्रतिक्रिया दिएको हुनसक्छ।
सहभागीहरूको मस्तिष्कको जाँच गर्दा पनि संक्रमित अनुहार देखाइएकाले खतरा महसुस गरेको पुष्टि भयो। संक्रमित अनुहार देखाइएकाको खतरा महसुस हुने मस्तिष्कको भाग सक्रिय देखियो।
त्यतिले मात्रै संक्रमित अनुहार देख्दा रोग प्रतिरोधात्मक प्रणालीले काम सुरू गर्न थाल्छ भन्ने पुष्टि हुँदैन। त्यसैले शोधकर्ताले सहभागीहरूको रगत जाँच पनि गरे।
यसरी जाँच गर्दा संक्रमित अनुहार देखाइएकाको रगतमा रोग प्रतिरोधात्मक प्रणालीका विभिन्न तत्वहरू देखिए। संक्रमण भएपछि रोग प्रतिरोधात्मक प्रणालीले काम गर्न थाल्दा यस्ता तत्वहरू संक्रमितको रगतमा देखिन्छन्।
संक्रमित अनुहार देखाइएकाहरूको रगतमा यस्ता तत्वहरू फ्लुको खोप लगाइएका व्यक्तिहरूको रगतमा भएजति नै परिमाणमा देखिएको शोधकर्ताहरूले लेखेका छन्। यसले संक्रमित अनुहार देखाइएकाहरूको रोग प्रतिरोधात्मक प्रणालीले तुरून्तै काम गर्न थालेको प्रमाणित गर्छ।
यहाँनेर संक्रमण नभइकनै भए जसरी रोग प्रतिरोधात्मक प्रणालीले काम गर्दा के फाइदा हुन्छ भन्ने प्रश्न उठ्छ। किनभने रोग प्रतिरोधात्मक प्रणालीले काम गर्दा शरीरले ऊर्जाको प्रयोग गर्नुपर्छ।
मानव इतिहासको लामो अवधिमा अघिल्लो शताब्दीसम्म पनि मान्छेलाई खानेकुराको अभाव थियो। शरीरलाई चाहिने जति खानकै लागि मान्छेले संघर्ष गर्नुपर्थ्यो। विभिन्न समयमा भोकमरी लागेर पूरै बस्तीका मान्छे मर्थे। रोग प्रतिरोधात्मक प्रणालीले काम गर्दा शरीरलाई अलि अलि अप्ठ्यारो पनि हुन्छ। त्यसैले संक्रमण नभइकनै रोग प्रतिरोधात्मक प्रणालीले काम सुरू गर्दा शरीरलाई घाटा हुन्छ।
तर अघिल्लो शताब्दीसम्म पनि संक्रमण मानवका लागि ठूलो खतरा थियो। काँडा बिझेर हुने सामान्य संक्रमणले पनि ज्यान जान्थ्यो। यस्तोमा संक्रमण गर्न सक्ने हानिकारक वस्तु सम्पर्कमा आएको थाहा नपाउनु (फल्स नेगेटिभ) घातक हुन सक्थ्यो।
त्योभन्दा संक्रमण नभइकनै भए जसरी रोग प्रतिरोधात्मक प्रणालीले काम सुरू गर्नु (फल्स पोजिटिभ) बरू फाइदाजनक हुन्थ्यो। त्यसैले थाहा नपाएर ज्यान गुमाउनुभन्दा नभएको संक्रमणका कारण अलि अलि दुःख पाउनु फाइदाजनक हुने भएकाले मानव शरीर त्यसरी विकसित भएको वैज्ञानिकहरूले विश्लेषण गरेका छन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)