जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी कार्यालयहरूमा भदौ २४ गते आक्रमण गरी तोडफोड, आगजनी र हतियार लुटपाटमा संलग्न भएको आरोपमा प्रहरीले १८ जनालाई पक्राउ गरेको छ।
पक्राउ परेकामध्ये १० जनालाई मंगलबार जिल्ला अदालत कास्कीबाट ६ दिन म्याद थपेर अनुसन्धान अघि बढाएको छ भने ८ जनालाई अदालतले धरौटीमा रिहा गरेको छ। यसरी पक्राउ परेका व्यक्तिहरू विगतमा पनि विभिन्न अपराधमा संलग्न रहेको, कारागार र प्रहरी हिरासतबाट भागेका र मदिरा तथा लागुपदार्थ सेवन गरेका व्यक्तिहरू भएको कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले बताए।
उनका अनुसार प्रहरी कार्यालय तोडफोड, आगजनी र हतियार लुटपाट मच्चाएको आरोपमा पक्राउ परेका धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका– ४ का राजेश मक्रान्तीमाथि यसअघि २०७९ मा अभद्र व्यवहार मुद्दा चलेको भेटिएको छ।
यस्तै, पोखरा– ११ फुलबारी बस्ने नारायण साई पनि प्रहरी कार्यालयमा आक्रमण गरेको आरोपमा पक्राउ परेका छन्। उनी पनि २०६१ सालमा सवारी साधन तोडफोड गरी क्षेती पुर्याएको आरोपमा सार्वजनिक अपराध मुद्दा चलेको भेटिएको प्रहरीले जनाएको छ।
प्रहरी कार्यालय आगजनी गरी हतियार जलाएको आरोपमा पोखरा– १ मोहोरिया टोल बस्ने ४३ बर्षीय दिपु साई, अन्नपूर्ण गाउँपालिका– ५ नयाँपुलका लङबहादुर नेपाली, सोही स्थानका अरविन विक, ग्रीस क्षेत्री, थमबहादुर सार्की, पूर्णबहादुर नेपाली रहेका छन्।
लङबहादुर अभद्र व्यवहार मुद्दामा प्रहरी हिरासतमा थिए। उनी भदौ २४ गते हिरासत फोडेर फरार भई प्रहरी चौकी नयाँपुल पुगेर तोडफोड, आगजनी र हतियार लुटेर भागेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ।
प्रहरी कार्यालय आक्रमण गर्ने, प्रहरी पोशाक दुरूपयोग गर्ने लगायत कार्य गरेको भन्दै अपराधिक उपद्रव मुद्दामा ८ जनालाई अदालतले धरौटीमा रिहा गरेको छ। रिहा हुनेहरूमा अमृत घले, चन्द्रबहादुर गुरूङ, दिपेश शाही, सुरेश गुरूङ, सागर परियार, सागर अधिकारी, राजेश शाही र दिपेश शाह रहेको कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले जानकारी दिए।
जेनजी आन्दोलनमा घुसपैठ गरेर लुटपाट, तोडफोड र आगजनी गर्ने व्यक्ति र गिरोहलाई भिडिओ लगायत प्रमाणका आधारमा खोजबिन र अनुसन्धान तीब्र पारेको एसपी कार्कीले बताए।
प्रहरीबाट लुटिएका हतियार, फरार रहेका कैदीबन्दी र हिरासतबाट फरार रहेका बन्दी खोजीलाई पहिलो प्राथमिकतामा राखेको पनि उनले बताए।
‘हामीले पहिलो प्राथमिकतामा लुटिएका हतियार फिर्ता, कैदीबन्दीको खोजतलासलाई राखेका छौं,’ उनले भने, ‘त्यसपछि अरू सरकारी र निजी प्रतिष्ठानमाथि तोडफोड, आक्रमण र लुटपाट गर्नेहरूलाई पक्राउ गर्छौ।’
भदौ २४ गते भएको प्रदर्शनमा जिल्ला प्रहरी कार्यालयसहित मातहतका २७ वटा प्रहरी कार्यालयमा प्रदर्शनकारीले तोडफोड, आगजनी र लुटपाट गरेका थिए। एसपी कार्कीका अनुसार अझै पनि करिब दुई दर्जन हतियार हराएका छन्।
मोटरसाइकलको साइलेन्सर मोडिफाई गरी पड्काउने र समाजमा आतंका सिर्जना गरेको भन्दै प्रहरीले ‘अप्रेसन ३६५’ चलाएको छ। उक्त अपरेसनमा अहिलेसम्म १३३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा लिएर सामान्य अवस्थामा फर्काएको, २८ जनाविरूद्ध अभद्र व्यवहार मुद्दा चलाएको र १६ जनालाई सम्झाइ-बुझाइ गरी प्रहरीले जिम्मा लगाएको पनि एसपी कार्कीले बताए।