खाद्य सुरक्षामा लापरबाही गरेको भेटिएपछि काठमाडौं महानगरले ७ दिनका लागि ओम अस्पतालको क्यान्टिन बन्द गरिदिएको छ।
मंगलबार काठमाडौं महानगर र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले विभिन्न अस्पतालका क्यान्टिनहरूमा खाद्य स्वच्छता अनुगमन गरेको थियो। सो क्रममा चाबहिलस्थित ओम अस्पतालको क्यान्टिनमा सरसफाइमा लापरबाही देखिएपछि ७ दिनका लागि बन्द गरिएको अनुगमन टोलीका फुड टेक्नोलोजिस्ट अनिल बस्नेतले जानकारी दिए।
उनका अनुसार उक्त क्यान्टिनमा खाद्य रंगको अव्यवस्थित प्रयोग, म्याद गुज्रिएका उपभोग्य वस्तु, अस्वच्छ वातावरण, पेष्ट कन्ट्रोल (किटनाशक नियन्त्रण) व्यवस्था असन्तोषजनक रहेको, लेबल विवरण नदेखिएका खाद्य वस्तु प्रयोग गरिएको भेटिएको थियो।
अनुगमन टोलीका फुड टेक्नोलोजिस्ट अशोक पराजुलीका अनुसार क्यान्टिन सञ्चालकले व्यवसाय दर्ता समेत नगरेको हुँदा सात दिनका लागि बन्द गरी स्पष्टीकरण सहित महानगरमा उपस्थित हुन निर्देशन दिइएको छ।
यस्तै, अस्पताल प्रशासनका प्रशासनिक प्रबन्धक विपिन जङ्गमले हाल क्यान्टिन सञ्चालक परिवर्तन भइसकेको र अब खाद्य स्वच्छता सुनिश्चित भएपछि मात्र पुनः सञ्चालनमा ल्याउने बताए।
महानगर र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कानुनअनुसार स्वच्छ, जिम्मेवार र सुरक्षित खाद्य व्यवसाय सुनिश्चित गर्न नियमित रूपमा अस्पताल, होटल, रेष्टुरेन्ट तथा क्यान्टिनहरूको अनुगमन गर्दै आएको आएको छ।