भैरहवास्थित होटल निर्वाणामा गोली चलेको छ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार सोमबार राति १ बजेको समयमा होटल परिसरमा गोली चलेको हो।
गोली लागेर होटलका सुरक्षा गार्ड बुटवल उपमहानगरपालिका वडा नं. १५ का २७ वर्षीय मीन बहादुर परियार घाइते भएको प्रहरीले जनाएको छ। उनको खुट्टाको तिघ्रामा गोली लागेको छ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रदीप क्षेत्रीले सोमबार राति होटलका सुरक्षा गार्डमाथि गोली चलेको पुष्टि गरे। 
घाइते परियारलाई राति नै भीम अस्पतालमा उपचारको लागि लगिएकोमा अहिले घर डिस्चार्ज भइसकेको क्षेत्रीले बताए।
उनका अनुसार घाइते परियारले अपरिचित व्यक्तिले पेस्तोल निकालेर आफूमाथि गोली प्रहार गरेको बताएका छन्।
होटल अगाडि केही व्यक्तिहरूबीच वादविवाद चलिरहेको र त्यही क्रममा एउटा समूह होटलमा प्रवेश गर्न थालेपछि सुरक्षा गार्डले रोक्न खोजेका थिए।
होटलमा प्रवेश गर्दा रोक्न खोजेपछि आफूमाथि गोली प्रहार भएको परियारले प्रहरी सामु बयान दिएका छन्। उनका अनुसार गोली प्रहार गर्ने व्यक्ति होटलमा क्यासिनो खेल्न आउने भारतीय नागरिक भएको अनुमान गरिएको छ।
प्रहरी उपरीक्षक क्षेत्रीले अहिले नेपाल र भारतको सीमा क्षेत्र बेलहिया आसपासमा चेकजाँचलाई कडाइ गरेर गोली प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको बताए।
क्षेत्रीका अनुसार राति नै भारतीय समकक्षीसँग समन्वय गरी भारत प्रवेश र नेपाल प्रवेशमा कडाइ गरिए पनि गोली प्रहार गर्ने व्यक्ति अझै फेला परेका छैनन्।