जेनजी आन्दोलनका क्रममा प्रहरी वृत्त बानेश्वरबाट हतियार लुटेर भिडिओ बनाउने ४ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा महोत्तरीको बर्दिवास नगरपालिका-५ घर भई हाल काठमाडौं महानगरपालिका-३१ बस्ने २५ वर्षीय सुजन वाइबा, कञ्चनपुरको महेन्द्रनगर घर भई हाल ललितपुर बस्ने २० वर्षीय विकास आग्री, दोलखाको मैलुङ गाउँपालिका-६ घर भई हाल काठमाडौं महानगरपालिका-३२ महादेवस्थान बस्ने २४ वर्षीय युवराज भण्डारी र कञ्चनपुरको भिमदत्त नगरपालिका-६ घर भई काठमाडौं महानगरपालिका-३१ ठूलो खरिबोट बस्दै आएका २५ वर्षीय अनिल बुढा छन्।
पक्राउ परेका चार जनामध्ये वाइबा बानेश्वर बहुमुखी क्याम्पसका स्ववियू सदस्यसमेत रहेको प्रहरीले जनाएको छ।
उनी नेकपा (माओवादी केन्द्र)निकट अखिल क्रान्तिकारीबाट स्ववियु सदस्य निर्वाचित भएका थिए।
उनीहरूमाथि भदौं २४ गते भएको आन्दोलनमा हातमा पेट्रोल बोकी संसद भवन, प्रहरी वृत नयाँबानेश्वर तथा प्रहरी प्रभाग कोटेश्वरबाट हतियार लुटेर भिडिओ बनाउँदै अशान्ति फैलाएको आरोप छ।
प्रहरीका अनुसार उनीहरूले आगजनी गर्दै हिँडेको र हतियार समेत बरामद गरिएको छ।
बरामद गरिएको हतियार नेपाली सेनालाई बुझाइएको छ।
उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।