युनेस्कोबाट संगीत विधामा सदस्यता प्राप्त गरेसँगै ललितपुर महानगरले चार वर्षको लागि कार्ययोजना तयार पारेको जनाएको छ।
बिहीबार पत्रकार सम्मेलन गर्दै मेयर महर्जनले युनेस्कोले ललितपुरलाई 'संगीत' विधामा छनोट गरेपछि संगीत क्षेत्रको विकासका लागि विभिन्न कार्यक्रमहरू बनाएको बताए।
जसमा महानगरले अनुसन्धान तथा शैक्षिक कार्यक्रम, नीति निर्माण र स्रोत साधनको विकासको लागि 'ललितपुर सिर्जनात्मक कला केन्द्र' स्थापना गर्ने जनाएको छ।
शैक्षिक कार्यक्रम अन्तर्गत अनुसन्धानकर्ता र स्थानीय संगीतकर्मीबीच छलफल र सहकार्य गरी संगीतको माध्यमबाट आर्थिक आम्दानीको बाटो पहिल्याउने जनाइएको छ। अर्कातर्पत परम्परागत संगीत विद्यालयहरूमा अध्यापन गराइने जनाइएको छ। त्यसका लागि छात्रवृत्तिको व्यवस्था गरिने छ।
यस्तै, संगीतलाई उद्योगको रूपमा स्थापित गर्न पहल गर्ने र जेष्ठ पूर्णिमाको दिनलाई राष्ट्रिय सैगीत दिवसको रूपमा घोषणाका लागि पहल गर्ने जनाएको छ। यसका लागि पर्यटन मन्त्रालयमा ज्ञापनपत्र समेत बुझाइसकेको मेयर महर्जनले बताए।
अर्कातर्फ सार्वजनिक स्थलहरूलाई सवारीसाधनरहित बनाई खुल्ला सांगीतिक कार्यक्रमहरू आयोजना गर्न पूर्वाधार तयार पारिने महानगरले जनाएको छ।
'ललितपुर सिर्जनात्मक कला केन्द्र' को संयोजन र रेखदेख ललितपुर महानगरको प्रमुखको अध्यक्षतामा गठित १५ सदस्यीय सञ्चालक समितिले गर्ने छ। अर्कातर्फ युनेस्कोका अन्य संगीत सहरहरूसँगको सहकार्यमा वार्षिक रूपमा संगीत महोत्सवको आयोजना गरिने जनाइएको छ।
जसका लागि परम्परागत तथा समकालीन संगीतमा युवाहरूलाई संलग्न गराउन प्रत्येक वडामा युवा केन्द्रको स्थापना गरिने योजना छ। त्यस्तै संगीतको अनुसन्धानका लागि विज्ञहरूको टोली गठन गरिने महानगरले जनाएको छ।
युनेस्कोले यसरी बनायो ललितपुरलाई संगीतको सहर
युनेस्कोले छनोट गरेका विश्वका ५८ सहरमध्ये ललितपुर 'संगीत' विधामा छनोट भएको छ। युनेस्कोको रचनात्मक सहर सञ्जाल (क्रिएटिभ सिटिज नेटवर्क) अन्तर्गत विश्व सहर दिवसको अवसरमा शनिबार ललितपुरलाई यो विधामा छनोट गरिएको हो।
रचनात्मक सहर सञ्जाल अन्तर्गत युनेस्कोले विश्वभरका सहरलाई आठ वटा रचनात्मक क्षेत्रमा विभाजन गरेको छ— शिल्प र लोक कला, डिजाइन, चलचित्र, ग्यास्ट्रोनमी (खानाका परिकार), साहित्य, मिडिया कला, संगीत र वास्तुकला।
वास्तुकला यसै वर्ष थपिएको नयाँ विधा हो।
यीमध्ये ललितपुर महानगरपालिका संगीत विधामा छनोट भएको हो।
ललितपुर कसरी युनेस्कोको सञ्जालमा छनोट भयो र ललितपुरमा अब संगीतमा के–कस्ता काम हुनेछन् भनेर हामीले मेयर चिरिबाबु महर्जनका साथै युनेस्को र ललितपुरबीचका सम्पर्क व्यक्ति (फोकल पर्सन) दिलेन्द्रराज श्रेष्ठसँग कुराकानी गरेका छौं।
'युनेस्कोको संगीत सूचीमा पर्नु हाम्रो लागि निकै गर्वको कुरा हो। सूचीमा परेपछि के कसरी काम गर्ने भनेर छलफल भइरहेको छ,' यसो भन्दै मेयर महर्जनले हामीलाई सम्पर्क व्यक्ति श्रेष्ठसँग कुराकानी गराइदिए।
