टिबेटियन ओरिजिनल ब्लड (टिओबी) समूहका तेन्जीन दावा लामाको नागरिकतामाथि अनुसन्धान गर्दा थप शंकास्पद रहेको पाइएको छ।
तेन्जीनको नागरिकतामा बुबाको नाम कृष्णबहादुर लामा उल्लेख छ।
सुरूमा अभद्र व्यवहारको कसुरमा पक्राउ परेका तन्जीनको अनुसन्धान गर्ने क्रममा नागरिकतामा कैफियत देखिएको हो। अनुसन्धानका लागि प्रहरीले काठमाडौं महानगरपालिका-६ र जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पत्राचार गरेको थियो।
पत्राचार गर्दा नागरिकता सिटिजनसिप इन्फर्मेशन म्यानेजमेन्टमा फेला त पर्यो। तर प्रशासन कार्यालयले राख्ने ढड्डामा भेटिएको थिएन।
त्यसबीच अनुसन्धानको क्रममा उल्लेखित बुबा नै नक्कली रहेको प्रहरीको अनुसन्धानबाट खुलेको हो।
भदौ २३ र २४ गतेको आन्दोलन पछि भाइरल बनेको पेस्तोल देखाएर बनाइएको भिडिओले उनी पक्राउ परेका थिए। उनले नक्कली पेस्तोल देखाएर भिडिओ आन्दोलन हुनु अघि नै बनाएका थिए।
तर अनुसन्धानकै क्रममा उनको नागरिकताबारे पनि अनुसन्धान गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाका अनुसार अहिले नागरिकता किर्ते कसुरमा अनुसन्धान भइरहेको छ।
तेन्जीनले सुरूवाती चरणमा प्रहरीसमक्ष बयान दिँदा आफ्ना बुबाको सात वर्षअघि नै मृत्यु भएको बताएका थिए।
अनुसन्धान गर्दा कृष्णबहादुर लामा नाम गरेका व्यक्तिलाई फेला पारी प्रहरीले परिसरमा उपस्थित गराएको थियो। तर उनले आफ्ना छोरालाई समेत नचिनेको बयान दिएका छन्। तेन्जीनले पनि आफ्ना बुबालाई नचिनेको एसएसपी थापाले बताए।
‘परिवारको नाता प्रमाणितमा त्यसमा नाम छैन। तर नागरिकतामा भएका व्यक्तिलाई उपस्थित गर्दा ती व्यक्तिले चिन्दिन भने,’ उनले भने, ‘अझै पनि प्रमाण तथा कागजात संकलनका काम भइरहेका छन्।’
तेन्जीनले आफ्नी आमा पनि भारतमा बस्ने बताएका छन्। दिदी पनि काठमाडौंमै रहेको बताएपनि देखाउन नसकेको प्रहरीको भनाइ छ।
तेन्जीनको नागरिकता २०७९ असार २४ गते जारी भएको देखिन्छ। त्यस नागरिकतामा तत्कालीन प्रशासकीय अधिकृत मुरारीप्रसाद निरौलाले हस्ताक्षर गरेको देखिन्छ।
तेन्जीन २०५३ माघ २१ गते जन्मिएको जन्मदर्ता छ। उक्त जन्मदर्ता २०६३ चैत १० गते दर्ता भएको प्रमाणपत्र प्रहरीले फेला पारेको छ।
जेनजी आन्दोलन भड्काउन उनीसहित टिओबी अर्थात तिब्बतियन ओरिजिनल ब्लड समूहको संलग्नता रहेको भन्दै प्रचार भएको थियो। तेन्जीनले बिजुली बजारमा बनाएको एउटा भिडिओलाई आधार बनाएर उनीहरूले नै हिंसा भड्काएको आरोप लगाइएको थियो। तर उक्त भिडिओ केही महिनाअघि नै बनाएको खुलेको थियो।
अहिले परिसरको हिरासतमा रहेका उनीमाथि प्रहरीले अभद्र व्यवहार कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद लिएको छ।
तेन्जीन पेसाले ट्याटु आर्टिस्ट र गायक हुन्।
उनी बौद्धमा डेरा गरी बस्दै आएका छन्। प्रहरीले उनको साथबाट वाकीटकीको चार्जर पनि फेला पारेको छ।
उनको भदौ २३ गते भएको आन्दोलन भड्काउनमा भूमिका रहे/नरहेकोबारे पनि अनुसन्धान हुने प्रहरीले जनाएको छ। तर त्यसदिन शनिबार परेकाले प्रहरीले शंकास्पद भनेर अनुसन्धान अघि बढाएको थियो।
उनले आफूहरू बाइकर्स समूह भएको र त्यसमा अन्दाजी ५० जना जति संलग्न रहेको पनि बताएका छन्। कपडामा डिजाइन पनि आफै बनाएको उनले बताएका छन्।
टिओबी समूहको नाम उल्लेख भएको डायरी पनि बरामद भएको प्रहरीले जनाएको छ।