बंगालको खाडीमा विकास भएको मोन्था चक्रवात, अरब सागरमा विकास भएको न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभावले अहिले देशका अधिकांश भूभागमा बदली र वर्षा भइरहेको छ। काठमाडौं उपत्यकामा बिहीबार रातिबाट वर्षा केही मत्थर भए पनि बिहान ७ बजेबाट भने पानी पर्न थालेको छ। अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
हाल कोशी, मधेस , बागमती,  गण्डकी प्रदेशका धेरै स्थानहरूमा साथै लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।
काठमाडौंमा शुक्रबार बिहानैदेखि मध्यमदेखि भारी वर्षा हुने मौसमविद् विनोद पोखरेलले बताएका छन्। त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञानका सहप्राध्यापकसमेत रहेका पोखरेलले काठमाडौंमा शनिबार बिहानदेखि र कोशी/मधेसमा शनिबार बेलुकादेखि वर्षा रोकिने सम्भावना रहेको बताएका छन्।
यता जल तथा मौसम विज्ञान विभागले बंगाको खाडीमा विकसित चक्रवात ‘मोन्था’ तथा न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश भागमा वर्षा र बदली भएकामा आज साँझदेखि क्रमिक रूपमा मौसममा सुधार हुने बताएको छ।
हाल देशका अधिकांश प्रदेशहरूमा वर्षा र हिमपातको सम्भावना रहेको कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रहनेछ भने बाँकी प्रदेशहरूमा साधारणतया बदली रहने महाशाखाको पूर्वानुमान  छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा हुनेछ। साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ। कोशी, मधेस र वाग्मती प्रदेशका  केही  तथा लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको संभावना छ।
यसैगरी, कोशी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा मध्यम हिमपात हुन सक्नेछ । यस्तै, ती प्रदेशका केही स्थानमा भारी हिमपात हुने सम्भावना पनि छ।
भारी वर्षा र हिमपातको पूर्वानुमान गरिएका स्थानका सर्वसाधारण एवं किसानका साथै यात्रामा निस्किएका तथा सवारीचालकलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। 
पछिल्लो १२ घन्टामा मोरङको हरैँचामा १६८.२, सप्तरीको बरमझियामा ११६, उदयपुर गढीमा ९२.८, शनिश्चरेमा ८०.४, दमकमा ८४.२, गोरखाको ताकुकोटमा ६०.२, उदयपुरको मुर्कुची बजारमा ७९, चुरेमाईमा ७७.६, लाहानमा ७३.८, गाईघाटमा ७७.२ मिलिमिटर वर्षा भएको छ।