बुटवलको कालिका पथमा पाँच महिनामा गर्ने भनिएको विद्युतको मोनो पोलमा तार बिस्तारको काम डेढ वर्षपछि सुरू भएको छ।
यसअघि सडकमा राखिएका हाइटेन्सन पोलका कारण सडक साँघुरो हुँदा दुर्घटनाको जोखिम बढाएको भन्दै २०८० साल पुस २९ गतेदेखि मोनो पोल जडान सुरू गरिएको थियो।
त्यसबेला हाइटेन्सन पोल हटाएर २०८१ साल जेठभित्रै मोनो पोलमा तार जडान गर्ने भनिएको थियो। तर डेढ वर्षपछि तार जडान काम सुरू भएको हो।
नेपाल विद्युत् प्राधिकरण बुटवल ग्रिड महाशाखा योगिकुटीका प्रमुख अनिल बन्जाडेले आइतबारदेखि हाइटेन्सन पोलमा रहेको विद्युत् प्रसारण लाइनलाई मोनो पोलमा जडान गर्न सुरू गरिएको बताए।
उनका अनुसार मोनो पोल जडानको लागि फाउन्डेसन बनाउने र मोनो पोल ल्याउने काम यसअघि नै सम्पन्न भइसकेको थियो। तर गर्मीको समयमा विद्युत् प्रसारण लाइन सार्न समस्या भएकोले गर्मी सकिएपछि मात्रै तार सार्ने काम थालिएको बन्जाडेको भनाइ छ।
हाइटेन्सन पोलमा रहेको प्रसारण लाइनलाई मोनो पोलमा सार्दा एक साता बढी समय लाग्ने उनले बताए। उक्त समय विद्युत् कटौती गर्नुपर्ने भएकाले विद्युतको विकल्प तयार गरी प्रसारण लाइन स्थानान्तरण गरिएको उनको भनाइ छ।
'गर्मीको समयमा लाइन काट्दा उपभोक्तालाई समस्या हुने भएपछि प्रसारण लाइन स्थानान्तरण गर्न ढिलाइ भएको थियो,' उनले भने,'अहिले विद्युत् प्रसारण अवरूद्ध नगरी तार जडान गर्न सम्भव भएको हो।'
कालिकापथ सडक अन्तर्गत बुटवल ११ होराइजन चोकदेखि बुटवल र तिलोत्तमाको सीमा क्षेत्र योगिकुटीसम्म सडकबीचमा चार वटा हाइटेन्सन पोल थिए।
तिनै पोलमार्फत बुटवलदेखि पश्चिमतर्फ १३२ केभी डबल सर्किट प्रसारण लाइन लगिएको छ। यो प्रसारण लाइन अवरूद्ध हुँदा बुटवलदेखि पश्चिम नेपालको अधिकांश क्षेत्र अन्धकार बन्ने गर्छ।
अहिले कपिलवस्तुको वाणगंगादेखि पश्चिमका लागि चमेलिया जलविद्युत आयोजनाबाट र बुटवलदेखि वाणगंगासम्मको लागि बुटवल ग्रिडबाटै विद्युत आपूर्ति गरी हाइटेन्सन पोलबाट मोनो पोलमा प्रसारण लाइन स्थानान्तरण सुरू गरिएको छ।
बन्जाडेका अनुसार पहिलो दिन आइतबार दुइटा र सोमबार दुइटा गरी चार वटै मोनो पोल जडान गरी तार स्थानान्तरणको काम भइरहेको छ।
'हाम्रो निगरानीमा निर्माण कम्पनीले मोनो पोल जडान गर्ने, तार स्थानान्तरण गर्ने काम धमाधम गरिरहेको छ,' उनले भने, 'कार्तिक १४ गतेसम्म प्रसारण लाइन स्थानान्तरण गरेर मोनो पोलबाटै विद्युत् प्रसारण गर्ने हाम्रो योजना छ।'
चार वटा मोनो पोल जडान गरी प्रसारण लाइन स्थानान्तरण गर्न काठमाडौंको युनाइटेड ब्रदर्सले नेपाल विद्युत् प्राधिकरणसँग तीन करोड ६५ लाख रूपैयाँमा ठेक्का सम्झौता गरी काम सुरू गरेको थियो।
मोनो पोल जडान गरिएको कालिका पथ सडक बुटवल उपमहानगर-११ भित्र पर्छ।
मोनो पोल जडान भएपछि सवारी र विद्युतीय दुर्घटनाको समेत जोखिम घट्ने वडा नम्बर ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले बताउँछन्।
‘अहिले सडकको बीच भागमा रहेका हाइटेन्सन पोलका कारण सवारी दुर्घटनाको जोखिम थियो,' उनले भने, 'प्रसारण लाइन र सडकको दूरी पनि कम थियो। त्यसले विद्युतीय दुर्घटनाको जोखिम बढी थियो अब त्यो जोखिम घट्ने छ।'
यसअघि हाइटेन्सन पोलबाट लगिएको प्रसारण लाइन र जमिनको दूरी जम्मा साढे ५ मिटरको थियो भने मोनो पोलमा स्थानान्तरण गरेपछि जमिनसँगको दुरी ९ मिटर हुने छ।
बुटवलको आधुनिक बजारका रूपमा विकास भइरहेको कालिका पथका सडक चार लेनमा निर्माण भएसँगै सवारी साधनको चाप र व्यापार व्यवसाय पनि बढेको छ।
बाक्लो बस्ती र सडक बीचबाट ठूला हाइटेन्सन पोलबाट विद्युत् प्रसारण लाइन सडकमा हुँदा दुर्घटनाको जोखिम बढेको थियो।