काठमाडौं उपत्यकासहित देशका मध्यदेखि पूर्वी भूभागसम्म बिहानैदेखि वर्षा भइरहेको छ। काठमाडौंमा बिहीबार बिहान छिटपुट वर्षा भए पनि अहिले मध्यम वर्षा भइरहेको छ।
पछिल्लो २४ घन्टामा उदयपुरगढी केन्द्रमा ४५.२, मुर्कुची बजारमा ४३.८, कमला रिभर केन्द्रमा ३९, गोलबजारमा ३७.४, तुर्केघाटमा ३६.८, धनकुटाको त्रिवेणीमा ३६.४, तुम्लिङटासमा ३२.४ मिलिमिटर वर्षा भएको छ। वर्षा गण्डकी, बागमती, कोशी, र मधेसका अधिकांश जिल्लामा भइरहेको छ।
मौसमसम्बन्धी जानकार उज्ज्वल उपाध्यायले काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा बिहानीबार बिहान ४ बजेदेखि वर्षा भइरहेको बताएका छन्। अहिले भइरहेको वर्षा बंगालको खाडीमा विकास भएको मोन्था चक्रवातको असर भन्दा पनि पश्चिमी वायुकै गतिविधिले भएको उनको भनाइ छ।
‘बाहिरिन बाँकी रहेको यस वर्षा प्रणालीमा मोन्थ’ आँधीको आंशिक प्रभाव मिसिनाले वर्षा अझै ठूलो भएको हो’ उनले भने।
मोन्था आँधीको प्रभाव आज बिहीबार अपराह्न मात्रै पूर्ण रूपमा सक्रिय हुने उनले बताए।
जसका कारण मेचीदेखी गण्डकीसम्म ठूलो वर्षा प्रक्षेपण गरिएको छ। उच्च हिमाली भेगमा भारी हिमपात हुने बताएका छन्।
‘आज र भोलि यात्रा नगर्नुहुन अनुरोध छ। आज अपराह्नदेखि हवाई सेवाहरू पनि प्रभावित हुन सक्नेछ,’ उनले भनेका छन्।
मौसमविद् विनोद पोखरेलले मोन्था चक्रवातको प्रभावले बुधबार बेलुकादेखि पूर्वी नेपाल र बिहानदेखि गण्डकीदेखि पूर्वका सबै भागमा हल्कादेखि मध्यम वर्षा भइरहेको बताए।
‘यो त ट्रेलर मात्र हो है, न्यूनचापीय प्रणाली अझै नेपालबाट धेरै टाढा छ। यो प्रणालीले आज रातिदेखि भोलिसम्म धेरै ठाउँमा भरी वर्षा गराउने सम्भावना राम्रै छ,’ उनले भनेका छन्।
विपदविद् धर्म उप्रेतीले पनि मोन्थाको प्रभाव सुरू भएको बताएका छन्।
काठमाडौंलगायत पूर्वी नेपालमा हल्कादेखि मध्यम वर्षा भइरहेको उनले बताएका छन्।
‘अब लगातार वर्षा हुन्छ। दिउँसो र राति थप सक्रिय हुनेछ। शुक्रबार बिहानैदेखि वर्षा अझ बढ्ने देखिन्छ। मनसुनकै झझल्को दिनेछ,’ उनले भने।
जल तथा मौसम विज्ञान विभागले बिहीबार कोशी, मधेस, बामगतीका सबै जिल्लामा सतर्कता अपनाउनुपर्ने बताएको छ। त्यस्तै गोरखा, नवलपुर, नवलपरासी, रूपन्देहीमा सतर्कता अपनाउनुपर्ने विभागको भनाइ छ।
विभागले कपिलवस्तु, लमजुङ, कास्की, म्याग्दी, गुल्मी, पाल्पा, अर्घाखाँची, बागलुङ, पर्वत, स्याङ्जा, तनहुँ, मनाङ, मुस्ताङ, डोल्पा, मुगु, हुम्ला जिल्लामा मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहन सुझाव दिएको छ।