उनका अनुसार सन् २००४ देखि युनेस्कोले आफ्नो सञ्जाल विस्तार गर्न थालेको हो। तर ललितपुर महानगरले यसबारे दुई–तीन वर्षअघि मात्र जानकारी पायो। जानकारी पाउनेबित्तिकै कुन विधाका लागि आवेदन भर्ने भनेर छलफल भयो।
'ललितपुर शिल्प र लोक कला, खानाका परिकार र संगीतमा सम्पन्न सहर हो। यो सहर विश्व शिल्प परिषदबाट यसअघि नै शिल्प र कला क्षेत्रको सहर भइसकेको छ। त्यसैले सबैको सहमतिमा हामीले संगीतका लागि आवेदन भरेका थियौं,' श्रेष्ठले भने।
सन् २०२३ मा ललितपुरले संगीत सहरका लागि आवेदन भरेको थियो। त्यति बेला काठमाडौं महानगरपालिकाले पनि फिल्म सहरका लागि आवेदन भर्यो। काठमाडौं त्यस समय फिल्म सहरका लागि छनोट भयो। ललितपुर भने भएन।
दुई वर्षअघि पठाएको आवेदनमै केही सुधार गरेर यो पटक पठाउँदा ललितपुर छनोट हुन सकेको श्रेष्ठले बताए।
'युनेस्कोको सूचीमा पर्नु भनेको हाम्रो लागि सहर चिनाउने र अन्य सञ्जालमा भएका सहरबाट सिक्ने ठूलो अवसर हो,' उनले भने, 'ललितपुरमा हरेक साँझ–बिहान परम्परागत शैलीमा भजन चल्छ। त्यस्ता रैथाने संगीतकारको जीविकोपार्जनमा सहयोग गरेर कसरी बलियो बनाउने भन्ने हामीले उनीहरूसँग सिक्न सक्छौं।'
युनेस्कोमा छनोट हुन सहरहरूले चार वर्षको कार्ययोजना बुझाउनुपर्छ। जसअनुसार महानगरले परम्परागत संगीतको संस्थागत विकास, १२–१३ औं शताब्दी पुराना संगीतको अध्ययन तथा अनुसन्धान, जनशक्ति विकास लगायत क्षेत्रमा काम गर्ने योजना बनाएको छ।
त्यसका साथै महानगरले 'ललितपुर सेन्टर फर क्रिएटिभ आर्ट्स' नामक समिति स्थापना गर्दैछ। यसैअन्तर्गत संगीत विकासका काम हुनेछन्। संगीतमा काम गर्न महानगरले चार वर्षका लागि २० करोड रूपैंया छुट्ट्याएको छ।
यनेस्कोको यस सञ्जालमा ललितपुर सहितका ५८ सहर थपिएसँगै सयभन्दा बढी देशका ४०८ सहर समावेश छन्। युनेस्कोका महानिर्देशक अड्रे अजौका अनुसार यो सञ्जालले संस्कृतिमा पहुँच बढाउने र विकासका लागि रचनात्मकताको शक्ति बढाउने काममा नेतृत्व गरिरहेको छ।
यस वर्ष सञ्जालमा जोडिएका सहरमध्ये ललितपुरसहित ९ सहर संगीत विधामा छानिएका छन्। त्यसैगरी, फिल्म विधामा ४, डिजाइनमा ४, शिल्प तथा लोक कलामा १२, साहित्यमा ८, ग्यास्ट्रोनमीमा १०, मिडिया कलामा २ र वास्तुकलामा ५ सहर जोडिएका छन्।
युनेस्कोले हरेक दुई वर्षमा आफ्नो सञ्जाल बिस्तार गर्छ। त्यसमा एउटा देशबाट दुई सहरले आवेदन भर्न सक्छन्। त्यसैको आधारमा युनेस्कोले छनोट गर्छ। यसमा दुवै सहर वा कुनै एउटा सहर पर्न सक्छ। कुनै पनि सहर नपर्न पनि सक्छ।
आगामी वर्ष युनेस्कोको सूचीमा पर्न नेपालका अन्य सहरले पनि प्रतिस्पर्धा गर्न सक्नेछन्। आवेदन दिएर छनोट भइसकेका ललितपुर र काठमाडौं महानगरपालिकाले पनि पुनः सहभागिता जनाउन सक्नेछन्। तर एक पटकमा दुइटा सहरले मात्र आवेदन दिन पाइन्छ।
'छनोट भएर पनि त्यस सहरले कार्ययोजना अनुसार काम गर्न सकेन भने पछि सूचीबाट हट्न पनि सक्छ,' श्रेष्ठले भने।