भदौ २३ र २४ गते को-को प्रहरी फिल्डमा खटिएका थिए भन्ने विस्तृत विवरण नपठाएपछि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले प्रहरी प्रधान कार्यालयलाई चेतावनीसहित पत्र पठाएको छ।
पूर्वन्यायाधीश कार्कीको अध्यक्षतामा आयोग गठन भएको केही दिनपछि प्रहरी प्रधान कार्यालय नक्सालमा भदौ २३ र २४ गते को-को फिल्डमा खटिएका थिए भन्ने विस्तृत विवरण माग गरेको थियो।
आयोगले उक्त विवरण माग गरेको २२ दिनसम्म पनि प्रहरी प्रधान कार्यालयले विवरण उपलब्ध गराएको थिएन।
त्यसपछि आयोगले पत्र लेखेर फेरि विवरणबारे सोधेको थियो।
फिल्डमा आइजिपीदेखि जवानसम्म खटिएको जबाफ प्रहरीले पठाएको थियो।
प्रहरीले विस्तृत विवरण नपठाएपछि आइतबार जाँचबुझ आयोगले आइजिपी चन्द्रकुवेर खापुङकै नाममा २४ घण्टाभित्र जबाफ पठाउन भनेर प्रहरी प्रधान कार्यालयमा पत्र पठाएको थियो।
त्यसमा जाँचबुझ तथा न्यायिक आयोगलाई सहयोग नगरेमा मानहानीको कारबाही हुनसक्ने चेतावनी आयोगले दिएको थियो। 
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार आयोगलाई जबाफ पठाउने तयारी भइरहेको छ। ‘आयोगलाई विवरण नै नपठाउने भन्ने होइन, हामी पठाउनेक्रममै छ, त्यसैको तयारीमा छौं,’ स्रोतले भन्यो।
आइतबार नै जाँचबुझ आयोगले प्रहरी प्रधान कार्यालयलाई काठमाडौं उपत्यकामा भदौ २३ र २४ गते खटिएका प्रहरी इन्चार्ज तथा कमाण्डरहरूलाई उपत्यका नछाड्न व्यवस्था मिलाउन भनी पत्राचार गरेको थियो।
प्रहरीसँग सोधपुछ र बयानका लागि बोलाउनुपर्ने भएकाले इन्चार्ज तथा कमाण्डरहरूलाई उपत्यका नछाड्न भनिएको हो।
नेपाली सेनाले सार्वजनिक गरेको विवरणअनुसार भदौ २३ गते २२ जनाको मृत्यु भएको थियो। त्यसपछि बाँकीको अन्य दिन मृत्यु भएको थियो। भदौ २३ र २४ गतेको आन्दोलनमा परी ज्यान गुमाउनेको कुल संख्या ७६ पुगेको छ।
त्यसमध्ये ४५ जनालाई सरकारले सोमबार सहिद घोषणा गरेको छ।
सरकारले गठन गरेको जाँचबुझ आयोगलाई पाँच वटा कार्यादेश दिइएको छ।
भदौ २३ र २४ गते काठमाडौं लगायत देशका विभिन्न भागमा प्रदर्शनका क्रममा भएका भौतिक एवं मानवीय क्षतिको छानबिन गर्ने, घटना हुनुको कारण सम्बन्ध यकिन राय सुझाव दिने, भौतिक एवं मानवीय क्षतिसँग सम्बन्धित सूचना वा निवेदन ग्रहण गरी विश्लेषण गर्ने र कारबाहीको सम्बन्धमा आवश्यक राय दिने, भविष्यमा यस्ता घटना दोहोरिन नदिन अपनाउनुपर्ने उपाय तथा सुझावहरू पेश गर्ने र प्रतिवेदनमा उल्लेख भएका सुझावहरू कार्यान्वयनका लागि स्पष्ट कार्ययोजना प्रस्तुत गर्ने कार्यादेश उल्लेख छन्।